+
+

बिरामीलाई १० गुणा बढी किमो चढाएपछि …

सुवास पण्डित सुवास पण्डित
२०८१ साउन २० गते ८:३१

२० साउन, चितवन । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यानसर अस्पतालमा एक बिरामीलाई १० गुणा बढी किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) दिँदा मृत्यु भएको घटना हालै सार्वजनिक भयो ।

यो घटनामा नर्सहरुसहित चिकित्सकहरुबाट गम्भीर त्रुटि भएको अस्पतालले गठन गरेको छानबिन समितिले प्रतिवेदन दिए पछि दुईजना नर्सलाई निलम्बन गरिएको छ भने, दुई जना चिकित्सकसहित २१ जनालाई स्पष्टीकरण सोधिएको छ ।

निलम्बन गरिएका दुईमध्ये एक जना नर्सले राजीनामा समेत दिइसकेकी छिन् । ओभर डोज किमो दिँदा छालाको क्यान्सर भएर उपचारका लागि आएका लमजुङको दोर्दी गाउँपालिका-९ का ५४ वर्षीय भक्तराज गुरुङको उपचारका क्रममा अस्पतालमा १३ असारमा मृत्यु भएको थियो ।

दुई नर्सले चिकित्सकले लेखिदिएको भन्दा बढी परिमाणको किमो दिँदा गुरुङको मृत्यु भएको छानबिन समितिले उल्लेख गरेको छ ।

मृतकका भाइ बालकुमार गुरुङले ओभर डोज किमो दिएपछि दाइ निकै छटपटाएको बताएका छन् । उनको अवस्था गम्भीर बनेपछि आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

घटनामा नर्सहरुको गम्भीर त्रुटि भएको चर्चा अस्पतालमा हुन थालेपछि अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले उपनिर्देशक डा.उमेश नेपाल, अस्पतालको मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण साह र नर्सिङ विभाग प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरे ।

छानबिन समितिले सम्वद्ध सबै पक्षसँग मौखिक तथा लिखित कुराकानी गरेर १० दिनमा बुझाएको प्रतिवेदनमा गम्भीर मानवीय त्रुटि भएको निष्कर्ष छ ।

३ साउनमा बुझाएको सो प्रतिवेदनमा घटना घट्नुको कारण, उपचार प्रोटकलमा भएका लापरबाही र भाबी दिनमा अस्पतालले अपनाउनुपर्ने सावधानीहरूका विषय उल्लेख गरिएको छानबिन समितिका संयोजक डा. नेपालले बताए ।

छानबिन समितिले सो दिन डिउटीमा रहेका नर्सलाई बोलाएर सोधपुछ गर्दा नै उनीहरुले आफूहरुबाट गल्ती भएको स्वीकार गरेका थिए । निलम्बनमा परेका दुई नर्सहरु करिब दुई बर्षदेखि अस्पतालमा कार्यरत थिए ।

डाक्टरले ३.४ लेखे, नर्सले ३४ मिलिग्राम चढाइदिए

गुरुङको खुट्टाको पैतालामा छालाको क्यान्सर भएको थियो । सो क्यान्सर फैलिएर जाँघसम्म पुगेको थियो । क्यान्सर तेस्रो चरणमा पुगेकाले अपरेशन गर्नुपर्ने अवस्था थियो । अर्थोपेडिक सर्जन डा. सुशील अधिकारीको टिमले २ महिना अगाडि उनको अपरेशन गरेको थियो ।

पैतालामा अन्यत्रबाट मासु ल्याएर टाँसिएको थियो भने, जाँघमा भएका लिम्फनोडहरू पनि हटाइएका थिए । अपरेशनमा संलग्न चिकित्सक डा. सुुशील अधिकारीले माइलोमा भन्ने क्यान्सर, क्यान्सरहरू मध्येको अलि खराबभित्र पर्ने बताए ।

‘एकदमै कम व्यक्तिलाई हुन्छ, यसको पहिलो र दोस्रो स्टेजमा पत्ता लगाउँदा एक प्रकारको उपचार हुन्छ, तेस्रो, चौथो स्टेजमा पुगेपछि नराम्रो हुन्छ’, डा. अधिकारीले भने, ‘अपरेशन गरेपछि उहाँलाई घर पठाएका थियौं, पछि किमो लगाउन आउनुभएको जानकारी पाएँ ।’

गुरुङको घाउ निको भएपछि पहिलोपटक किमोथेरापी गर्न अस्पतालमा ल्याइएको थियो । अस्पतालको हेमाटोलोजी विभाग भित्र रहेको वार्डमा उनलाई राखेर किमो चढाउन थालियो ।

अस्पतालको अंकोलोजी विभागका चिकित्सकले गुरूङलाई ४ दिनसम्म राखेर ३.४ मिलिग्राम किमो चढाउने तयारी गरेर लेखिदिए । सोही अनुसारको योजना पनि बन्यो । तर, किमो चढाउने बेला गुरुङको शरीरमा ३४ मिलिग्राम किमो चढाइयो । चार दिन चढाउनुपर्ने केमो ओभर डोज १० गुणा बढी दिँदा तेस्रो दिनमा नै बिरामी गम्भीर बने ।

छानबिन समितिका सदस्य तथा मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण साहका अनुसार किमो लिन आएका बिरामी गुरूङको उचाइ र तौल सबै अवस्थाको विचार गरेर नै ३.४ मिलिग्राम किमो चढाउन सिफारिस गरिएको बताए ।

उनको अधिकतम डोज नै त्यति थियो । चिकित्सक, नर्सहरूले क्रस भेरिफाइ नगर्दा यस्तो त्रुटि भएको बताए ।

डाक्टरले लेखेको अक्षर नबुझेर ३.४ लाई ३४ मिलिग्राम सम्झेर बिरामीलाई दिएको त हैन भन्ने प्रश्नमा डा. साहले भने, ‘डाक्टरले लेख्दा बीचमा थोप्लो (डेसिमल) दिएको तर क्यारी आउट गर्दा नर्सहरुबाट कमजोरी भयो ।’

किमो लगाउने नर्स स्वयंले पनि ३४ मिलिग्राम किमो किन, कतै गल्ती त भएन भनेर सामान्य थर्ड सेन्स पनि नलगाएको पाइएको डा.साहको भनाइ छ ।

बिरामीलाई आईसीयूमा लगेपछि नर्सले कहिले ३.४ लेख्ने त कहिले केरेर ३४ लेख्ने गरेर घटनामा एक अर्कोलाई दोष लगाउने प्रयाससमेत गरेको पाइएको छ ।

‘यो हाम्रो सिंगो सिस्टमको कमजोरी हो, ३९ जना बिरामीलाई ४ जना नर्सले किमो दिएको अवस्था थियो, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भन्दा १ जना नर्सले ४/५ जना बिरामीलाई मात्रै हेरे पुग्छ’, डा. साहले भने, ‘सो अनुसार हामीले यहाँ गर्न नसके पछि गल्ती भएकै हो, लापरबाहीभन्दा पनि मानवीय त्रुटि कमजोरी भएको हो भन्ने ठान्छु म ।’

अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले घटनामा मानवीय त्रुटि भएकोले छानबिन समितिले दिएको प्रतिवदेनका आधारमा कारबाही गरिएको बताए ।

उनले अस्पतालमा यस्ता गम्भीर प्रकारका कमजोरी स्वीकार्य नहुने बताए । ‘जोसुकै भए पनि कारबाही हुन्छ, मानिसको ज्यानसँग सम्बन्धित विषयमा कुनै प्रकारको हेलचेक्रयाइँ स्वीकार्य हुँदैन’, डा. पौडेलले भने, ‘आगामी दिनमा यस्ता लापरबाही हुन नदिन यो घटनाले पाठ सिकाएको छ ।’

अब यस्ता घटना नहोस्

घटनामा दाजु गुमाएका बालकुमार गुरुङले आगामी दिनमा यस्ता घटना अस्पतालमा नहोस् भन्ने बाहेक आफूहरुको अरु चाहना नरहेको बताए । ‘यो घटनालाई हामीलाई अति ठूलो पीडा दियो, अस्पतालमा उपचार गरेर निको होला कि भनेर गएका थियौं, उल्टै गुमाएर आउनुपर्‍यो’, बालकुमारले भने, ‘हाम्रो अरु कुनै माग थिएन, घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्छ, आगामी दिनमा हामीले जस्तो नियती कसैले पनि भोग्न हुन्न ।’

उनले आफूहरुले राहत तथा क्षतिपूर्तिको माग नगरेको बताए । ‘घटना नहुनु भइसक्यो, अब पैसा मागेर पो के हुन्छ र ?’, बालकुमारले भने, ‘हामीलाई अपुरणीय क्षति भयो, उमेरमै दाइ गुमाउनुपर्‍यो, पैसा त केही हुँदैन ।’ मृतक गुरुङ खेती किसानी गर्थे । उनका २ छोरा र एक छोरी छन् ।

चिकित्सक भन्छन् : किमोको निश्चित मापदण्ड छैन

अस्पतालको मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण साहले अस्पतालमा किमोथेरापी चढाउने कुनै स्टान्डर्ड  प्रोटोकल नभएको बताए ।

अस्पतालमा कति जना बिरामीलाई कति जना नर्स र चिकित्सकले हेर्ने भन्ने प्रोटोकलसमेत नहुँदा यस्ता घटनाहरु हुने गरेको उनको भनाइ छ ।

‘अहिलेसम्म अस्पतालले किमोथेरापीको यस्तो यस्तो प्रोटोकल हुने भन्ने बनाएको छैन, अब बनाउनुपर्छ भन्ने लाग्छ, हामीले सुझाव पनि दिएका छौं’, डा. साहले भने, ‘यो बेवास्ता गर्ने कुरा हैन, किमोमा काम गर्ने नर्सहरुलाई तालिम, क्षमता अभिवृद्धि जस्ता विषय पनि अति महत्वपूर्ण छन् ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?