
काठमाडौँ । हाँस्यव्यंग्यको पर्व गाइजात्रामा समसामयिक राजनीति र सामाजिक मुद्दामा कलाकारले व्यंग्य पस्कने गर्छन् । कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाइजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कमेडी ‘ठग-ठाग कोसेली’ ल्याएका छन् ।
दर्शक तथा श्रोतालाई व्यंग्यको माध्यमबाट मनोरञ्जन दिन र विकृति विसंगतिमाथि प्रहार गर्दै चेतना जगाउने उद्देश्यले ‘ठग-ठाग’ कोसेली ल्याएको उनको भनाई छ । दुई दशकदेखि व्यंग्यमा सक्रिय उनले समकालिन राजनीतिक घटनाक्रम, विकृति विसंगतिदेखि, फेसन र ग्ल्यामरलाई व्यंग्यको मसला बनाएका छन् ।
लेखन, निर्देशन र प्रस्तुति समेत उनकै रहेको ‘ठग-ठाग कोसेली’मा प्यारोडी पनि छ । यसपटक उनले ‘काले केटाले’ भन्ने चर्चित गीतमा प्यारोडी बनाएका छन् । गीतमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसम्मलाई उतारेका छन् ।
रिजालको ‘ठग-ठाग कम्पनी’ २२औं कोसेली हो । गतवर्ष उनले ‘लुछाचुँडी’ ल्याएका थिए ।
जोगिन्दरको ‘ठग-ठाग कम्पनी’मा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सेना, शिला उप्रेती, शिवराम कार्की, सोनम शेर्पा, बिजेन्द्र नौबागे, धिरेन्द्रसिंह, सावित्री लामिछाने, पोसना श्रेष्ठ, बेदमणि अधिकारी र प्रेम शर्मा पौडेल छन् । ‘ठग-ठाग कम्पनी’को पोष्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो ।
गाइजात्रा हास्यकलाकारका लागि उत्सव भएकोले सधैँ झैँ यो वर्षपछि गाईजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए । ‘अहिले यस्ता कोसेलीको ब्यवसायिकता त छैन’, रिजालले भने ‘बर्षेनी दर्शकश्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ’ उनले भने । जोगिन्दर अहिले ‘नाचघरमा आयोजना हुने ‘गाईजात्रा कार्यक्रम’को तयारी छन् ।
प्रतिक्रिया 4