+

९ प्रतियोगिता, जसमा नेपालले भारतलाई हरायो

२०८१ साउन  २० गते १८:५८ २०८१ साउन २० गते १८:५८

क्रिकेट, फुटबल, भलिबलजस्ता धेरै समर्थक भएका खेलमा भारत नेपालमाथि हाबी हुँदै आएको छ । तर नेपालले उत्कृष्ट प्रदर्शनमा भारतलाई विभिन्न खेलमा पटक पटक हराइसकेको छ ।

९ प्रतियोगिता, जसमा नेपालले भारतलाई हरायो

२० साउन, काठमाडौं । नजिकको छिमेकी देश भारत धेरै खेलकुद प्रतियोगितामा नेपालको प्रमुख प्रतिस्पर्धी हो । दक्षिण एसिया तथा एसिया महादेशस्तरका धेरै खेल प्रतियोगितामा नेपाल र भारतले आपसमा प्रतिस्पर्धा गरिरहनुपर्छ ।

जनसंख्यामा भारत नेपाल भन्दा ४६ गुणा र भौगलिक हिसाबले २२ गुणा ठूलो छ । खेलकुदमा भौतिक पूर्वाधार, संरचना र सेवा सुविधा सबैमा भारत नेपाल भन्दा अघि छ । त्यसैले क्रिकेट, फुटबल, भलिबलजस्ता धेरै समर्थक भएका खेलमा भारत नेपालमाथि हाबी हुँदै आएको छ । तर नेपालले उत्कृष्ट प्रदर्शनमा भारतलाई विभिन्न खेलमा पटक पटक हराइसकेको छ । पछिल्लो पटक नेपालले शनिबार काभा वुमन्स नेसन्स लिगमा हराएको छ ।

नेपालका प्रमुख तीन खेल क्रिकेट, फुटबल र भलिबलमा नेपालले सिनियर र उमेर समूहमा गरी भारतलाई ९ पटक पराजित गरेको छ । नेपालले भारतलाई हराएका यी खेलबारे संक्षिप्त जानकारी :

साउथ एसियन गेम्स १९९३ फुटबल

नेपालले सन् १९९३ को साउथ एसियन गेम्समा भारतलाई पहिलो पटक फुटबलमा हराएको थियो । नेपालले २६ डिसेम्बर, १९९३ मा बंगलादेशको ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको फाइनल खेलमा भारतलाई हराउँदै स्वर्ण जितेको थियो ।

निर्धारित समयमा नेपालबाट उमेश प्रधान र मणि शाह तथा भारतबाट तेजेन्द्र कुमार र आईएम विजयानले गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ४–३ ले हराउँदै स्वर्ण जितेको थियो । नेपालका राजेश मानन्धर, राजुकाजी शाक्य, मणि शाह र वसन्तराज गुरुङले पेनाल्टीमा गोल गरेका थिए ।

साउथ एसियन गेम्स २००६, यू–२३ फुटबल

श्रीलंकाको कोलम्बोमा २६ अगष्ट, २००६ मा साउथ एसियन गेम्सको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले भारतलाई २–० ले हराएको थियो ।

नेपालको तर्फबाट जुमानु राईले चौथो र प्रदीप महर्जनले १३ औं मिनेटमा गोल गरेका थिए । त्यतिबेला नेपालको २३ वर्षमुनिको टोलीले भारतको २० वर्षमुनिको टोलीसँग प्रतिस्पर्धा गरेको थियो ।

साफ च्याम्पियनसिप २०१३

घरेलु टोली नेपालले साफ च्याम्पियनसिप २०१३ मा समूह चरणमा भारतलाई हराएको थियो । ५ सेप्टेम्बर २०१३ मा काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले हराएको थियो ।

नेपालको जितमा अनिल गुरुङले ७० औं र जुमानु राईले ८१ औं मिनेटमा गोल गरेका थिए । अतिरिक्त समयमा सैद रहमान नाबीले भारतका लागि सान्त्वना गोल फर्काएका थिए ।

साफ यू– १९ च्याम्पियनसिप २०१५

नेपालले घरेलु मैदान दशरथ रंगशालामा २०–२९ अगष्ट २०१५ सम्म भएको साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

नेपाल र भारतबीचको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएको थियो । नेपाललाई पहिलो हाफको ३२ औं मिनेटमा तेज तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । भारतलाई ८५ औं मिनेटमा पेनाल्टी मार्फत शाहबाज खानले गोल गर्दै १–१ को बराबरीमा फर्काएका थिए ।

थपिएको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा नेपालले ५–४ ले हराउँदै उपाधि जितेको थियो । पेनाल्टीमा हेमन्त थापामगर, सुनिल बल, विश्वास श्रेष्ठ, डोना थापा र अनन्त तामाङले गोल गरेका थिए ।

साउथ एसियन गेम्स फुटबल यू–२३, २०१६

नेपालले २०१६ मा गुहावाटीमा भएको साउथ एसियन गेम्स फुटबल यू–२३ को फाइनलमा भारतलाई हराउँदै स्वर्ण जितेको थियो । पहिलो हाफमा १–० ले पछि परेको अवस्थाबाट नेपालले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

३० औं मिनेन्टमा पेनाल्टीमार्फत भारतले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ६५ औं मिनेटमा प्रकाश बुढाथोकीले गोल गर्दै नेपाललाई १–१ को बराबरीमा फर्काएका थिए ।

७० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिए । त्यो नै नेपालको जितमा निर्णायक बनेको थियो ।

यू–१९ एसिया कप क्रिकेट, २०१७

नेपालले एसीसी यू–१९ एसिया कप २०१७ नोभेम्बर १२ मा भारतलाई १९ रनले हराएको थियो । त्यो नै क्रिकेटमा नेपालले भारतलाई हराएको एकमात्र खेल हो ।

मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

दीपेन्द्रसिंह ऐरीले १०१ बलमा ६ चौका र २ छक्कासहित ८८, जितेन्द्र ठकुरी ३६, अनिल शाह र रोहित पौडेलले ६–६ रन बनाएका थिए । १८६ रनको विजयी लक्ष्य पछ्याएको भारत ९७–२ को अवस्थाबाट १६६ रनमा अल आउट भएको थियो । कप्तान दीपेन्द्रले ४,पवन सरार्फ र साहब आलमले २–२ विकेट लिएका थिए ।

सन्दीप लामिछाने र कमलसिंह ऐरीले १–१ विकेट लिएका थिए । नेपालको सिनियर टोलीले पहिलो पटक २०२३ को एसिया कपमा खेल खेलेपनि १० विकेटले पराजित भएको थियो ।

साफ वुमन्स च्याम्पियनसिप–२०२२

नेपालले २०२२ साफ वुमन्स च्याम्पियनसिपमा घरेलु मैदान दशरथ रंगशालामा भारतलाई सेमिफाइनल खेलमा १–० गोलले हराएको थियो ।

पहिलो हाफको अतिरिक्त समय (४६ औं) मिनेटमा रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन् ।

नेपालको ऐतिहासिक जितमा त्यो गोल नै निर्णायक बनेको थियो । भारतलाई सेमिफाइनलमा हराए पनि फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले हार्न पुगेको थियो ।

साफ यू–१७ च्याम्पियनसिप २०२२

२०२२ साफ यू–१७ सेप्टेम्बर पहिलो साता कोलम्बोमा नेपालले समूह चरणमा भारतलाई ३–१ ले हराएको थियो ।

समूह बी को खेलमा भारतलाई हराउन नेपालका सरोज दर्लामी, युनिश बुढाथोकी र सुवास बमले गोल गरेका थिए । नेपाल उक्त प्रतियोगिता फाइनलमा भारतसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

काभा वुमन्स भलिबल, २०२४

घरेलु टोली नेपालले काभा वुमन्स नेशन लिग २०२४ मा भारतलाई समूह चरणमा ३–१ ले हराउँदै ऐतिहासिक जित रचेको थियो । भलिबल इतिहासमा नेपालले भारतलाई पहिलो पटक हराएको थियो ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो । नेपालले खेलमा पहिलो, तेस्रो र पाँचौं सेट जितेको थियो । उक्त खेल नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५ र १५–१३ ले हराएको हो ।

यसअघि महिला टोलीले सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पाँचौं सेटमा पुगेर हार्नु नै भारतविरुद्ध भलिबलमा सर्वाधिक प्रतिस्पर्धात्मक खेल थियो ।

क्रिकेट खेलकुद नेपाल-भारत फुटबल भलिबल
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय