+
+

बंगलादेश घटना : नेपालमा उच्च सुरक्षा सतर्कता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १७:५१
फाइल तस्वीर

२१ साउन, काठमाडौं । आरक्षणको विरोधमा बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्रीले समेत देश छोडेपछि नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

गृह मन्त्रालयले सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन भन्दै निर्देशन दिएको छ । गृह स्रोतले अनलाइनखबरसँग भन्यो, ‘बंगलादेशको घटनालाई लिएर उच्च सतर्कता अपनाउन निर्देशन दिएका छौं ।’

नेपाल प्रहरीले उच्च सतर्कता अपनाउँदे थप जनशक्ति परिचालन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले बताए । ‘हामीले उच्च सतर्कता अपनाएका छौं । थप जनशक्ति पनि परिचालन गरेका छौं, निगरानी बढाएका छौं,’ प्रवक्ता कार्कीले अनलाइनखबरसँग भने ।

त्यसैगरी सशस्त्र प्रहरी बलले पनि उच्च सतर्कता अपनाएको छ । बिदामा गएकाहरूलाई समेत फिर्ता बोलाउने तयारी भएको सशस्त्र प्रहरीले जनाएको छ । बोर्डर आउट पोस्ट (बीओपी)हरूमा समेत थप जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार प्रत्येक बीओपीमा ५/६ जनाको दरले जनशक्ति थप गरेर परिचालन गरिएको छ । ड्युटीलाई पनि चौबिसै घण्टा बनाइएको उनले बताए ।

विशेषगरी कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशलाई केन्द्रित गरेर जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बंगलादेशमा सरकारी जागिरमा आरक्षण र कोटा प्रणालीको विरोधमा भएको आन्दोलन सोमबार थप हिंसात्मक भएको थियो । बंगलादेशको राजधानी ढाकामा जारी तनावका बीच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेकी छन् ।

बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दलसँग संवाद गरेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?