+
+

मुख्यमन्त्री बनेर आउँछु भन्थे, मन्त्री चाहिँ भए

मुख्यमन्त्री बन्छु भनेर जाजरकोटको प्रदेशसभा क्षेत्र नम्बर २ मा भोट मागेका राजीवबिक्रम शाह चुनाव जितेपछि मुख्यमन्त्री त बन्न पाएनन्, मन्त्री चाहिँ भएका छन् ।

यज्ञ खत्री यज्ञ खत्री
२०८१ साउन २० गते १९:५५

१८ साउन, सुर्खेत । २०७९ मंसिरको आम निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार बनेका नेपाली कांग्रेस नेता राजीवबिक्रम शाहले जाजरकोटीलाई भन्थे, ‘मलाई जिताएर पठाउनुहोस्, मुख्यमन्त्री बनेर आउँछु ।’

आफ्नै दल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कादेखि गठबन्धनमा रहेको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए । त्यसैले राजीवले मुख्यमन्त्रीलाई चुनावी सभामा प्रमुख एजेन्डा बनाए । आफ्नो क्षेत्रमा त्यसरी नै भोट मागे ।

प्रदेशसभामा कांग्रेसबाट उम्मेदवार बनेका अधिकांशलाई धेरथोर आर्थिक सहयोग गरे । माओवादीसँग गठबन्धन गरेको कांग्रेसले प्रत्यक्षतर्फ ९ सिट जित्यो भने समानुपातिकतर्फ ५ सिट पाएको कांग्रेस १४ सांसदसहित कर्णाली प्रदेशसभाको ठूलो दल बन्यो ।

कर्णाली प्रदेशसभामा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पनि चुनिएर आएका थिए । त्यसैले मुख्यमन्त्री बन्नुपूर्व राजीवले उनीसँग संसदीय दलको चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने भयो ।

राजीवले चुनाव लड्ने घोषणा पनि गरे । तर उनले प्रस्तावक र समर्थक समेत पाएनन् ।

जीवन र राजीव दुवै जना संस्थापन पक्षकै नेता हुन् । कर्णालीमा कांग्रेसको संस्थापन इतर पक्षको उपस्थिति निकै कमजोर छ । १४ सांसदमध्ये ११ जना सांसद संस्थापन पक्षमा छन् भने तीन जना संस्थापन इतरका हुन् । संस्थापन इतरका तीन जनाले राजीवलाई साथ दिने वाचा गरेका थिए । संस्थापन पक्षका केही सांसदको साथ लिएर दलको नेता बन्ने राजीवको दाउ थियो ।

तर उम्मेदवारी दिने दिन तर ८ पुस २०७९ मा प्रस्तावक र समर्थकसमेत नपाएपछि संसदीय दलको नेतामा जीवनबहादुर शाहहीलाई समर्थन गर्न बाध्य भए । समर्थन गर्दा उनलाई लागेको हुनसक्थ्यो, भोलि सरकारमा जाने बेला सहज होला ।

तर संसदीय दलका नेता शाहीले त्यसो गरेनन् । केन्द्रमा गठबन्धन फेरिएपछि राजकुमार शर्मा नेतृत्वको माओवादी सरकारमा कांग्रेस सहभागी हुने भयो । पार्टी केन्द्रीय सदस्यसमेत रहेका राजीव वरियतामा जीवन पछिका सिनियर नेता हुन् । त्यसैले उनले सरकारमा पार्टीको नेतृत्व गर्न चाहे ।

तर संसदीय दलका नेता जीवनले भने जाजरकोटकै अर्का सांसद वेदराज सिंहलाई अर्थमन्त्री बनाउन सिफारिस गरे । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा निकट रहेका राजीवले केन्द्रमा गुहार लगाए । सभापति देउवाले तत्कालीन मुख्यमन्त्री शर्मालाई नै फोन गरेर शपथ रोक्न लगाए ।

एक दिनलाई मन्त्रीहरुको शपथ पनि रोकियो । तर संसदीय दलका नेता जीवन टसकामस भएनन् । बरु ‘कि मलाई नै दलको नेताबाट हटाउनुहोस् । होइन भने मेरो निर्णयलाई मान्नुस्’ भन्ने अडान लिएपछि मन्त्रीहरुले शपथ लिए ।

त्यस घटनाबाट बिरक्तिएका प्रदेश सांसद राजीव ३–४ महिना कर्णालीमै आएनन्, काठमाडौं बसे । ४ साउन २०८० भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत शाहले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्छु भनेकै कारण नेताहरुले आफूलाई गलत व्यवहार गरेको बताए । उनले भनेका थिए, ‘लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा गर्छु भनेर मैले चाहना राख्नु के अपराध थियो ?’

फेरियो अवस्था

कांग्रेस सत्ताबाट हटेर प्रतिपक्षमा पुगेपछि भने राजीवले संसदीय दलका नेता शाहीसँग सम्बन्ध सुधारका लागि प्रयास थाले । ‘राजीव दाइले जीवन दाइलाई नेता मानेर जान कुनै समस्या छैन भनेपछि परिस्थिति बदलिएको हो’, कांग्रेसका एक सांसदले भने ।

१७ असारमा कांग्रेस र एमालेबीच केन्द्रमा नयाँ समीरकण बन्यो । दुई दलबीच कर्णालीमा एमाले संसदीय दलका नेता यमलाल कँडेल नेतृत्वको सरकारलाई नै निरन्तरता दिने सहमति भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका कारण संसदीय दलका नेता शाही गत चैतदेखि निलम्बनमा छन् ।

राजीवले मन्त्री बन्न लबिइङ गरे । एक साताअघि उनले उपसभापति खड्का र नेता शाहीलाई भेटेका थिए । खड्का र शाही दुबै सकारात्मक भएपछि राजीवकै नेतृत्वमा कांग्रेस आइतबार कर्णाली सरकारमा सहभागी भएको छ ।

कँडेल नेतृत्वका कर्णाली सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । कांग्रेसबाट राजीवबिक्रम शाह आर्थिक मामिला तथा योजना मन्त्री बने भने सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भए ।

आर्थिक मामिलामन्त्री शाहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । ‘दुई नेताबीच पछिल्लो समय बढ्दै गएको निकटता र सिनियारिटीले राजीव दाइलाई सरकारमा जान सहज बनायो’, कांग्रेसका एक प्रदेश स्तरीय नेता भन्छन् ।

को हुन् राजीव ?

काठमाडौं जन्मिए हुर्किएका शाह ०४१ सालमा पहिलो पटक पुर्ख्सौली थलो पुग्दा १६ वर्षका थिए । फर्किएर अध्ययनमा व्यस्त भए, भारत, बेलायत लगायतका शैक्षिक संस्थाबाट अध्ययन पूरा गरिसकेपछि राजीव ०६३ तिर जारजरकोट फर्किए ।

त्यतिबेला जाजरकोटमा झाडापखाला महामारी फैलिएको थियो । राजीवले आफ्नो व्यक्तिगत खर्चमा हेलिकप्टर चार्टर्ड गरेर महामारी फैलिएको क्षेत्रमा डाक्टर र औषधी पुर्‍याए । राज्य नपुगेको ठाउँमा आएका राजीवले खुब माया पाए ।

त्यसपछि उनी जाजरकोटसँग जोडिरहे ।

संविधानसभा निर्वाचन २०७० मा कांग्रेसले टिकट दियो । शाहले चुनाव जिते । कांग्रेसले शाहलाई २०७४ को निर्वाचनमा पनि प्रतिनिधि सभा उम्मेदवार बनायो । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा शाह माओवादी केन्द्रका उम्मेदवार शक्तिबहादुर बस्नेतसँग पराजित भए ।

२०७९ को निर्वाचनमा पनि शाह प्रतिनिधिसभामै उठ्न चाहन्थे । तर कांग्रेस र माओवादीले चुनाव गठबन्धन गरेका थिए । शक्ति बस्नेतका लागि टिकट लिनुपर्ने भएपछि माओवादी अध्यक्ष प्रचण्डसमेत लागेर शाहलाई मुख्यमन्त्री बनाउने भनेर प्रदेशमा झर्न फकाए । जाजरकोट क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यमा विजयी भएका शाह मुख्यमन्त्री त बन्न पाएनन्, मन्त्री चाहिँ भएका छन् ।

मन्त्रीका रुपमा शाहको राजनीतिक परीक्षा सुरु भएको छ । राजनीतिमा चाहिने चातुर्यता र कूटनीतिमा कमजोर भएकै कारण शाहले पटकपटक धोका खाएको भन्दै उनी निकट एक नेता भन्छन्, ‘उहाँ कमलो हृदय भएको मान्छे हो ।’

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?