+
+

सुपारीखेती भरपर्दो आम्दानीको स्रोत

रासस रासस
२०८१ साउन १९ गते ९:३०

१९ साउन, भद्रपुर (झापा) । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै  गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् ।

झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गरेका छन् । ‘व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ’, उनले भने ।

सुपारीले अन्य बालीलाई असर नगर्ने भएकाले यसतर्फ आकर्षण बढेको बुद्धशान्तिका चन्द्रशेखर पौडेल बताउँछन् । ‘मैले एक बिघा १२ कट्ठा जमिनमा सुपारीखेती गरेको छु, सुपारीको बारी भित्रै सिजनअनुसार तरकारी, रोपाइँ र मकै  खेती गर्ने गरेको छु । सुपारीबाट मात्रै वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ’, उनले भने ।

अरु खेती लगाउँदा हात्तीले नोक्सान गर्ने भएकाले नगदेबाली सुपारी खेतीमा लागेको अर्का किसान निर्मल भट्टराई बताउँछन् । उनका अनुसार सुपारीका दानासँगै यसको पत्ताबाट दुनाटपरी बनाउन सकिन्छ ।

सुपारीको बोटमा फल लागेदेखि नै व्यापारीले अग्रिम भुक्तानी गर्ने गरेको अर्का किसान बिन्दु पौडेल बताउँछिन् । ‘बिरुवा लगाएको सात वर्षदेखि यसले फल उत्पादन सुरु गर्छ । त्यसपछि निरन्तर यसबाट वार्षिक रुपमा आम्दानी भइरहन्छ,’ उनले भनिन् ।

राज्यले उन्नत जातका सुपारीका बिरुवामा लगानी गर्दै किसानको उत्पादनलाई बजारीकरणमा समन्वय गरिदिने हो भने सुपारीखेती गर्ने किसानको आम्दानी बढ्दै जाने स्थानीय प्रेम राई बताउँछन् । ‘पहिले घरआँगन सजाउनका लागि सुपारीका बिरुवा रोप्ने गरिन्थ्यो । पछिल्लो समय सुपारीखेती व्यावसायिक रुपमा गर्दै वार्षिक लाखौँ रुपैयाँ आम्दानी भइरहेको छ’, उनले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?