+
+

धातुजन्य वस्तुलाई नगद सरहको मान्यता दिन माओवादी सांसदको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १३:०४

२० साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले धातुजन्य वस्तुलाई नगद सरहको मान्यता दिने प्रस्ताव गरेका छन् ।

सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै सांसद बरालीले यस्तो व्यवस्था आवश्यक रहेको बताएका हुन् । सुरक्षित कारोबार ऐन २०६३ को दफा २ मा परिभाषा खण्ड छ ।

अभिलेखको परिभाषा र नियमित व्यवसायिक कारोबारको सिलसिलमा पट्टा लिने व्यक्ति ‘लेसी इन द अर्डिनरी कोर्स अफ बिजनेस) को परिभाषामा थप विस्तार गरेर धातुजन्य वस्तुलाई नगद सरहको मान्यता दिने प्रावधान थप गरिनुपर्ने उनको प्रस्ताव रहेको छ ।

‘खराब नियतले कारोबार गर्ने व्यक्तिलाई मात्र सजायको भागीदार बनाउने । असल नियतले कारोबार गर्नेलाई सजायको भागिदार हुन नपर्ने र स्पष्ट उल्लेखित गर्ने धातुजन्य वस्तुलाई नगद सरहको मान्यता दिने’, माओवादी सांसद बरालीको संशोधन प्रस्ताव छ ।

सांसद बराली सुनचाँदी कारोबारमा गलत नियत नराखेर खरिदबिक्री गर्नेहरु समेत सजायको भागीदार हुन सक्ने कानुनी व्यवस्था रहेकोले आफूले यस खाले प्रस्ताव गरेको बताउँछन् ।

उनी भन्छन्, ‘कसैले सुन भन्सार छलेर वा चोरी गरेर ल्यायो । बाबुबाजेको सम्पति भनेर एउटालाई गाल्न लगाएर गरगहना बनाउन लगायो । अर्को पसलमा लगेर गाल्नेसँग बिल लिएर तयही देखाएर बेच्यो । यस्तो अवस्थामा किन्नेको नियत खराब हुँदैन । त्यो समेत राज्यको नजरमा दोषी हुन सक्छ । यस्तो नहोस् भन्नका लागि कारोबारका नियत के थियो भनेर हेर्नपर्छ ।’

सुन चाँदी लगायत अन्तर्राष्ट्रिय बजार मूल्य भएकोलाई नगद सरहको मान्यता दिँदा यसले बजारलाई अझ सहयोग गर्ने भएकाले आफूले यो पनि प्रस्ताव गरेको उनले जानकारी दिए ।

यो सहित सुरक्षित कारोबारसम्बन्धी विधेयकमा ६ जना सांसदले ६ वटै समूहमा संशोधन प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको विधेयक दफावार छलफलको चरणमा पुगेको छ । दफावार छलफल अगाडि सांसदहरुले संशोधन प्रस्ताव राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?