+
+

ड्रोनको सहायतामा २४ घण्टामै समातियो बाघ

स्वदेशी जनशक्ति र उपकरण प्रयोग गरी बाघलाई यति छोटो समयमा नियन्त्रणमा लिइनुलाई सफल उदाहरण मानिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ साउन १८ गते २०:१९

१८ साउन, काठमाडौं । बाघ नियन्त्रणमा प्रविधि प्रयोग प्रभावकारी बनेको छ । दोधारा चाँदनी नगरपालिका–२ कमलाशा टोलमा एक महिलामाथि आक्रमण गरेको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले २४ घण्टाभित्रै नियन्त्रणमा लिन सफल भएको हो ।

स्वदेशी जनशक्ति र उपकरण प्रयोग गरी बाघलाई यति छोटो समयमा नियन्त्रणमा लिइनुलाई सफल उदाहरण मानिएको छ । निकुञ्ज र सुरक्षाकर्मीको ‘सर्च’ अभियान नै जारी रहेको समयमा बाघले बिहीबार बिहान कञ्चनपुर दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो ।

उनको घटनास्थलमै मृत्यु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरका अनुसार बाघलाई शुक्रबार साँझ बर्दियाको रम्भापुर सेक्टरमा लगिएको छ । जहाँ मान्छेलाई आक्रमण गरेका बाघलाई नियन्त्रणमा राख्ने गरिन्छ ।

संरक्षण अधिकृत ऐरका अनुसार कञ्चनपुरमा बाघको यो आक्रमण निकुञ्ज, बाघ नियन्त्रणको विशेषज्ञ टोली र सुरक्षाकर्मीका लागि समेत नयाँ चुनौती थियो । किनकि, यहाँ यसअघि बाघको गतिविधि रेकर्डमा थिएन ।

सोहीकारण बाघको आवागमन पत्ता लगाएर उसमाथि डार्ट हान्नु र नियन्त्रणमा लिनु वास्तवमै चुनौतीपूर्ण थियो । तर, प्रविधि सहायताले बाघको गतिविधि हेरी हात्तीको सहायतामा उसलाई नियन्त्रणमा लिइएको छ । संरक्षण अधिकृत ऐर भन्छन्, ‘यो अपरेसनका धेरै सकारात्मक पक्ष छन्, सबैको समन्वयमा बाघलाई छिटो नियन्त्रण गरी थप क्षति हुनबाट जोगाउन सफल भयौं ।’

कसरी लिइयो नियन्त्रणमा ?

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ कमलाशा टोलमा बाघ देखिएको खबर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ गते (बुधबार) साँझ ५ बजे नै आएको थियो । निकुञ्जमा बाघलाई लठ्याउने औषधि छैन । यो ललितपुरस्थित चिडियाखाना, चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा उपलब्ध छ ।

कञ्चनपुरमा बर्दियाबाट मगाउनुपर्छ । संरक्षण अधिकृत ऐरका अनुसार स्थानीयले खबर गर्नासाथ राष्ट्रिय निकुञ्ज र सुरक्षाकर्मीको टोली बुधबार नै त्यो भेग पुगेको थियो । सोही दिन औषधि बर्दियाबाट मगाइएको थियो ।

साँझ नै शुक्लाफाँटा निकुञ्ज टोलीले ड्रोन उडाएर बाघ हेर्ने काम गर्‍यो । तर, बाघ देखिएन । ‘यो नियमित बाघ लाग्ने क्षेत्र होइन, भारतबाट पनि कमै आउने गरेको रेकर्ड छ,’ उनले अनलाइनखबरसँग भने, ‘कतै पनि बाघ नदेखिएपछि हामीले स्थानीयलाई सतर्क रहन भन्यौैं र सोही दिन सोही स्थानमा बस्यौं ।’

बिहीबार बिहान ४ बजे बाघ देखिएको खबर आयो । उद्धार टोली ९ बजे बाघ देखिएको स्थानमा पुगिसकेको थियो । टोलीले स्थानीयसँग बाघ देखिएको बारे सूचना संकलन गर्दागर्दै धान खेतको अर्को किनारमा हल्लाखल्ला भयो । बाघले मान्छेमाथि आक्रमण गरेको निश्चित भयो । त्यसपछि उखुबारी फाड्न सुरु गरियो ।

पुनः ड्रोन उडाएर बाघ हेर्न थालियो । त्यसपछि ड्रोनमा बाघको गतिविधि स्पष्टसँग देख्न थालियो । बर्दियाबाट डार्टगन सहित टोली कञ्चनपुर पुग्यो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बिहीबार नै ४ वटा हात्ती पनि त्यहीँ पुर्‍याइयो । त्यसपछि एक निश्चित क्षेत्रभरि सेतो कपडा बेरेरे बाघलाई घेर्ने काम भयो ।

ड्रोनबाट हेर्दा उखुबारीमा बाघ धेरै नै हिँडडुल गरेको देखियो । यसबाट त्यो बाघ उखुबारीमा हिँड्न पोख्त भएको देखियो । जसले गर्दा उसलाई बारीभित्र डार्ट हान्न सम्भव देखिएन । बिहीबार बाघलाई नियन्त्रणमा लिने प्रयास सम्भव भएन ।

सोही दिन रातको समयमा नगरपालिकाले झन्डै एक दर्जन ट्याक्टर उपलब्ध गरायो । ट्याक्टरका हेडलाइट बालेर बाघलाई त्यो स्थानबाट उम्किन नसक्ने वातावरण बनाइयो । बाघ भोकाएपछि थप उग्र हुने र त्यहाँबाट समेत भाग्ने सम्भावना पछि एउटा भैंसीको पाडोलाई उसको आहाराका रूपमा राख्ने निर्णय भयो ।

राती एउटा पाडो बाँधेर त्यहाँ राखियो । नजिकै रहेको टोलीले राति नै बाघले पाडो लगेको खबर गर्‍यो । ‘यति भएपछि कमसेकम यो स्थानबाट बाघ भाग्दैन भन्ने निश्चित भयो,’ अधिकृत ऐरले भने ।

शुक्रबार बिहान शुक्लाफाँटा निकुञ्जबाट थप एक हात्ती मगाइयो । जेसीबीहरू समेत मगाइयो । त्यसपछि बाघलाई डार्ट हानेर लठ्याउने प्रयास सुरु भयो । शुक्लाफाँटाका हात्तीहरू बाघ नियन्त्रणमा खटेको अनुभव छैन । सोहीकारण बाघ उग्र स्वरमा कराउँदा हात्ती आत्तिएका थिए । तर, माहुतेहरूले कुशलतापूर्वक काम गरेका कारण हात्तीलाई नियन्त्रणमै राख्न सफल भएको उनले बताए ।

वरिपरिबाट जेसीबी र हात्तीले घेरेपछि हात्तीलाई तर्साउन बाघ ठूलो स्वरमा कराउने र उफ्रने गर्न थाल्यो । डार्ट हान्ने पहिलो प्रयास खेर गयो । दोस्रो प्रयासमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राविधिक गणेश रानाले हानेको डार्ट बाघलाई लाग्यो । त्यसको केही समयमा बाघ बेहोस भयो । त्यसपछि उसलाई नियन्त्रणमा लिइएको हो ।

मानवीय क्षतिबीच स्थानीय बासिन्दाको संयमित समर्थन, स्रोत साधनमा स्थानीय सरकारको सहयोग, केन्द्रबाट उचित निर्णय र प्राविधिक र सुरक्षाकर्मीको साहसिक समर्थनसँगै ड्रोनको सहायताले बाघलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए । यो बाघ १२ देखि १४ वर्ष उमेरको भएको अनुमान गरिएको छ ।

बाघको खुट्टामा घाउ रहेको र त्यसमा किरा समेत भएको पाइएको छ । बाघको एउटा दाँत हल्लिएको पाइएको छ । यसबाट बाघ बुढ्यौलीमा रहेको र सहज भोजनको खोजीमा बस्ती पसेको अनुमान गरिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?