+
+

शेखरले नाम नदिँदा कोशी सरकार विस्तारमा ढिलाइ

हरि अधिकारी हरि अधिकारी
२०८१ साउन १८ गते २०:०५

१८ साउन, विराटनगर । नेकपा एमालेसँग जुटेको सहमति बमोजिम नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम दिएको भए सोमबार नै कोशी सरकारले पूर्णता पाउने थियो ।

शनिबार कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डाको सहमति जुटेको थियो । जसअनुसार मुख्यमन्त्री सहित ५ मन्त्रालय एमाले र ४ मन्त्रालय कांग्रेसले पाउने थियो ।

एमालेसँग सहमति जुटेपछि कांग्रेसभित्र पनि एकप्रकारले भागबण्डा टुंगिएको थियो । नेताहरुका अनुसार सभापति शेरबहादुर देउवा समूहबाट २, डा.शेखर कोइराला समूहबाट १ र कृष्णप्रसाद सिटौला समूहबाट एक जना मन्त्री बन्नेगरी सरकारमा पठाउने तयारी थियो ।

तर आफ्नो गृह प्रदेश भएकाले एउटा मात्रै मन्त्री लिन शेखर कोइराला तयार भएनन् । उनले दुई मन्त्रालयको अडान लिएका छन् ।

‘एउटा मात्रै हो भने नाम दिन्न भन्नु भएको छ, उहाँ आएपछि मात्रै थप छलफल हुन्छ,’ कांग्रेसका एक नेताले भने, ‘माथि भागवण्डामा कुरा मिल्न प¥र्याे अनि मात्रै यहाँ प्रक्रिया अघि बढ्छ ।’ शेखरको अडानपछि कांग्रेसले मन्त्रीहरुको नाम पठाउन सकेको छैन ।

तर डा.शेखर भने मन्त्रालय टुंग्याउने पहल नलिएर भारत हिडेका छन् । ‘जाने विषयमा केही भन्नु भएको छैन । धार्मिक कार्यक्रम र केही राजनीतिक भेटघाट छन् भन्ने सुनेका हो,’ उनी निकट स्रोतले भन्यो, ‘अब १–२ दिनमा फर्कने होला ।’

मुख्यमन्त्री हिक्मत कार्की भने कांग्रेसबाट आउने मन्त्रीहरुको नाम पर्खेरै बसेका छन् । ‘उहाँहरुको कोर्टमा बल छ, कहिले दिनुहुन्छ त्यहीँले (त्यसैदिन) टुङ्ग्यान्छ’, सोमबार काठमाडौँबाट विराटनगर फर्केका मुख्यमन्त्री कार्कीले भनेका थिए ।

कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ सरकारमा जाने मन्त्रीको टुङ्गो लागेपछि मात्र प्रक्रिया अगाडि बढाउने बताउँछन् । आकांक्षी धेरै भएकाले मन्त्रीको टुङ्गो लगाउन केन्द्रलाई पठाइएको उनी बताउँछन् ।

सोमबार बसेको कांग्रेस प्रदेश समिति बैठकले मन्त्री छान्न मापदण्ड चाहिँ बनाएर केन्द्रमा पठाएको छ । केन्द्रको निर्णयपछि सरकारमा सहभागी हुने प्रदेश महामन्त्री भूपेन्द्र राईले बताए । कांग्रेस प्रदेश समितिले जातीय, लैङ्गिक, भौगोलिक र कार्यक्षमतालाई आधार बनाएर मन्त्री छान्नुपर्ने मापदण्ड बनाएको छ ।

एमालेसँग भागबण्डामा भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय लिने कांग्रेसले सहमति गरेको छ । यी मन्त्रालय यसअघि माओवादी केन्द्रको नेतृत्वमा थियो । त्यस बाहेक उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय मध्ये थप एउटा लिन मुख्यमन्त्रीको प्रस्ताव छ ।

कोशी सरकारमा संस्थापन समूहबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम, सिटौला समूहबाट भीम पराजुली र भूपेन्द्र राई, शेखर समूहबाट गोबिन्द गिरी, मानबहादुर लिम्बु, समशेर राई मन्त्रीको दाबेदार हुन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?