+

बिच भलिबलले देखाएको सम्भावना

२०८१ साउन  २० गते १३:३१ २०८१ साउन २० गते १३:३१

महिला र पुरुष दुवै टोलीले छोटो समयमको तयारी र थोरै लगानीमा पनि बिच भलिबलमा पदक जित्न सकिन्छ भनेर प्रमाणित गरेका छन् ।

बिच भलिबलले देखाएको सम्भावना

२० साउन, काठमाडौं । भुटानमा भएको काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालको महिला टोलीले स्वर्ण र पुरुष टोलीले रजत पदक जितेर आइतबार स्वदेश फर्किएको छ ।

कमला पुन र मनिषा चौधरीको जोडीले प्रतियोगिताभर अपराजित रहेर च्याम्पियन बन्दा ५ खेल जित्यो । यो जोडीले फाइनलमा उज्वेकिस्तान ए लाई २१-१७, २१-१४ ले पराजित गरेको थियो । त्यसअघि सेमिफाइनलमा पनि नेपालले उज्वेकिस्तान बी टिमलाई हराएको थियो ।

पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी भने फाइनलमा माल्दिभ्सको ए टिमसँग पराजित भयो । सन् २०२२ मा भएको एभिसी एसियन बिच भलिबलमा पनि मान र दिलको जोडी त्यही टिमसँग हारेको थियो । यस्तै यस पटक पहिलो खेलमा पनि नेपाली टोली माल्दिभ्स ए सँगै पराजित भएको थियो । फाइनलमा नेपालसामु बदला लिने अवसर थियो, तर चुक्यो ।

छोटो तयारीमा पनि नेपालको दुवै टोलीले पदक जितेर बिच भलिबलमा सम्भावना छ भनेर देखाएका छन् । थोरै लगानीले पनि बिच भलिबलमा राम्रो नतिजा ल्याउने सकिन्छ भन्ने सन्देश पनि नेपाली टोलीले दिएको छ ।

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षक बनेर गएका रुपेश विष्टले एक स्वर्ण र एक रजत जितेर आउँदा धेरै खुशी लागेको बताए । ‘यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो र पहिलो सहभागितामै गोल्ड र सिल्भर मेडल जित्न सक्दा एकदम खुशी लागेको छ’, स्वदेश फर्केपछि प्रशिक्षक रुपेशले अनलाइनखबरसँग भने । उनले घरेलु भलिबलमा नेपाल पुलिस क्लबको महिला टिमलाई प्रशिक्षण दिँदै आएका छन् ।

प्रशिक्षक रुपेशले नेपालको महिनेत र अनुभवले महिलामा स्वर्ण जित्न सफल भएको प्रतिक्रिया दिए । ‘हामीले गरेको कडा महिनेतले यो उपलब्धी हासिल गर्न सफल भयौँ । भुटान बाहेक सबै टिम नै बलियो थियो । तर हाम्रो टिमले अझ शसक्त प्रदर्शन गर्‍यो र राम्रो प्रदर्शन गर्‍यो’, उनले भने ।

शनिबार जुरेको खुसीको संयोग

शनिबार नेपाली भलिबलको लागि ऐतिहासिक दिन नै रह्यो । बिच भलिबलमा स्वर्ण र रजत जित्दा यता काठमाडौंमा जारी काभा वुमन्स नेसन्स लिगमा नेपालले भारतमाथि ऐतिहासिक जित हासिल गर्‍यो ।

‘हिस्टोरिक डे रह्यो । एकदमै खुशी लागेको छ । जीवन नै भलिबलमा बिताउन लागिसक्यो। भलिबलले यसरी पड्को मार्दा एकदम खुशी लाग्छ । मलाई राष्ट्रको जिम्मेवारी दिनुभयो । सोचे भन्दा राम्रो नतिजा ल्याउन सकेँ,’ प्रशिक्षक विष्टले भने, ‘म महिला टिममा पनि प्रशिक्षकमा थिएँ । तर पछि बिच भलिबल टिमसँग गएँ । उता दुवैमा पदक आयो । दुवैतिर जित्दा खुशी लागेको छ ।’ काभा नेसन्स लिगमा पनि नेपालले उपाधि जित्ने सम्भावना बलियो भएको विष्टले बताए ।

दोस्रो प्रयासमा स्वर्ण

नेपालको महिला टोलीले काभा बिच भलिबलमा ऐतिहासिक स्वर्ण जित्यो । दुई वर्षअघि बंगलादेमा भएको एभीसी सेन्ट्रल जोन बिच भलिबलमा कमला पुन र कोपिला उप्रेतीको जोडीले रजत पदक जितेका थिए ।

यस पटक नेपालले त्यसमा सुधार गर्दै ऐतिहासिक स्वर्ण जित्यो । छोटो समयमको तयारीमा पनि स्वर्ण जित्दा खुशी लागेको महिला टिमकी कप्तान कमला पुनले बताइन् । ‘हामीले एक हप्ता मात्र ट्रेनिङ गरेपनि राम्रो खेल्यौँ र उपाधि जित्यौँ खुशी लागेको छ’, स्वर्ण जितेर स्वदेश फर्किएपछि पुनले भनिन् ।

नेपालले लगनखेलस्थित नेपाली सेनाको कृत्रिम बिच भलिबल कवर्टमा एक साता प्रशिक्षण गरेर भुटान गएको थियो । दुई दिनअघि त्यहाँ पुगेको नेपालले प्रतियोगिता हुने स्थलमै प्रशिक्षण र तयारी गर्न पाएको थियो । जसले गर्दा पनि नेपाललाई फाइदा पुग्‍यो ।

‘हामीले दुई दिनअघि भुटान पुगेर त्यहाँ बिहान बेलुका प्रशिक्षण गर्न पायौँ । त्यसले गर्दा पनि हामीलाई सजिलो भयो’, कमलाले भनिन्, ‘हामी दुई जना पहिले पनि सँगै खेलेकोले हामीलाई त्यो अनुभवले फाइदा पुर्‍यायो ।’ प्रशिक्षक रुपेश विष्टले पनि भुटानमै गएर प्रशिक्षण गर्न पाउँदा फाइदा पुगेको बताए ।

प्रतियोगितामा यस पटक नेपालसहित भुटान उज्वेकिस्तान माल्दिभ्सको महिला टोली सहभागी थियो । श्रीलंका भने सहभागी थिए । यद्यपि उज्वेकिस्तानको दुवै टिम राम्रो रहेको कमलाले बताइन् । ‘अरु टिम पनि राम्रो थियो । पहिला श्रीलंका आएको थियो । यसपटक श्रीलंका थिएन’, कमलाले भनिन्, ‘तर उज्वेकिस्तानको टिम राम्रो थियो । २०२३ मा हामी सहभागी थिएनौँ ।’

तत्कालीन समयको विजेता बनेको उज्वेकिस्तानक टोली आएकाले पनि उनीहरुको प्रदर्शन राम्रो थियो । उनले भनिन, ‘प्राक्टिस गरेर आएका थिए तर हाम्रो प्रक्टिस कम भएपनि हाम्रो अनुभव प्रयोग गरेर जित्यौँ । हामीले राम्रो खेलेरै स्वर्ण जित्यौँ ।’ नेपालले अझ धेरै अभ्यास गर्न पाएको भए योभन्दा पनि राम्रो प्रदर्शन गर्न सक्ने कमलाले बताइन् ।

पुरुष टिमको लगातार रजत

नेपालको पुरुष टिमले भने बिच भलिबलमा लगातार रजत पदक जित्यो । यस पटक स्वर्ण जित्ने लक्ष्यसहित भुटान पुगेको मानबहादुर दिल सुनारको जोडीले आफ्नो बेस्ट प्रदर्शन दिएपनि विपक्षी टोली अझ राम्रो हुँदा स्वर्णको लक्ष्य पूरा भएन ।

फाइनलमा माल्दिभ्सको ए टिमसँग नेपाल २१-१९ र २१-१७ ले पराजित भयो ।

मानबहादुरले समग्रमा प्रतियोगिता राम्रो भएको बताए । ‘हामीले सन् २०२२ मा बंगालदेशमा फाइनल खेलेको दुई वर्षपछि एकैपटक खेलेकव थियौँ । यो दु:खको कुरा हो । यो बीचमा मैत्रिपूर्ण खेल निरन्तर ट्रेनिङ र प्राक्टिस म्याचहरु भएकव भए राम्रो हुन्थ्यो’, मान बहादुरले अनलाइनखबरसँग भने, ‘तैपनि दिल भाइ र मेरो जोडीको इन्डोर र बिच भलिबलमा जुन अनुभव थियो त्यसले गर्दा हामीले राम्रो प्रदर्शन गर्‍यो । स्वर्ण जित्न नसकेपनि हाम्रो प्रदर्शन भने सुधार भएको जस्तो लाग्छ ।’

सन् २०२२ मा फाइनल खेल्दा १० र १९ मै पराजित भएपनि यस पटक नेपालले सुधारिएको प्रदर्शन गर्दै माल्दिभ्सलाई टक्कर दिएको थियो । पहिलो खेलमै नेपाली टोली माल्दिभ्स ए टिमसँग सोझो सेटमा पराजित भएको थियो । त्यसपछि समूह्य चरणको बाँकी तीन खेलमा लगातार जित हासिल गर्दै सेमिफाइनलमा उज्वेकिस्तानलाई हराएको नेपाली टोली फाइनलमा त्यही माल्दिभ्ससँग चुक्यो ।

‘हामीले दुई वर्षअघिको भन्दा सुधार त गरेको हौँ । फाइनलमा पनि नेक टु नेकमा गइरहेको थियौँ । एक अंकले गर्दा पहिलो सेट गुमाउनुपर्‍यो’, मानबहादुरले भने, ‘माल्दिभ्समा जताततै बिच भलिबल कोर्ट छ । उनीहरु निरन्तर प्रशिषण पनि गर्छन् । यसैका लागि भनेर तयारी गर्छन् । हाम्रो त्यो स्तरको छैन । त्यसले गर्दा पनि चुकेको हो ।’

मानबहादुरले इन्डोर बिचमा गरेर देशका लागि ३ पदक जितेको र अब जुनमा भएपनि स्वर्ण पदक जिताउने चाहना भएको बताए । प्रशिक्षक रुपेश विष्टले पनि यसमा समर्थन जनाए । ‘माल्दिभ्स वर्षभेरै बालुमा ट्रेनिङ गरिरहेको हुन्छ । त्यही पनि हाम्रो टिमले कडा फाइट दिएको हो । पहिलो सेट २१-१९ मा गुमाएको छ’, उनले भने, ‘म्याचको स्ट्यानडर्ड र स्कोरले पनि देखाउँछ नेपाली टिममा पनि क्षमता छ भनेर । केही कुरामा हामी कमजोरी देखियो । तर हाम्रो तुलनामा उनीहरु अली प्रो नै थिए ।’

थोरै लगानीले पनि राम्रो नतिजा सम्भव

यस पटक नेपाली टोली, हप्ता दश दिनको तयारीमा बिच भलिबल खेल्न भुटान पुगेको थियो । तैपनि नेपालको दुवै टोलीले पदक बोकेर घर फर्कियो । महिला र पुरुष दुवै टोलीले छोटो समयमको तयारी र थोरै लगानीमा पनि बिच भलिबलमा पदक जित्न सकिन्छ भनेर प्रमाणित गरेको छ ।

त्यसैले अब सम्बन्धित निकायले यसमा ध्यान दिएर प्रशिक्षण र प्रतियोगिता आयोजना गर्ने हो भने बिच भलबिलमा नेपालले अझ राम्रो प्रदर्शन गर्दै माथिल्लो लेर्भलमा पनि खेल्न सक्छन् ।

प्रशिक्षक रुपेश विष्टले नेपालमा एउटै खेलाडीले इन्डोर र बिच भलिबल खेलिरहेको भन्दै अब क्याटेगोराइज गरेर खेलाउनुपर्ने बताए । ‘त्यही खेलाडीले बिच भाको बेला बिच र नभए इन्डोर खेलिराछ । यदि यसमा क्याटेगोराइज्ड गर्‍यो भने खेलाडीले जुनमा राम्रो छ त्यहीमा खेल्छन्’, उनले भने ।

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिविभित्र बिच भलिबलको कोर्ट रहेपनि त्यसको राम्रोसँग सदुपयोग हुन नसकेको विष्टले बताए । त्यसलाई प्रयोग गरेर प्रशिक्षण गर्दा राम्रो हुने उनको भनाइ छ ।

महिला खेलाडी कमला पुनले पनि बिच भलिबलमा सम्भावना रहेको बताइन् । ‘मैले समय भइसक्यो बिच भलिबल खेलेको । यसमा लगानी गर्नुपर्छ भनेर भन्दै आएको पनि धेरै भयो’, उनले भनिन्, ‘बिच भलिबल थोरै लगानीमा पनि देश विदेशमा गएर खेल्न सकिन्छ । यसलाई निरन्तर दिएमा मेडल टच हुन्छ । नेपालको राम्रो सम्भावना छ छ ।’

पुनले नेपालमा बिच भलिबलको प्रतियोगिता ट्रेनिङहरु भयो भने अझ राम्रो खेलाडीहरु आउन सक्ने बताइन् ।

यस्तै पुरुष टोलीका मानबहादुरले पनि नेपालले दुई वटा मेडल जितेर सकिन्छ भन्ने प्रमाणित गरेको र अब यसमा लगानी गर्नुपर्ने बताए । ‘अब भलिबल संघले बिच भलिबलमा पनि केही योजना बनाएर अघि बढ्नुपर्छ । बिच भलिबलमा थोरै लगानीमा मेडल आउने रैछ भन्ने भाछ’, उनले भने, ‘सिस्टमेटिक रुपमा टुर्नामेन्ट, ट्रेनिङ र खेल्ने ठाउँ भए अझ राम्रो हुन्छ । म्याचहरु अझ धेरै खेल्नुपर्छ । वर्षको एउटा काभा खेलेर पुग्दैन’

मानबहादुरले कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुदमा बिच भलिबल पनि समावेश गर्न आग्रह गरेका छन् । बिच भलिबल खेलेर भलिबलमा जानेलाई पनि फाइदा पुग्ने मानबहादुरले बताए । ‘ बिच भलिबलमा धेरै स्टामिना र स्किल चाहिन्छ । ‘बिच भलिबल खेलेर इन्डोर खेल्दा फिजिकल्ली स्टामिना हुन्छ । जम्पहरु राम्रो हुन्छ । डिफेन्स, रिसिभ र सेट उति नै राम्रो हुन्छ’, उनले भने ।

बिच भलिबलको लागि छुट्टै मैदान तयार पारेर जुनियर स्तर देखि नै खेलाडीको प्रशिक्षण र प्रतियोगिता गराउने हो भने नेपालले अन्तर्राष्ट्रियस्तरमा अझ ठूलो सफलता हात पार्न सक्ने खेलाडी र प्रशिक्षकको विश्वास छ ।

काभा बिच भलिबल बिच भलिबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय