+
+

बीमाको रकम लिन आफैं पसलमा आगो लगाए, पोल खुलेपछि पक्राउ

शंका लागेपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यसक्रममा व्यवसायमा निरन्तर घाटा भएपछि बीमाको रकम दाबी गर्ने उद्देश्यका साथ आफैंले आगो लगाएको खुलेको छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०८१ साउन २० गते १९:०८

२० साउन, पोखरा । १६ साउनको बिहानै पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भयो । स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगोलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको प्रहरीले निष्कर्ष निकाल्यो ।

गहतराजले ४ वर्षदेखि मदिरा तथा किराना सामग्री पाइने सपिङ सेन्टर खोलेका थिए ।

घटनापछि उनले इन्भटर सर्ट भएर आगो लगाएको बताएका थिए । शंका लागेपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यसक्रममा व्यवसायमा निरन्तर घाटा भएपछि बीमाको रकम दाबी गर्ने उद्देश्यका साथ आफैंले आगो लगाएको खुलेको छ ।

प्रहरीका अनुसार आगलागीको घटनापछि इन्भटर बिक्री गर्ने पसलका धनीलाई भेट्यो, जसले इन्भटर सर्ट भएर आगो नलाग्ने बताए । नेपाल विद्युत प्रधिकरणले पनि घटना बुझेपछि विद्युत सर्ट नभएको जानकारी दियो ।

आफैंले आगो लगाएको हुनसक्ने प्रहरीको आशंका थियो । तर गहतराजले बीमा नगरेको बताए । अनुसन्धान चलिरहेका बेला १८ गते हिमालयन इन्सुरेन्समा बीमा दाबी गर्दै निवेदन दिए । उनले २ करोड १० लाख रुपैयाँको बीमा गरेको थिए ।

त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । पसल नचलेको, सामान पनि ठूलो मात्रामा स्टक रहेको, घर भाडाका विषयमा विवाद रहेको र आर्थिक व्यवहार बिग्रिँदै गएपछि बीमा दाबी गर्ने उद्देश्यले आगो लगाएको बयान दिएका छन् ।

गहतराजलाई पवन नेपालले सहयोग गरेको पाइएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

पवनले पोखरामा ह्याचरी तथा पोल्ट्री फार्म गर्दै आएको थिए । उनको पोल्ट्री फर्ममा गत वर्ष नै आगो लागेर ३१ लाख रुपैयाँ बीमा रकम लिएका थिए । उनकै सुझावमा गहतराजले आफ्नै सपिङ सेन्टरमा आगो लगाउने र बीमा वापतको रकम ल्याएर आर्थिक व्यवहार मिलाउने योजना बुनेका थिए ।

स्याङ्जाका दुवै जनाका बीचमा आर्थिक कारोबार थियो । गहतराजले बीमाबाट प्राप्त हुने रकमबाट १० लाख रुपैयाँ पवनलाई दिने सहमति समेत गरेका थिए ।

प्रहरीका अनुसार घटना भएको दिन दुवै जना गाडीमा गएर स्प्रिट ल्याएका थिए । ‘सपिङ सेन्टर आगो लगाउने निर्णयपछि गहतराज निस्किएर जान्छन्, केहीबेरपछि आगो लगाएर नेपाल निस्किएर हिँडेको देखिन्छ,’ एसपी थापाले भने ।

आगलागीबाट सपिङ सेन्टरको वाइन, ग्रोसरी र कस्मेटिक सप पूर्णरुपमा जलेर नष्ट भयो । सेन्टरका सञ्चालक गहतराजले विद्युत सर्ट भएर आगो लागेको बताएका थिए ।

तर बीमा रकम पाउने उद्देश्यका साथ आगो लगाएको खुलेपछि प्रहरीले गहतराज र नेपाल दुवैलाई नियन्त्रणमा लिएको छ । उनीहरु दुवै जनालाई आपराधिक उपद्रव मुद्दा चलाएर जिल्ला अदालतमा ७ दिनको म्याद थप गरिएको छ ।

यो कसुरमा २ देखि ५ वर्षसम्म कैद र २० हजारदेखि ५० हजारसम्म जरिवाना हुनसक्छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?