+

जारको पानी परिवर्तन गर्ने बित्तिकै हैजा !

२०८१ साउन  २१ गते १६:०५ २०८१ साउन २१ गते १६:०५
जारको पानी परिवर्तन गर्ने बित्तिकै हैजा !

केही दिनअघि हैजाका एक बिरामीसँग कुराकानी गर्दै थिएँ । आफूले सधैं प्रयोग गर्दै आइरहेको जारको पानी ढुवानी गर्ने व्यक्ति केही दिनका लागि आफ्नो गाउँ जाँदा फरक जारको पानी प्रयोग गरेको अनि झाडापखाला भई अस्पताल भर्ना हुनुपरेको उनले सुनाएका थिए ।

नेपालमा हैजा मुख्यत: पानीबाट फैलिने गरेको विगतको अनुभव र परीक्षणले देखाउँछ । यद्यपि संक्रमित खानेकुरा वा काँचै खाने तरकारी वा फलफूललाई हैजा संक्रमित पानीले धोएर खाँदा पनि हैजाको जोखिम हुने गर्५ । हाल नेपालमा हैजा दिनानुदिन बढ्दो छ ।

यो लेख तयार पार्दै गर्दा नेपालभर २७ जनामा हैजा पुष्टि भएको अधिकारिक तथ्यांक सार्वजनिक भएको छ । संख्या मात्र नभई यसले क्षेत्र/भूगोल पनि विस्तार गर्दै गइरहेको देखिन्छ । सुरुमा काठमाडौंमा देखिएको हैजा धनगढी हुँदै पछिल्लो समयमा प्युठानमा पनि देखिएको भनिएको छ । अझ भारी वर्षा हुँदा हैजा फैलिने क्रमले निरन्तरता र सम्भवत: तीव्रता पनि पाइरहेको देखिन्छ ।

नेपालमा हैजा नयाँ रोग होइन । यसको उपस्थिति शताब्दीऔं अगाडिदेखि रहँदै आइरहेको छ । तर आजको मितिसम्म पनि यसको जोखिम/उपस्थिति रहिरहनु भने विडम्बना मान्न सकिन्छ । विश्वका धेरै देशमा हैजा इतिहासमा सीमित भइसकेको अवस्था छ ।

हाल म कार्यरत अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सुरुमा ‘कलेरा अस्पताल’को नाममा वि. सं. १९९० मा स्थापित भएको हो । एक दशकअघिसम्म पनि अस्पतालमा हैजाको प्रकोप व्यापक देखिन्थ्यो । पछिल्लो पटक यस अस्पतालमा सन् २०१० मा हैजाका बिरामीको व्यापक उपचार भएको थियो । तर दुर्भाग्यवश सोही समयमा हाइटीमा पनि हैजा फैलिंदा सो महामारीको स्रोतको आक्षेप नेपालले खेप्नु परेको थियो । यो आरोपको खण्डन मैले वैज्ञानिक लेखहरु मार्फत गरेको पनि थिएँ । तर पनि नेपालमा हैजा देखिने र यसबाट मृत्यु हुने गतिमा भने पूर्ण ब्रेक लगाउन सकिएको छैन ।

पछिल्लो समय सन् २०२१ मा कपिलवस्तुका केही गाउँमा हैजा फैलिंदा केहीको उपचारमा ढिलाइ भई मृत्यु हुन पुगेका थिए । हाल नेपाल सरकारको कोसिस/प्रयास हैजालाई ‘शून्य मृत्युदर’ राख्नु देखिन्छ ।

हैजा एक उच्च संक्रामक तथा घातक ब्याक्टेरिया हो । कडा हैजा देखिएको केही घण्टाभित्रै उपचार नपाए बिरामीको मृत्यु समेत हुनसक्छ । संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र लक्षणहरु देखिने गर्छ । चौलानी पानी जस्तो दूधिलो पातलो दिसा तारन्तार हुनु, बान्ता हुनु, मांसपेशी (खासगरी पिडुँलाको) बाँउडिनु, बेचैनी हुनु हैजामा देखिने प्रारम्भिक लक्षण हुन् । मैले काम गर्ने अस्पतालमा हालै हैजा पुष्टि भएका बिरामीमा पनि चौलानी पानी जस्तो दूधिलो पातलो दिसा तारन्तार भएर भर्ना भएका थिए । रक्तचाप कम हुने, मुटुको गतिमा तीव्रता आउने, मुख सुक्खा हुने जस्ता समस्या देखिंदै जानेछ । उपचार समयमा नै नगरे बिरामीको मृत्यु समेत हुनसक्छ ।

कडा हैजा १० संक्रमितमध्ये एक वा दुई जनामा मात्र देखिने गर्छ । तर मध्यम वा लक्षणविहीन संक्रमितले पनि १० दिनसम्म हैजाको जीवाणु दिसा मार्फत निकाल्ने भएकाले फैलाउने जोखिम भने हुन्छ ।

हैजा फैलिनबाट रोक्न सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र बजारमा उपलब्ध पानीको नियमित अनुगमन गर्नुपर्ने हुन्छ । धाराको  पानी होस् वा जारको पानी हामीले पिउनु भन्दा अगाडि पिउनयोग्य छ कि छैन भनेर सुनिश्चित गर्न अति आवश्यक हुन्छ । माथि उल्लेखित बिरामीले आफूले पिउने परिवर्तित जारको पानीमा ध्यान नदिंदा संक्रमित भई बिरामी हुनुपरेको थियो । झण्डै एक दशकअघि नेपालमा पहिलो पटक जारको पानी (उत्पादन गर्ने कम्पनी थाहा नभएको) पिउँदा हैजा फैलिएको कुरा मैले सार्वजनिक गर्दा धेरैले विश्वास गरेका थिएनन् । यसको पुष्टि हुन केही वर्ष कुर्नुपरेको थियो ।

केही वर्षअघि ललितपुरमा हैजा देखिंदा जारको पानीमा जीवाणु पत्ता लागेको थियो । सो जारको पानी बिक्री गर्नेलाई दण्डित समेत गरिएको थियो । धेरै संक्रमितहरुमा लक्षणहरु कि त मध्यम वा सामान्य हुने गर्छन् कि लक्षणविहीन हुने गर्छ । तर त्यस्ता संक्रमितहरुले दिसा मार्फत हैजाको ब्याक्टेरिया भने फैलाइरहेको हुन्छ । संक्रमित व्यक्तिले शौच गरिसकेपछि राम्रोसँग साबुनपानीले हात नधोएमा हैजा फैलिने गर्छ । अर्को मुख्य कारण भनेको व्यावसायिक पानीको अनुगम नहुनु वा फितलो हुनु हो । कम्तीमा पनि मनसुन सिजन वा हैजा/झाडापखालाले प्रकोपको रुप लिएको अवस्थामा द्रुत अनुगमनलाई नियमित र कडाइ गर्न जरुरी हुन्छ ।

हैजाको उपचार छ । समयमा नै अस्पताल पुगेर उपचार गरे बिरामी पूर्ण रुपमा निको पनि हुन्छ । तर उपचारमा विशेषगरी कडा हैजामा ढिलासुस्ती गरिएमा भने मृत्यु हुने जोखिम अत्यधिक बढेर जान्छ । जस्तै- सन् २०२१ मा नवलपरासीका केही गाउँमा हैजा फैलिंदा समयमा उपचार नगर्नाले वा गर्न नपाउँदा झन्डै आधा दर्जन भन्दा बढीले मृत्युवरण गर्नुपरेको थियो ।

त्यसैले हाल हैजा सहर केन्द्रित मात्र नभई गाउँघरतिर (हाल प्युठानमा पनि देखिएको) पनि देखिंदै छ, जुन चिन्ताको विषय हो । त्यस्ता ठाउँमा भौगोलिक विकटताको कारणले समयमा अस्पताल पुग्न नसक्नाले मृत्यु हुने सम्भावना अत्यधिक भएको देखिन्छ । विगतको अनुभवले पनि सो सम्भावना देखाउँछ । हैजा विरुद्ध खोप पनि उपलब्ध छ । यस्ता खोप विशेषगरी भौगोलिक रुपमा विकट र स्वास्थ केन्द्र भन्दा टाढा रहेका गाउँघरतिर प्रयोग गर्न सकिए बढी उपलब्धिमूलक हुने देखिन्छ ।

हैजा खासगरी पानीको मध्यमबाट फैलिने गरेको छ । त्यसैले तपाईंले पिउने पानी कतिको सुरक्षित छ ? सोच्नु भएको छ ?

डा. शेरबहादुर पुन संक्रामक रोग हैजा
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय