+
+

मिस नेपालले मनायो ३० औं वर्षगाँठ, यस्तो रह्यो ग्रान्ड फिनाले (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १२:५६

काठमाडौं । मुलुकको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपालले ३० औं वर्षगाँठ सेलिब्रेसन गरेको छ । शनिबार गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजित समारोह केही कारणले खास रह्यो ।

विशेषगरी तीन दशकको यात्रालाई सेलिब्रेसन गर्ने अवसर थियो त्यो । पहिलो मिस नेपाल रुबी राणाको मन्तव्यसँगै सुरु भएको यस वर्षको मिस नेपाल समारोहमा अहिलेसम्मको यात्रालाई झल्काउने दृश्य र कोरियोग्राफी प्रस्तुत गरियो ।

राणाले मिस नेपालले यो यात्रामा भोगेको उतारचढाव र सौन्दर्यलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताइन् । समारोहमा पूर्वमिस नेपालहरुको बाक्लो उपस्थिति थियो ।

यसपटकको मिस नेपाल समारोहमा सम्भवतः पहिलोपटक भूगोल र जातीय विविधता र समावेशिता देखियो । विगतका प्रतियोगितामा काठमाडौं उपत्यकाको दबदबा देखिएपनि यसपटक सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश र कोशी प्रदेशबाट पनि प्रतिस्पर्धीहरु थिए ।

धेरै अन्तर्राष्ट्रिय पाहुना सहभागी भएको मिस नेपाल समारोहले सम्झिइनेछ यसपटकको संस्करण । मिस माल्टाको टोलीसहित समारोहमा सहभागी हुन मिस इन्टरनेसनलका कार्यकारी निर्देशक पनि जापानबाट आएका थिए । भेनेजुएलामा फैलिएको दंगाका कारण मिस इन्टरनेसनल अन्तिम समयमा नेपाल आउन नसकेको जानकारी दिइयो ।

यसपटकको समारोहमा पहिलोपटक २६ जना फाइनलिस्टले ‘ब्युटी विथ पर्पस’ परियोजना प्रस्तुत गरेका थिए । यो सबटाइटल प्रतिस्पर्धा पहिलोपटक आयोजना गरिएको हो ।

यस पटकको संस्करणको फिनालेको प्रतिस्पर्धा निकै कडा रह्यो । तीनैजना विजेता मिस नेपालले दमदार प्रस्तुति दिएका थिए । विशेषगरी प्रश्नोत्तर राउण्डमा उनीहरु प्रभावशाली देखिए ।

अन्ततः मिस नेपाल अर्थमा सुमना केसी, मिस नेपाल इन्टरनेसनलमा करुणा रावत र मिस नेपाल वर्ल्ड विधामा आश्माकुमारी केसी विजेता रहे ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?