+
+

राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १९ गते १६:२३
पोर्चुगलको लिस्बन शहर ।

१९ साउन, लिस्बन । पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आइपुगेको छ ।

विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन सङ्कलन गर्न विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली बिहीबार राजधानी लिस्बन आइपुगेको हो ।

टोलीले लिस्बनस्थित गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको हलमा ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरेर शुक्रबारदेखि सेवा दिन सुरु गरेको छ । सेवा सुरु भएसँगै शिविर वरपर रहेका सेवाग्राही नेपालीको घुइँचो लाग्न थालेको टोलीका प्रमुख एवं विभागका निर्देशक मोतिबहादुर श्रीसले जानकारी दिए ।

शुक्रबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका वा हराएका र पोर्चुगलमा जन्मेका नेपालीका छोराछोरी गरी एक सय ८३ जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन गरिएको छ ।

नयाँ राहदानी बनाउन छ हजारले अनलाइन आवेदन भरेकाले सोही सङ्ख्याको हाराहारीमा दरखास्त सङ्कलन हुने अनुमान गरिएको निर्देशक श्रीसले बताए । समयमै काम सक्ने गरी सेवा दिने प्रयास गरिएको बताउँदै तोकिएको दिन र समयमा अनिवार्य उपस्थित हुन उनले सेवाग्राहीलाई आग्रहसमेत गरे ।

‘अहिले राहदानी बनाउन अग्रिम आवेदन दिएकालाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । आवश्यकता र कामको चाप हेरेर कन्सुलरसम्बन्धी अन्य आकस्मिक र जरुरी सेवा दिने प्रयास गर्नेछौं’, श्रीसले भने ।

दश दिनसम्म सञ्चालन हुने शिविर लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावास, गैरआवासीय नेपाली सङ्द्ध पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका छन् ।

टोलीमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका एक गरी तीनजना कर्मचारी सहभागी छन् । टोलीले अगस्त ११ तारिख (साउन २७ गते)सम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा दिनेछ ।

केही महिनाअघि पनि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आएर एक सातासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?