+
+
यात्रा संस्मरण :

मानसरोवर यात्राको ९ दिन

गंगा रिमाल गंगा रिमाल
२०८१ साउन २१ गते १७:०७

मानसरोवर, कैलाशको यात्रा मेरो लागि एउटा सपना थियो तीन वर्षअघिसम्म । यही साउन महिनामा यो यात्रा पूरा भएको छ, अर्थात् सपना साकार भएको छ ।

यात्राको पहिलो दिन थियो साउन ३ गते । रसुवागढी केरुङ नाका हुँदै अध्यागमनको प्रक्रिया सकेर चीन प्रस्थान गरियो । चीन जानुको प्रमुख उद्देश्य मानसरोवर ताल र कैलाश पर्वत परिक्रमा (कोरा) गर्नुथियो । केरुङ्ग नाकाबाट २५ कि.मि. को दूरीमा रहेको केरुङ्ग बजारमा बास बस्यौं । सानो र सुन्दर केरुङ्ग बजार, जहाँ रसुवाबाट गएर बसोबास गरेका र व्यवसाय गरेका नेपालीहरू उल्लेख्य रूपमा भेट्न सकिन्छ ।

दोस्रो दिन केरुङ्ग बजारबाट १७० कि.मि. को बस यात्रापछि सागा बजार (४,३०० मिटर) पुगियो । बाटोमा मनमोहक केरुङ्ग झर्नासँग रमाइलो गरेर बाटोभरि प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ब्रह्मपुत्र नदीको किनारमा अवस्थित सुन्दर शहर सागामा बास बस्यौं ।

तेस्रो दिन बिहान सबेरै सागाबाट मानसरोवरका लागि हिंड्यौं । निउटोङवा, फयाङ, मायुमाला, होर्छु हुँदै हामी मानसरोवर (४६०० मि.) पुग्यौं । नीलो आकाश, फुस्रा फाँट, काला पहाड, चौंरी, च्याङ्ग्रा अवलोकन गर्दै अगाडि बढेको हाम्रा लागि मानसरोवर निकै सुन्दर र सुरम्य थियो । मानसरोवर स्वच्छ पानी भएको पवित्र ताल मानिन्छ । मानसरोवर ताल कुनै समय भगवान् विष्णुको विश्रामस्थल थियो भन्ने धार्मिक मान्यता छ । मानसरोवर पुग्ने वित्तिकै चिनियाँ गाइडको सहयोगमा हामीले तालमा पसेर हातमुख धुने तथा पानीसँग रमाउने काम गर्‍यौं । सुन्दर दृश्य तथा रमाइलो पललाई मोबाइलको क्यामरामा फोटो र भिडियोका रूपमा कैद गरियो । त्यहाँबाट कैलाश पर्वत स्पष्ट देख्न सकिन्थ्यो । नीलो आकाश त्यससँगै मानसरोवर तालको नीलो पानी, चर्काे घाम, चिसो हावा त्यो माहोल अत्यन्तै रमाइलो थियो । यात्राको थकान भुलेर सबै यात्रीहरू पानीमा खेल्दै तस्वीर कैद गर्न र पवित्र जल भर्न व्यस्त भए । करिब अढाइ घन्टा लगाएर बसबाटै हामीले तालको परिक्रमा गर्‍यौं । यसै क्रममा राक्षस तालको पनि अवलोकन गरियो । सूर्यास्त हुनै लाग्दा राक्षस तालमा देखिएको दृश्य मनमोहक थियो । मानसरोवरमा च्यू गुम्बा नजिकैको धर्मशालामा हामी बास बस्यौं ।

चौथो दिन गुरुपूर्णिमा थियो । बिहान सबेरै सबै तीर्थयात्रीहरूले पवित्र तालमा गएर स्नान गरे । सुरक्षाका कारण तालमा डुबुल्की मार्न भने निषेध गरिएको रहेछ । तर उज्यालो नहुँदै तोकिएको स्थान भन्दा पर पुगेर केही यात्रुले डुबुल्की पनि मारे । मानसरोवर तालमा ब्रह्ममुहूर्तको समयमा स्नान गर्नाले पाप पखालिने धार्मिक मान्यता छ । यो तालको किनारमा भक्तजनहरूले रुद्री पूजा, लाखबत्ती बाल्ने, पितृलाई तर्पण दिने कार्य गर्दछन् । पवित्र मानिने यस तालको पानी गंगाजलको रूपमा भक्तजनले ल्याउने गर्दछन् । यो स्थान हिन्दु, बौद्ध तथा जैन धर्मावलम्बीहरूको पवित्र धार्मिक स्थल मानिन्छ । हामीले च्यू गुुम्बाको पनि अवलोकन गर्‍यौं । जहाँबाट मानसरोवर ताल र पूरै मानसरोवर गज्जबको देखियो । चिया नास्ता पछि हामी तार्चेनतर्फ लाग्यौं ।

तार्चेनमा वासस्थान पक्का गरेर इच्छुक यात्रीहरू ८५ किमि टाढा तीर्थपुरीको (४३१० मि.) भ्रमणका लागि निस्क्यौं । त्यहाँ गुफा, पुरानो गुम्बा र प्राकृतिक रूपमा रहेको तातोपानी अवलोकन गरियो । यात्रा गर्दा थकित गोडा तातोपानीमा डुबुल्की मारेर सबैले केही राहत महसुस गर्‍यौं । धार्मिक ग्रन्थ अनुसार तीर्थपुरी भगवान् शिवले भष्मासुरलाई कसैको पनि शिरमा हात राखी भष्म गर्न सक्ने वरदान दिएपछि भष्मासुरले स्वयं भगवान् शिवलाई नै भष्म गर्न आइलागेको ठाउँ हो । भगवान् विष्णुले मोहिनी रूप धारण गरी भष्मासुरको बध गर्नुभएको त्यस ठाउँमा अहिले पनि खरानीको पहाड रहेको छ भन्ने धार्मिक मान्यता पाइन्छ । हामीले पनि फुस्रो पहाड, गुफा र गुम्बाको अवलोकन गर्‍यौं ।

पाँचौं दिन तार्चेनदेखि करिब आधा घन्टा बसको यात्रापछि हामी यमद्वार पुग्यौं । यमद्वारबाट कैलाश परिक्रमाको पैदल यात्रा शुरू हुन्छ । यमद्वारलाई स्वर्ग जाने द्वार पनि भनिंदो रहेछ । पैदल यात्रा गर्न नसक्नेहरू यमद्वार तीन पटक परिक्रमा गर्दा पूर्ण कैलाश परिक्रमा गरेको फल प्राप्त हुन्छ भन्ने जनविश्वास रहेछ । पैदल यात्रा गर्न नसक्ने तर परिक्रमा गर्न चाहनेहरूका लागि घोडाको व्यवस्था पनि रहेछ । पहिलो दिनको पैदल यात्रामा कैलाश पर्वतको दक्षिणी र पश्चिमी भागहरू स्पष्ट देख्न सकिन्छ । यमद्वारदेखि डिराफुकसम्म १५ किलोमिटर (४,९५० मि.) पैदल हिंडेपछि हामीले डिराफुकमा रहेको गुम्बाको अवलोकन गर्‍यौं । कैलाशको चरण स्पर्श गर्न जानेहरूले थप ४ कि.मि. हिंडेर जानुपर्दो रहेछ । पाँचौं दिनको बास यहीं होटलमा रह्यो ।

छैटौं दिन बिहान ४ बजे नै नास्ता गरेर हामी डिराफुकबाट उकालो लाग्यौं । यो पैदल यात्रा कठिन थियो । कैलाश परिक्रमा गर्दा यो दिनको यात्रा सबैभन्दा कठिन मानिन्छ । उकालो चढ्दै गर्दा कैलाश पर्वतको उत्तरपश्चिम मोहडामा सूर्याेदयको मनोरम दृश्यले मन पुलकित बनायो । डोल्माला पासको उचाइ (५,६३० मि.), तातो घाम, चिसो तेज सिरेटोका कारण धेरै यात्रुहरूलाई यस उकालोमा कठिनाइ हुने रहेछ । मैले पनि यही उकालोमा अक्सिजनको सहारा लिएँ । उचाइमा पुगेर थोरै ओरालो झरेपछि गौरीकुण्ड पुगिन्छ । यस कुण्डमा पनि पूजाआजा गर्ने र प्रसादको रूपमा कुण्डको जल ल्याउने गरिन्छ । उकालो चढेको थकानका कारण हामी भने जान सकेनौं । ओरालो झरेपछि ल्हाम–चु खिर नदीको किनारै–किनार हिंड्दै जुटुलफुक आइपुगेर हामी बास बस्यौं ।

सातौं दिन जुटुलफुकबाट करिब ८ किलोमिटर तेर्सो बाटो पैदल यात्रा गरेपछि कोरा सम्पन्न भयो । कोरा सम्पन्न गरेकोमा सबै यात्रुको मुहारमा खुशी छाएको थियो । यही खुशियालीमा सबैले केही थान तस्वीर आफ्नो मोबाइलमा कैद गरे । यहाँबाट बस चढी हामी तार्चेन आइपुग्यौं र कोरा गर्न नजानुभएका साथीहरूको साथमै साँझ सागा आइपुग्यौं । हामीले दिउँसोको खाना बाटोमै खायौं ।

आठौं दिन बिहानको खाजा खाएर हामी सागाबाट केरुङ्गतर्फ लाग्यौं । १७० कि.मि. यात्रा गरेपछि केरुङ्ग बजार आइपुग्यो । छिट्टै आइपुगेकाले केरुङ्ग बजार घुम्ने र आफूलाई आवश्यक सामग्रीहरू किन्ने समय प्रशस्त भयो । बजारमा किनमेल गर्न नेपाली गाइडले पनि सघाए ।

नवौं दिन यात्राको अन्तिम दिन थियो । बिहान सबेरै तयार भएर हामी केरुङ्ग बजारबाट ओरालो झर्‍यौैं । चीन र नेपाल दुवैतर्फको अध्यागमनको प्रक्रिया सकेर हामी रसुवागढी, स्याफ्रुबेसी, धुन्चेहुँदै काठमाडौं आइपुग्यौं । यस यात्राको क्रममा अनुभव गरेका केही मुख्य विषयहरूलाई यसरी प्रस्तुत गरेको छ–

तीर्थयात्रा

हिन्दु धर्मावलम्बीहरूका लागि मानसरोवर, कैलाश यात्रा पर्यटकीय भन्दा पनि धार्मिक दृष्टिकोणले बढी महत्वपूर्ण मानिंदो रहेछ । त्यसैले परिवार सहित तथा श्रीमान्–श्रीमतीहरू यो यात्रा सँगै गर्ने रहेछन् । हामी सँगै गएका प्रायः सबै यात्रुहरू जोडी थिए । आफू एक्लै भएकोमा अलि असहज महसुस भएको थियो मलाई । पूजापाठ गर्ने सम्पूर्ण सामग्री जुटाएर विधिपूर्वक पूजापाठ गर्नमा सबै तल्लीन देखिए । यात्रा सुरु गर्दादेखि यात्रा अवधिभर भजन, कीर्तन गर्दै, ॐ नमः शिवाय जप गर्दै हामी अघि बढ्यौं । कोरा गर्र्दा मैले पनि बारम्बर हर हर महादेव, ॐ नमः शिवायको जप गरिरहें । यसो गर्नुको एउटै उद्देश्य थियो आफ्नो शरीर र मनमा ऊर्जा भर्नु । यसै पनि कैलाश र आसपासको क्षेत्रलाई भगवान् शिवको वासस्थान र अलौलिक शक्तिको प्रवाह रहेको स्थान मानिन्छ । शान्त मनले नियाल्दा अलौकिक शक्तिको प्रवाह महसुस अवश्य गर्न सकिन्छ । एक तिब्बतियन गाइडका अनुसार यस क्षेत्रमा पुराना गुफा रहेको र सयौं वर्षदेखि योगीहरू ध्यान गरेर बसेका छन् । कोरा सम्पन्न नहुुँदै मेरो मनमा विचार आइरहेको थियो अलौकिक कैलाशको दर्शन र कोरा गर्न पाउनु मेरो अहोभाग्य हो ।

नेपाली खाना

मानसरोवर कैलाश यात्रा नेपाली, चिनियाँ तथा विश्वभरका नागरिकहरूको रोजाइ हो । कोही धार्मिक दृष्टिले त कोही पर्यटकीय दृष्टिले यस स्थानको भ्रमण गर्दछन् । अधिकांश नेपाली भक्तजनहरूले ट्राभल कम्पनी मार्फत यो यात्रा तय गर्दछन् । यस यात्राको क्रममा यात्रीहरूलाई होटलमा राखे पनि खानाको व्यवस्था नेपाली गाइड तथा सहयोगीहरू आफैंले तयार गर्ने गर्दारहेछन् । नेपालीहरू नेपाली खाना खान रुचाउने तथा स्वास्थ्य अनुकूल हुने हुनाले आफैं बनाएर खुवाउने गरेको गाइड सोनाम शेर्पा बताउँछन् । बिहान, कफी, चियानास्ता, दिउँसो खाना तथा साँझ मौसम अनुकूल सुप तथा नेपाली खानाको व्यवस्था नेपाली टोलीले गर्ने रहेछन् । यसैगरी बसमा यात्रा गर्दा सहयोगीहरू आफैंले खाना तयार गरी प्याक गर्ने र बाटोमा खाने गरिन्छ । कोराको क्रममा सोही अनुसार लन्च बक्सको व्यवस्था कम्पनीले गर्दाेरहेछ । स्वस्थ, ताजा नेपाली स्वादको खाना, मिठाई भएकाले यात्रा अवधिभर कुनै समस्या नभएको यात्रु मिनु श्रेष्ठले बताइन् । नेपाली गाइड तथा सहयोगीले यात्रुहरूलाई स्वस्थ खाना खुवाउन गरेको मिहिनेत तथा मिजासिलो बोलीले सबैको मन जितेको छ ।

चिनियाँ सुरक्षा

नेपाल र छिमेकी देश चीनको सुरक्षाको स्थिति हेर्न अन्त कतै होइन बोर्डरमा गए छर्लङ्ग भइन्छ । कैलाश यात्राकै क्रममा केरुङ्ग नाका हुँदै जाने आउने गरियो । पुल वारि र पारिको सुरक्षा व्यवस्थामा आकाश–पातालको फरक छ । साँघुरो एउटा कोठामा नेपालतर्फको अध्यागमनमा चेकजाँच हुन्छ भने पुल पारि चरण–चरण गरेर मानिस तथा सामानको चेकजाँच मेसिनबाट गरिन्छ । दलाई लामा समर्थित कुनै कागजात, फोटोको पनि राम्रोसँग चेकजाँच गरिंदो रहेछ । यतिसम्म कि मोबाइलको ग्यालरीसम्म हेर्न भ्याए चिनियाँ प्रहरीले । चीन, एक चीन नीतिमा कटिबद्ध छ । चीनले समग्र सुरक्षा व्यवस्थालाई नै कडाइका साथ लागू गरेको छ । ठाउँ–ठाउँमा हुने प्रहरी चेकिङले पनि त्यो पुष्टि गर्दछ । यतिसम्म कि एउटै कम्पनीका यात्रुहरू पनि तोकिएको बस भन्दा अन्यत्र बसमा बस्न नपाउने । प्रहरी कार्यालय आसपास फोटो लिन पनि मनाही गरेको रहेछ ।

सुरक्षाकै अर्को प्रसंग, आफ्नो देशको सुरक्षा मात्र होइन यात्रीहरूको सुरक्षामा पनि चीन अब्बल रहेछ । अन्तिम दिन केरुङ्ग बजारबाट तल झर्ने क्रममा एउटा प्रहरी पोष्टमा सबै बस रोकिए । कारण बुझ्दै जाँदा केही तल पहिरो खसेर बाटो अवरुद्ध गरेको रहेछ । हामी लगभग दुई घन्टा त्यहाँ रोकियौं । डोजर आएर बाटो सफा गरेपछि मात्र प्रहरीले बस छोड्यो । त्यो पनि प्रहरीको गाडी अघि लागेर मात्र । केही किलोमिटर गुडेपछि फेरि थाहा भयो रातभरको पानीले सडकमा क्षति गरेको रहेछ । यात्रु बस रोकेर यात्रु उतारेर प्रहरीले स्कर्टिङ्ग गरे जस्तै बस र त्यसपछि यात्रुहरू पार लगाए छिटो–छिटो । यात्रु उतार्नुको कारण चाहिं यात्रुको लोडले सडक भासिन सक्थ्यो भन्ने अनुमान मैले लगाएँ । सोही दिन करिब ६०० यात्रुले बोर्डर क्रस गर्ने जानकारी चिनियाँ गाइडले दिएका थिए ।

यहाँ सबैभन्दा राम्रो लागेको पक्ष के भने जोखिम स्थल भन्दा करिब ५-७ किलोमिटर माथिबाट नै सवारी साधन जान रोक थियो । जसले गर्दा भीडभाड विना नै काम गर्न सकियो भने यात्रुहरूलाई पनि त्रास भएन । उनीहरूको तरिका छिटो र व्यवस्थित थियो ।

तस्वीरहरु : कैलाश पर्वत, तीर्थपुरी, गौरीकुण्ड, यमद्वार, केरुङ झरना, तीर्थपुरीको तातोपानी र लेखक गंगा रिमाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?