+
+

सुदूरपश्चिममा शाहको दोस्रो इनिङ्स

मुख्यमन्त्रीको स्वभाविक दाबेदार शाह नै थिए । तर यो पटक उनलाई नेताहरुले सहजै स्वीकार गरेनन् । प्रकाशबहादुर देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्ट मुख्यमन्त्री बन्ने दौडमा आए ।

जनक विष्ट जनक विष्ट
२०८१ साउन २० गते २१:४०

२० साउन, धनगढी । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार साँझ नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीबाट हटेको चार महिनामै शाह सत्तामा फर्किएका हुन् । २६ माघ २०७९ मा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा गठबन्धन फेरिएपछि शाह पनि अठ्यारोमा परे ।

माओवादीले समर्थन फिर्ता लिएपछि उनले नाउपा र साना दलको समर्थनमा सरकार जोगाउन खोजे । एकपछि अर्को प्रयास असफल भएपछि २२ चैत २०८० मा राजीनामा दिए । उनलाई ६ वैशाखमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले मुख्यमन्त्री पदमा विस्थापित गरेका थिए ।

तर १७ असारमा कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भयो । त्यहीबेला प्रदेश भागबण्डामा सुदूरपश्चिम पाएकाले सरकारको नेतृत्व कांग्रेसले गर्ने पक्का भयो, तर मुख्यमन्त्री को हुने भन्ने अन्यौल भने यो पटक लामै समय रह्यो ।

देउवाको भतिजाले दिएको चुनौती

मुख्यमन्त्रीको स्वभाविक दाबेदार शाह नै थिए । तर यो पटक उनलाई नेताहरुले सहजै स्वीकार गरेनन् । प्रकाशबहादुर देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्ट मुख्यमन्त्री बन्ने दौडमा आए ।

प्रकाशबहादुर, कांग्रेस सभापति शेरबहादुर देउवाका भजिता हुन् । अघिल्लो पटक आरजु देउवाको जोडबलमा उनी शाह सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।

बहादुरलाई भने पूर्वमन्त्री एनपी साउद लगायतको साथ थियो । विष्ट संस्थापन इतर पक्षका हुन् ।

नेताहरुका अनुसार देउवा र थापाको चर्को लबिङ थियो । उनीहरुले आफ्ना पक्षका सांसदहरुलाई काठमाडौं लगेर सभापति देउवाका साथै अरु नेताहरुलाई भेटाएका थिए ।

देउवाले कसैलाई वचन दिएका थिएनन् । सबैलाई जवाफ थियो, ‘सल्लाह गरौंला नि !’

एक नेताका अनुसार मुख्यमन्त्रीका लागि लबिङ गर्ने अरु नेताहरुसँग भने कांग्रेस सभापति देउवाले ‘संसदीय दलमा चुनाव गराइदिन्छु, जो जित्दा उसलाई मुख्यमन्त्री बनाइदिन्छु’ समेत भनेका थिए । त्यसको संकेत प्रकाश भएको धेरैलाई लागेको थियो ।

संसदीय दलका नेता शाह निकट नेताहरु पनि यो पटक देउवा नै मुख्यमन्त्री बन्ने बताउन थालेका थिए । तर आइतबार उनले संसदीय दलका नेता शाहलाई नै अगाडि सारे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने लिखित सहमति भएको स्मरण गर्दै कांग्रेस एक केन्द्रीय सदस्य भन्छन्, ‘अहिले संसदीय दलभन्दा बाहिरबाट मुख्यमन्त्री बनाउन भोलि आफैंलाई अप्ठ्यारो पर्छ भन्ने उहाँले बुझ्नुभएको छ ।’

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक बिक्रम धामी भने दलको नेता फेरेर अर्को व्यक्तिलाई मुख्यमन्त्री बनाउँदा परम्परा बिग्रिने र गलत अभ्यास अरु ठाउँमा समेत हुने जोखिमका कारण अहिलेको निर्णय लिइएको बताउँछन् ।

‘दलको नेता पनि परिवर्तन गर्दा परम्परा बिग्रिने, यो कुरा रोगका रुपमा स्थापित भएर अरु प्रदेशमा फैलिने जोखिम थियो । त्यसैले अहिलेको दल नेता परिवर्तन नगर्ने र उनैलाई मुख्यमन्त्री बनाउने कुरा भएको हो’, धामीले अनलाइनखबरसँग भने ।

कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर भने शाहले राम्रोसँग काम गर्न नपाएकाले पार्टी नेतृत्वले उनैलाई पठाएर उपयुक्त निर्णय लिएको बताउँछन् ।

‘उहाँ (शाह) एकपटक मुख्यमन्त्री भइसकेको हुनाले अरुले पनि आकांक्षा राख्नु अन्यथा होइन’, बलायरले अनलाइनखबरसँग भने, ‘सभापतिज्यू पार्टी विधानअनुसार दलको नेतालाई नै मुख्यमन्त्री बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो ।’

अन्य प्रदेशमा पनि दलको नेता नै मुख्यमन्त्री भएकाले सुदूरपश्चिममा त्यही भएको उने बताए ।

मुख्यमन्त्री शाह पनि अन्य प्रदेश सभा सदस्यको आकांक्षा राख्नुलाई स्वभाविक रुपमा लिएको बताए । ‘हाम्रा १८ जना प्रदेश सभा सदस्यले नै आकांक्षा राख्नुमा अन्यथा मान्नु हुँदैन’, शाहले अनलाइनखबरसँग भने, ‘अन्तिममा सबैबीच एकता र सहमति भएर सर्वसम्मत निर्णय गरेर हामी अघि बढेका हौं । सबैलाई विश्वासमा लिएर काम गर्छु ।’

मुख्यमन्त्री शाहले शपथ लिन बाँकी छ । सुरुमै मन्त्रिपरिषदलाई पूर्णतालाई दिने गरी छलफल अघि बढाएका कारण मुख्यमन्त्रीको शपथ ग्रहण केही ढिला हुनसक्ने नेताहरु बताउँछन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?