+
+
फ्रि–स्टाइल :

रिले दौडको अन्त्य

रिले दौडको विशेषता के हो भने, यसमा धावक जतिसुकै छिटो दौडिए पनि दौडको अन्तिम विन्दु त्यहीं हुन्छ, जहाँबाट दौड सुरु भएको हुन्छ । के यहाँ पनि समस्या र समाधान एउटै रिले दौडमा कुदिरहेका छन्, जसको अन्त्य सुरुवातमै हुन्छ ?

यज्ञश यज्ञश
२०८१ साउन १९ गते १४:२३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिनेहरूको भीड ।

एक दिन गफैगफमा मेरा एक मित्रलाई सोधें-‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र असन बजारमा मानिसको उस्तै भीड किन लाग्छ ? यो देशका सबै युवा विदेशै गइरहेका हुन् भने असनमा भीड कसले लगाइरहेको छ ?’

उनले बडो सजिलो उत्तर दिए- ‘बेलुका एयरपोर्ट जाने मान्छे नै दिउँसो असनमा किनमेल गर्न पुगेका होलान् !’

के समस्याको झाडीमा नै समाधानको चराले गुँड लगाउँछ ? समाधान स्वयं समस्यामा लुकेर बसेको हुन्छ ? सायद, हुन्छ । रोग जहाँ लागेको छ, उपचार पनि त्यहीं गर्नुपर्ने हुन्छ ।

*****

साउनको महिना छ । धर्म र धार्मिक प्रवचनहरूको माहोल छ । यसैले धार्मिक कथाकै एउटा उदाहरणबाट सुरु गरौं ।

कौरव सेनाका प्रधानसेनापति भीष्म पितामहलाई इच्छामृत्युको वरदान प्राप्त थियो । एउटा श्रापबाट मोक्षका लागि धर्तीमा गंगा–पुत्रका रूपमा अष्टवसुले जन्म लिएका थिए । तीमध्ये सात वसुलाई उनीहरूकी आमाले जन्मनासाथ नदीमा बगाएर मुक्ति दिएकी थिइन् । अन्तिम वसुचाहिं देवव्रतका रूपमा हस्तिनापुरका युवराज बनेका थिए । उनलाई किन गंगामा बगाइएन, उनी किन कहिल्यै राजा भएनन् र कसरी देवव्रत भीष्म हुनपुगे भन्ने कथा बेग्लै छ ।

कुरुक्षेत्रको युद्धमा भीष्म पाण्डवका लागि सबभन्दा ठूलो समस्याका रूपमा प्रकट भए । जसलाई इच्छामृत्यु प्राप्त छ, अर्थात् कसैले मार्न नसक्ने केवल आफ्नो इच्छाले मात्रै मर्न सक्ने, त्यस्तो अजेय योद्धा कौरव सेनाको प्रधानसेनापति भएर मैदानमा उत्रिए । दश दिनसम्म युद्धमा उनले पाण्डव पक्षका हजारौं सैनिकलाई मृत्युको घाट उतारिदिए । पाण्डवले युद्ध जित्नका लागि भीष्मलाई मैदानबाट हटाउनु अति जरूरी भइसकेको थियो । यस्तोमा, पाण्डवले भीष्मलाई हटाउने उपायबारे जब श्रीकृष्णलाई सोध्छन्, तब उनले भन्छन्– यो समस्याको समाधान त केवल भीष्मसँग मात्रै छ ।

श्रीकृष्णको सल्लाह अनुसार पाण्डवहरू ‘तपाईंलाई मार्ने वा युद्धबाट हटाउने उपाय के छ ?’ भनेर भीष्मलाई सोध्न जान्छन् । भीष्मले आफूले कुनै पनि स्त्रीमाथि हतियार नचलाउने प्रतीज्ञा लिएको सुनाउँछन् । भोलिपल्ट अर्जुनको रथमा उनीसँगै शिखण्डी देखा पर्छन् । शिखण्डीलाई देखेपछि भीष्मले धनुष राखिदिन्छन्, अनि उनीमाथि अर्जुनले वाण वर्षा गर्छन् । शिखण्डी कसरी स्त्री भए, अम्बा, अम्बिका र अम्बालिकासँग उनको के सम्बन्ध छ भन्ने सन्दर्भ पछि कतै । त, कुरा थियो– के समस्या आफैंमा त्यसको समाधान लुकेको हुन्छ भन्ने !

केही दिनअघि मात्र एयरपोर्टको एउटा भिडियो मेरो फेसबुक रिलमा घुम्दै–घुम्दै आइपुग्यो । यो रिलमा एउटी बालिका विदेश जान लागेका आफ्ना बाबुलाई रोक्ने प्रयास गरिरहेकी छन् । उनको आँखाबाट आँसु रोकिएको छैन । उनको रुवाइको आवाजले वरपर उभिएका मानिसहरू पनि द्रवित भइरहेका छन् । भिडियो हाल्नेले क्याप्सनमा लेखेका रहेछन्– ‘भ्रष्ट नेताहरूले जनताको यो हाल बनाए !’

****

२०६५ सालमा माओवादी र सरकारबीच शान्ति सम्झौता भएपछि देशको राजनीति नयाँ चरणमा प्रवेश गर्‍यो । २०७२ मा नयाँ संविधान नबनुञ्जेल अनिश्चितता र आशाको दोसाँधमा चलिरहेको राजनीतिले संविधान बनेपछि एउटा बाटो समाएको ठानियो । समावेशी र समानुपातिक प्रतिनिधित्व सहितको उन्नत लोकतन्त्रले अब देशलाई विकासको बाटोमा डोर्‍याउनेछ, देशमा रोजगारी सृजना हुनेछ, जनताको जीवनस्तर उकासिने छ भन्ने आशाका समाचारले अखबारका पानाहरू भरिए । चोक–चोकमा कपमाथि कप चिया सकिए ।

त्यसको ८ वर्षपछि आएर आज देशका प्रमुख दुई ठूला दल कांग्रेस र एमालेले फेरि त्यही समाधानमा नै समस्या देखेका छन् । कांग्रेस र एमालेबीच यो सरकार बनाउनका लागि भएको सातबुँदे समझदारीको अन्तर्यमा समावेशी सिद्धान्त सहितको निर्वाचन प्रणालीलाई पुनर्विचार गरिने र त्यसका लािग संसद्को दुई तिहाइ जुटाएर संविधान संशोधन गर्ने कुरा छ ।

अवस्था कतिसम्म आयो भने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर यो देशमा बहुदलीय व्यवस्था समाप्त पार्न खोजे ।’ के यसको मतलब, समाधानमा पनि समस्या लुकेको हुन्छ ? कि ‘क्युरियस केस अफ बेन्जामिन बटन’ को बेन्जामिन जस्तै कुनै विचार परिपक्व भएर जन्मिएर विस्तारै शिशु हुँदै जान पनि सक्छ ?

जेलाई समाधान ठानियो, खोलभित्र कछुवा जसरी समस्याको बीउ पनि त्यसैमा लुकेको हुन्छ ? के नेपालको राजनीति ‘बेन्जामिन बटन सिमटम’बाट ग्रस्त छ ?

****

यो लेखमा म राजनीतिक समस्याको धेरै गहिराइमा जान चाहन्नँ । किनभने, प्रमुख दलहरूले खास गर्न खोजेको के हो भन्ने कुरा अझै प्रष्ट नभइसकेकाले यसमाथि थप टिप्पणी नगरौं । तैपनि, चिन्ता त लाग्दो रहेछ । दैनिक १८ घन्टा लोडसेडिङ, दैनिक ५–७ जनाको मृत्युको समाचार, कतै एम्बुस त कतै चेकिङको घन्टौं लामो लाइन पार गरेर आइपुगेका नागरिकलाई ‘भूकम्पमा हल्लिएको मानिस, कुर्सी हल्लिंदा तर्सिन्छ’ भने जस्तो हुँदोरहेछ । न कुनै प्रकारको द्वन्द्व, न कुनै प्रकारको निरंकुश र अधिनायकवाद, हामी फेरि हिजोको दिनमा फर्किन सक्दैनौं ।

बहुमत ल्याउन आवश्यक सिट पनि घट्ला ! आवश्यक सिट ठूला दलहरूलाई ‘साना दलको च्याँखे थाप्दा हाम्रो बहुमत आएन’ भन्ने चिन्ता पनि समाप्त होला !

पटक–पटक प्रयोग भएको अंग्रेजीको ज्ञानबारे एउटा भनाइ छ, त्यसलाई म फेरि दोहोर्‍याउन चाहन्छु –

‘सर्प विषालु हुन्छ भनेर थाहा पाउनु सूचना हो । सर्प विषालु हुन्छ, त्यसले टोक्यो भने विषले मानिसको मृत्यु हुन्छ भन्ने थाहा पाउनु ज्ञान हो । सर्पको विषले मान्छेको मृत्यु हुन्छ भन्ने थाहा पाएपछि त्यो विषलाई मार्ने एन्टिडोड बनाएर मानिसलाई बचाउनु बुद्धि हो । र, सर्प विषालु हुन्छ, त्यसले टोकेमा मानिसको मृत्यु हुनसक्छ तर त्यसको औषधि पनि बनिसकेको छ भन्ने थाहा पाएर पनि सर्पसँग नजिस्किनुचाहिं विवेक हो ।’

हरेक पटक हामी पहिले सर्पलाई पेटारोबाट खोलिदिने अनि त्यसले टोकेपछि औषधि बनाउन थाल्ने नेतृत्वबाट ग्रसित भइरहेका त छैनौं ?

साथै, अर्को प्रश्न पनि छ-सधैं उही नेतृत्व र उही मानसिकता लिएर हामी दोष प्रतिनिधित्व प्रणालीलाई मात्रै दिइरहेका त छैनौं ! किनभने, हाम्रा दलहरूमा कस्तो प्रवृत्ति देखिएको छ भने आफूले जित्नका लागि अर्को दलसँग चुनाव मिलेर लड्ने (एमाले र माओवादी २०७४ मा अनि कांग्रेस र माओवादी २०७९ मा), आवश्यक बहुमत पनि ल्याउने तर त्यसपछि शक्ति बाँडफाँडमा आएर मिल्न नसक्ने । अनि त न रह्यो बहुमत न रह्यो सरकार !

यसबाट देखिन्छ, हाम्रा पार्टी र नेताहरूको समस्या बहुमत नपाउनु होइन, त्यसलाई सम्हाल्न नसक्नुचाहिं रहेछ । २०४८ र २०५६ को आम निर्वाचनमा त कांग्रेस पार्टी एक्लैले बहुमत पाएर पनि पार्टीभित्रै विभाजन भएर पूरा समय सरकार चलाउन सकेको थिएन ।

हरेक दोकानदारलाई लाग्दो होला– मेरो एरियामा अरूले पनि दोकान खोलिदिनाले ग्राहक बाँडिन पुगे र मेरो नाफा कम भयो । तर, उपभोक्ताका लागि त दोकान धेरै हुँदा रोज्ने सुविधा हुन्छ । एउटा मात्र दोकान भयो भने सामानको मूल्य कति राख्ने भन्ने दोकानदारको तजबिजमा भर पर्न जान्छ । उपभोक्ताको छनोटको अधिकार खोसिन पुग्छ ।

ठूला दलहरूले इच्छाएको संविधान संशोधन र निर्वाचन प्रणालीले देशको समस्या समाधान गरोस्, एयरपोर्टमा आँशु खसालिरहेका छोरा-छोरीको भिडियोमा नेताले गाली खाएको देख्न नपरोस् ! समाधानले समस्या होइन कि, समस्याले समाधान पाओस् !

****

रिले दौडको विशेषता के हो भने, यसमा धावक जतिसुकै छिटो दौडिए पनि दौडको अन्तिम विन्दु त्यहीं हुन्छ, जहाँबाट दौड सुरु भएको हुन्छ ।

बहुदलीय व्यवस्था आएपछि सर्वसाधारण नागरिकका लागि पासपोर्ट खुला भयो । सरकारले नागरिकलाई वैदेशिक रोजगारीमा जान प्रोत्साहित गर्‍यो । यसले, विपन्न जनताको जीवनस्तर उकास्न निकै ठूलो मद्दत गरेको तथ्यांकहरूले देखाउँछ । पछिल्लो जनगणना अनुसार नेपालका लगभग ६० प्रतिशत परिवारमा रेमिट्यान्स आउँछ ।

यसले गर्दा नेपालको दलित वर्गमा ठूलो आत्मविश्वास पैदा भएको छ । कच्ची घरमा बस्ने परिवारहरू पक्की घरमा सरेको, गरिब मानिएका मानिसहरूले आफ्नो बच्चालाई राम्रो स्कुलमा पढाउन सकेको र परिवारको राम्रो उपचार गराउन सकेको पनि तथ्यांकले बताउँछ । आफ्नो प्रशस्त जग्गाजमिन र रोजगारीको अवसर नभएको निम्न र निम्न मध्यम वर्गका लागि ‘समाधान’ बनेर आएको वैदेशिक रोजगारी अहिले एयरपोर्टमा देखिने भीडको ‘समस्या’मा कसरी बदलियो ?
कोरोना महामारीले आक्रान्त बनाएपछि जब शहरवासीको ध्यान गाउँतिर पुग्यो-अनि थाहा भयो, गाउँघर त खाली भएछन्, खेतबारी बाँझो ! के यहाँ पनि समस्या र समाधान एउटै रिले दौडमा कुदिरहेका छन्, जसको अन्त्य सुरुवातमै हुन्छ ?

युवा पुस्ता देशमा अडिने छाँटकाँट देखिंदैन । विदेश पढ्न जानेले नै वर्षेनि खर्बभन्दा बढी रुपैयाँ विदेश पठाउन थालेको तथ्यांक छ । राजधानी शहरमै स्नातक तहमा पढाउने कलेजहरूमा विद्यार्थी घट्दै गइरहेको सुन्न पाइन्छ । विद्यार्थी र अभिभावकले सोच्न थालेका छन्- ‘तीन–चार वर्ष ब्याचलर पढाएर पनि विदेश नै पठाउने हो भने पहिल्यै किन नपठाउने ? चाँडै गए, उता चाँडै सेटल होलान् !’

अबको बीस वर्षपछिको विचार गरौं-हाम्रा विद्यार्थीहरू कहाँ–कहाँ सेटल होलान् ? अनि मतदाताको संख्या घटेपछि संसद्को आकार पनि घटाउनु पर्ला ! सांसद संख्या पनि घटाउनु उचित होला ?

बहुमत ल्याउन आवश्यक सिट पनि घट्ला ! आवश्यक सिट ठूला दलहरूलाई ‘साना दलको च्याँखे थाप्दा हाम्रो बहुमत आएन’ भन्ने चिन्ता पनि समाप्त होला !
यसप्रकार एउटा ‘समस्या’का रूपमा प्रकट भएको वैदेशिक रोजगारीको लहर आखिरीमा बहुमतको समस्याको ‘समाधान’ बनेर निस्किएला ?

लेखकको बारेमा
यज्ञश

दुई दशकदेखि सिनेमा, साहित्य र समाजका विभिन्न आयामबारे कलम चलाइरहेका यज्ञशका भुइयाँ, मोहनदास र नेलकटर (अनुवाद) पुस्तक प्रकाशित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?