+
+

इरानको डिफेन्स र माइन्डसेट सामु जवाफविहीन नेपाल

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ साउन २० गते २१:३५

२० साउन, काठमाडौं । घरेलु टोली नेपाल काभा नेसन्स लिग २०२४ मा आइतबार इरानसँग ३–२ को सेटमा पराजित भयो ।

दशरथ रंगशालास्थित भलिबल कभर्डहलमा भएको खेलमा नेपाल १६–२५, २५–१६, २३–२५, २५–१५ र १५–१३ ले पराजित हुन पुग्यो । शनिबार मात्रै आफ्नो इतिहासमा पहिलो पटक भारतलाई हराएको नेपालले आइतबार पहिलो सेट राम्रो गर्न सकेन ।

नेपालको सुरुवात हेर्दा इरानलाई सहज रुपमा लिएको जस्तो देखिन्थ्यो । पहिलो सेट हारेपछि दोस्रो सेटमा नेपालले शानदार पुनरागमन गर्दै ७–० को अवस्था बनाएको थियो । त्यसैले दोस्रो सेटमा जित निकाल्न नेपाललाई खासै कठिन देखिएन ।

तेस्रो सेटमा पनि नेपालले उत्कृष्ट सुरुवात गर्नेक्रममा ६–२ को अवस्थामा थियो । जुन अवस्थामा इरानले टाइम आउट लिएको थियो । त्यसपछि इरानले खेलमा पुनरागमन गर्दै ८–८ मा बराबरी गर्‍यो ।

त्यसपछि नेपाललाई पछि पार्दै १०–८ ले अघि बढ्यो । त्यसपछि उषा भण्डारीको स्पाइक र कप्तान अरुणा शाहीको चलाखीपूर्ण प्लेसमेन्टमा नेपालले १०–१० बराबरी गर्‍यो । लगातार ६ अंक जोडेपछि नेपाल एक समय १४–१० को बलियो अवस्थामा थियो । त्यसपछि इरानले लगातार ५ अंक जोडेपछि खेल रोचक मोडमा पुगेको थियो ।

आइतबारको खेलमा इरानको डिफेन्स र मानसिक खेल उत्कृष्ट थियो । डिफेन्समा प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट टोली इराननै देखिएको छ । धेरैजसो खेलाडीको २० वर्ष उमेर आसपास छ र फिटनेस पनि उत्तिकै राम्रो छ ।

त्यसपछि दुबै टिमले निरन्तर अंक जोड्दै जाँदा खेल २१–२१ को अवस्थामा थियो । बराबरी अवस्थामा पुगेपछि इरानले नेपालको मोमेन्ट्स ब्रेक गर्न टाइम आउट लियो । उक्त निर्णय इरानको जितको आधार बन्यो । जर्सी नम्बर ७७ की मसोमेह घदामीले दुई उत्कृष्ट स्पाइकमा अंक बट्ल्दै इरानको जितको आधार तयार पारेकी थिइन् । दोस्रो स्पाइकपछि उनले गरेको सेलेब्रेसन हेर्न लायक थियो ।

उषा भण्डारीले स्पाइकबाट अंक जोडेपछि तेस्रो सेट पनि नेपालले जित्ने आशा जीवितै थियो । नेपाली स्पाइकरको बललाई निरन्तर डिफेन्स गरेको इरानले सुमित्रा रेग्मीको क्वीक स्पाइकलाई ब्लक गरेपछि २४–२२ को अवस्थामा खेल इरानको पक्षमा पुग्यो ।

उषाले दोस्रो पटक चलाखीपूर्वक विपक्षी कोर्टमा बल खसाल्दै २३–२४ को अवस्थामा पुर्‍याइन् । सफिया पुनको स्पाइक रोक्दै सलिना श्रेष्ठलाई बल मिस गराएपछि इरानले तेस्रो सेट २५–२३ ले जित्यो ।

जित्नैपर्ने चौथो सेट नेपालले २५–१५ को स्थितिमा सहजै जित्यो । निर्णायक पाँचौं सेट अघि इरानकी प्रशिक्षकले आफ्ना खेलाडीलाई ब्रेक समयमा दिएको मुख्य सन्देश नै दिमाग लगाएर खेल्ने थियो ।

निर्णायक पाँचौं सेटमा नेपाल एक समय ४–२ ले अघि थियो । तर इरानले खेलमा पुनरागमन गर्दै लगातार तीन अंक लिएपछि ५–५ को बराबरी भयो । त्यसपछि इरानले दुई अंक लगातार थप्यो । नेपालले पाँचौं सेटमा ५–७ को अवस्थामा नै आफ्नो दुबै टाइम आउट सकेको थियो ।

इरानले ८–६ मा कोर्ट परिवर्तन गरेको थियो । नेपाली खेलाडीले निरन्तर स्पाइक हानेका थिए । तर त्यतिनै राम्रो डिफेन्स इरानी खेलाडीले गरे । अनि शक्तिशाली स्पाइक भन्दा पनि अंक जोड्नमा ध्यान दिए ।

कोर्टको हरेक भागमा उनीहरुले खेलको सुरुवात देखिनै शत प्रतिशत दिएका थिए । पुन मसोमेहले स्पाइकमा अंक जोडेपछि इरान ११–७ को बलियो अवस्थामा पुग्यो । १२–९ को अवस्थामा ३ अंकको अग्रता लिएपनि इरानले टाइम आउट लिँदै खेलाडीलाई सम्झाएको थियो ।

सुमित्राको ब्लक र उषाको स्पाइकमा उक्त टाइम आउटपछि नेपाल लगातार दुई अंक जोड्दा ११–१२ को अवस्थामा थियो । त्यसपछि नेपालको मोमेन्ट ब्रेक लगाउन इरानले टाइम आउट लिएको थियो ।

तर कप्तान अरुणाले सर्भिस आउट गरेपछि नेपाल ११–१३ को अवस्थामा थियो । सरस्वती चौधरीले ब्लक आउटमा अंक जोडेपछि खेल १२–१३ को रोचक अवस्थामा पुगेको थियो । इरानकी सादबले क्वीक स्पाइकमा अंक जोड्दै म्याच प्वाइन्टमा लगिन् । त्यसपछि सरस्वतीको उत्कृष्ट स्पाइकमा खेल १३–१४ को अवस्थामा थियो ।

निर्णायक बराबरी प्वाइन्ट गराउन निरुताको शक्तिशाली स्पाइक इरानको डिफेन्स, त्यसपछि सरस्वती चौधरीको लगातार दुई स्पाइक पनि इरानले बचायो । पुन निरुताको स्पाइक इरानी डिफेन्सले असफल पार्‍यो । त्यसपछि सरस्वती चौधरीले प्लेसमेन्ट गर्न खोज्दा पुन बचाए, निरुताको स्पाइक ब्लक गर्दै इरानले आएको सहज बललाई पहिलो स्पाइकरको पछाडि खसाल्दै जित हात पार्‍यो ।

त्यसपछि इरानी खेलाडीले मैदानमै लडेर सेलेबेस्रन गरे । इरानको जितको मुख्य आधार नै डिफेन्स र माइन्ड सेट थियो । अनि युवा खेलाडीको शतप्रतिशत प्रदर्शन र हार नमान्ने सोच ।

सुरुवातमै रिसिभ नभएपछि टोली आत्तिएको कप्तान अरुणा बताउँछिन् । ‘खेलमा रिसिभ महत्वपूर्ण हुन्छ । सुरुवातमै रिसिभ कन्ट्रोल गर्न नसकिएपछि आत्तिए । रिसिभ राम्रो भएपछि स्पाइक राम्रो हुन्छ । रिसिभ कमजोर गरेर सहज दिँदा उहाँहरुले पावरफुल स्पाइक गर्नुभयो’, उनले भनिन् ।

अन्तिममा नेपाली टिमको रिसिभ र स्पाइक राम्रो भएको तर इरानले डिफेन्स गरेको शाहीले बताइन् । ‘उहाँहरुले डिफेन्स यति राम्रो गर्नुभयो र सबै बल लिएपछि गाह्रो भयो’, उनले भनिन् ।

इरानविरुद्धको खेल जितेको भए नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा चौथो स्थानमा रहेको टिम प्रतिस्पर्धा गर्न पाउँथ्यो । त्यो दबाबले पनि प्रदर्शन राम्रो नभएको कप्तन अरुणा बताउँछिन् ।

मुख्य प्रशिक्षक जगदिश भट्टले पनि इरानको डिफेन्स लाइन र स्पाइक उत्कृष्ट देखिएको बताए । ‘हाम्रो डिफेन्समा अलिकति कमजोरी नै रह्यो । डिफेन्स कमजोर भएका कारण ब्लक त्यति राम्रो भएन । त्यसको कारण हामी लुज भयौं । हामीले सर्भिसमा धेरै गल्ती गर्‍यौं र भनेको ठाउँमा पनि हान्न सकेनौं ।’

शनिबार भारतलाई जितेपछि इरानलाई जित्नैपर्छ भन्ने दबाब भएको पनि भट्टले बताए । ‘तेस्रो सेटमा कमब्याक गर्न नसक्नु हाम्रो हार हो । आज भएको कमीकमजोरी सेमिफाइनलमा सुधार गर्दै फाइनलमा राम्रो गर्दै ट्रफी उचाल्न प्रयास गर्छौं’, उनले भने ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?