+
+

रिडी–वामी सडकमा २२ करोडको लागतमा चार स्थानमा पक्की पुल बन्दै

अनिल खत्री अनिल खत्री
२०८१ साउन २० गते ११:५८

२० साउन, गुल्मी । गुल्मी जिल्लाको रिडी रुद्राबेनी वामीटक्सार सडकका ४ ठाउँमा पक्की पुल बन्ने भएका छन् । उक्त सडकखण्डमा पुल नहुँदा बर्खामा स्थानीयले सास्ती खेप्दै आएका थिए ।

सडक सञ्चालन भएको वर्षौं बित्दासमेत पुल नहुँदा खोला तर्ने क्रममा सवारीसाधनहरु बगाएको समेत उदाहरण छन् । पुल नहुदा वर्षातको समयमा बिरामी तथा जेष्ठ नागरिकले यात्रामा अत्यन्तै दुःख भोग्नुपर्ने अवस्था छ ।

वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुट्ने सवारी साधनहरु वर्षातको समयमा खोला बढ्दा बाटोमै घन्टौं कुरेर यात्रा गर्नुपर्ने अवस्था रहेको मुसिकोट–३ का वसन्त अधिकारीले बताए । खोला तर्न नसक्दा बाटौमै बिरामी तथा जेष्ठ नागरिकहरुले अत्यन्तै दुःख झेल्नु परेको अधिकारीले बताए ।

२२ करोडको लागतमा चार पक्की पुल बन्दै

वषौंदेखि सास्ती खेप्दै आएका नागरिकको समस्यालाई मध्यनजर गर्दै चार वटा स्थानमा पक्की पुल बन्ने भएका छन् । सडक डिभिजन कार्यालय, पाल्पामार्फत् सत्यवती गाउँपालिकाको नादेवा खोला पुलशाहाघाट, सत्यवतीकै, डहरे खोला पुल, सत्यवती र चन्द्रकोट गाउँपालिकाको भार्से खोला पुल चोरकाटेमा बन्ने भएको हो ।

त्यस्तै चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको गिद्दी खोला पुल तल्लाफाँटमा बन्ने भएको सडक डिभिजन कार्यालय पाल्पामा सूचना अधिकारी इन्जिनियर दुर्गाप्रसाद गौतमले बताए । नादेवा खोला पुल शाहघाटमा २० मिटर लम्बाइ, डहरे खोला पुल ४० मिटर लम्बाइको पुल बन्ने भएको हो ।

त्यस्तै भार्से खोला पुल चोरकाटेमा ४० मिटर लम्बाइ र गिद्दी खोला पुल तल्लाफाँटमा २० मिटरको निर्माण हुने इन्जिनियर गौतमले बताए । ०८१ साल वैशाख १४ गते सम्झौता भइ २०८२ साल साउन २२ गते सम्पन्न गर्ने मिति रहेको छ । पुलको हालसम्म कुनै पनि काम सुरु भएको छैन ।

चारवटा पुलको २२ करोड ३१ लाख ६० हजार २१० रुपैयाको लागतमा इलाइट कन्सट्रक्सन काठमाडौंले निर्माण गर्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । पुलको सम्झौता भएर डिजाइन स्वीकृत लगत्तै मनसुन सुरु भएको र वर्षातको समय पश्चात् निर्माण कार्य सुरु अगाडि बढने इन्जिनियर गौतमले बताए ।

पक्की पुल नहुँदा डहरे खोलामा अत्यन्तै जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था रहेको मुसिकोट नगरपालिका वडानम्बर–४ भुवाचिदीका समाजसेवी ज्ञानहरी सापकोटाले बताए । धेरै यात्रुहरुले सास्ती भोग्नु पर्ने बाध्यता दिनहुँ हुने गरेको उनको भनाइ छ ।

रिडी रुद्रावेनी वामिटक्सार सडक हुँदै गुल्मी र छिमेकी जिल्ला बाग्लुङसम्म पुग्ने सवारी साधनहरु आउ–जाउ गर्ने गर्दछन् । यो सडक गुल्मी जिल्लाको निकै पुरानो सडक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?