+
+

काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’ 

रासस रासस
२०८१ साउन १९ गते १४:१८

१९ साउन, काभ्रेपलाञ्चोक । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ ।

आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो । ‘आलु सुपरजोन’का रुपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ सुरु गरिएको जनाइएको छ ।

प्रारम्भिक चरणमा हाल दुइ किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्राण्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफुल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताए । उनका अनुसार स्थानीयस्तरमा उत्पादित आलुको ब्रान्डिङसहित बजारीकरण थालिएको हो ।

भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (सुपरजोन)को आर्थिक सहयोगमा भन्डारण कक्ष निर्माणसहित प्याकेजिङ गरिएको आलु बजारीकरण सुरु गरिएको थापाले बताए ।

‘हाललाई एकतले भवनबाट भण्डारणसहित प्याकेजिङ थालेका छौँ, अब चालु आर्थिक बर्षमा भवनको निर्माण थप्दै प्याकेजिङको परिमाण बढाउनेछौँ’, उनले भने । उद्योगलाई भन्डार कक्ष र प्याकेजिङ सुरुआतका लागि परियोजनाले गत आवमा पहिलो चरणमा १४ लाख रुपैयाँ सहयोग गरेको थियो ।

केही दिनअघि आलु प्याकेजिङलाई जिल्लास्थित बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमनसमेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारी बताउँछन् ।

उद्योगले ‘काभ्रेको चिनारीः पोषिलो आलुको तरकारी’को नारासहित हाललाई प्रतिकेजी ८० रुपैयाँका दरले प्याकिङ गरिएको आलु बजार पठाएको हो ।

‘आलुको गुणस्तर कायमै राखी बजारको मागअनुसार फरकफरक तौलमा प्याकिङ गर्ने योजना बनाएका छौँ’, अधिकारीले भने । उनका अनुसार उद्योगले फरकफरक जातको आलु ‘ग्रेडिङ’ गरी बजार पठाएको छ ।

उपभोक्ताले आफूलाई मन पर्ने जातको आलु किनेर लैजान सक्नेगरी प्याकेजिङ गरेको जनाइएको छ । सुपरजोन समन्वय समितिका प्रमुख सुमन नेपालले ढुक्क भएर काभ्रेपलाञ्चोकमा प्याकेजिङ गरिएको आलु खान आग्रह गरेका छन् ।

उनले भने, ‘काभ्रेमा उत्पादित आलु गुणस्तरीय रहँदै आएको छ, उपभोक्ताले विना संकोच किनेर खान सक्नुहुन्छ ।’ उनका अनुसार यस आलु ब्राण्डिङ कार्यक्रमले अन्य ब्यवसायिक कृषकलाई उत्प्रेरणा मिलेको पाइएको छ ।

आलु सुपरजोन कार्यलयले काभ्रेपलाञ्चोकमा आलुको उत्पादन तथा उत्पादनमा बृद्धि, मल्चिङ प्रविधिलगायतमा सहयोग आएको जनाएको छ आलुको बिउ र मल्चिङ तथा नस्ल सुधार लगाएतमा कार्यक्रम कार्यलयले सन्चालन गर्दै आइरहेको छ । कार्यालय प्रमुख जय महतोले आगामी दिनमा जिल्लाको अन्य क्षेत्रमा आलुको प्याकेन्जिङ र ब्राण्डिङ बिस्तार गर्न कार्यलयले सहजीकरण गर्ने बताए ।

जिल्लाको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् । आलुको पकेट क्षेत्र मानिएको काभे्रको नौ हजार हेक्टर क्षेत्रफलमा बार्षिक करिब एक लाख ७५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?