+
+

मंसिर १९ मा नारायणगोपालको संस्मरण, डायरी र चिठी संगृहीत पुस्तक आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १६:२१

काठमाडौं । स्वरसम्राट नारायणगोपालका डायरी, संस्मरण र चिठीहरूको पुस्तक प्रकाशन हुने भएको छ । नारायणगोपालको निधनको ३४ वर्षपछि उनकै निवासमा प्राप्त भएका ती सामग्रीलाई पुस्तकको रूपमा प्रकाशन गर्न लागिएको हो ।

सोमबार नारायणगोपाल संगीत कोषका कार्यकारी अध्यक्ष दीपक केसीले नारायणगोपालबारे खोज-अनुसन्धान गर्दा यी सामग्रीहरू भेटिएको बताए । कोषका कार्यकारी अध्यक्ष केसी र बुकहिलबीच सम्झौतामा हस्ताक्षर गर्दै यसबारे जानकारी दिइएको हो ।

‘नारायणगोपाल मार्ग र चोकको नाम पनि मैले नै राख्ने सौभाग्य पाएँ । पछि शालिक पनि मेरै सक्रियमा स्थापना भयो । अहिले भवन पनि मेरै सक्रियतामा बन्दैछ,’ उनले भने, ‘उहाँका संस्मरण र चिठीहरूको पुस्तक पनि मेरै खोज-अनुसन्धानमा प्रकाशन गर्न लेखेको रैछ ।’

ती सामग्रीलाई प्रकाशक बुकहिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्कालाई हस्तान्तरण गरिएको छ ।

नारायणगोपालकी श्रीमती पेमला गुरुवाचार्यको निधन भएको करिब दुई दशकपछि भेटिएका ती डायरी र चिठीहरूले २०१५ देखि २०३५ सालसम्मको नारायणगोपालको व्यक्तिगत जीवनका साथै संगीत जीवन र नेपालको सामाजिक-राजनीतिक अवस्थाबारे उनका अनुभवहरूलाई पाठकमाझ पुर्‍याउनेछन् ।

नारायणगोपाल संगीत कोषसँगको सहकार्यमा बुकहिलले प्रकाशन गर्न लागेको यो पुस्तकमा उनका जीवनका केही आश्चर्यजनक रहस्य समेत समावेश हुनेछन् ।

साथै, आजसम्म सार्वजनिक नभएका तस्वीरहरू पनि सो पुस्तकमा समावेश हुनेछन् । पुस्तकलाई प्रथम पुरुष शैलीमै प्रकाशन गरिनेछ । ‘भूपेन्द्रजी रेडियोकर्मीका साथै संगीतकर्मीका मर्म बुझ्ने पनि हुनुहुन्छ । साथै पत्रपत्रिकामा नारायणगोपालबारे लेख लेख्नुभयो । त्यसैले यस पुस्तकको प्रकाशनमा उहाँले जत्तिको न्याय अरूले गर्न नसक्ने ठानेर हामीले उहाँलाई नै प्रकाशनका लागि अनुरोध गरेका हौं,’ अध्यक्ष केसीले भने ।

केसीकै नेतृत्वमा नारायणगोपालको सपना ‘नारायण-पेमला गीत गंगा’ भवन निर्माण भइरहेको छ र सो भवनमा एउटा सुविधासम्पन्न रेकर्डिङ स्टुडियो पनि बन्दैछ । साथै, सो भवनमै खानाका सौखिन नारायणगोपालका मनपर्ने परिकारको रेस्टुरेन्ट सञ्चालन गर्ने लक्ष्य पनि रहेको केसीले जानकारी दिए ।

नारायणगोपालको इच्छा बमोजिम वाद्यवादनमा नयाँ जनशक्ति उत्पादन गर्ने उद्देश्यले लामो समयदेखि नारायणगोपाल संगीत कोषका संगीत निर्देशक एवं भ्वायलिनवादक राजकुमार श्रेष्ठले नयाँ विद्यार्थीलाई प्रशिक्षण दिंदै आएका छन् ।

पुस्तक आगामी मंसिर १९ गते नारायणगोपाल स्मृति दिवसका दिन लोकार्पण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?