+
+

ट्याक्सी ड्राइभरसँगको विवादमा जब सांसदकै पीए खुकुरी बोकेर आए

एक हप्तामा काठमाडौंमा खुकुरी प्रहारका ४ घटना

नारायण अधिकारी नारायण अधिकारी
२०८१ साउन २१ गते २०:०२

२१ साउन, काठमाडौं । काठमाडौंमा पछिल्लो एक हप्तामा खुकुरी प्रहारका चारवटा घटना भएका छन् । खुकुरी प्रकारको एउटा घटनामा सांसदका सहयोगी (पीए) समेत संलग्न भएको पाइएको छ ।

म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद खमबहादुर गर्बुजाका पीए पृजेन भट्टचनले सुन्धारामा एक ट्याक्सी चालकलाई खुकुरी प्रहारको प्रयास गरेका छन् ।

१३ साउनको बिहान सवा ८ बजे सुन्धाराको माउन्ट गोर्खा होटल अगाडि ट्याक्सी रोकेको निहुँमा विवाद हुँदा भट्टचनले चालक सन्तोष मगरलाई खुकुरी प्रहारको प्रयास गरेका हुन् ।

ट्याक्सी चालक मगरका अनुसार यात्रु छाडेर फर्कदै गर्दा मोबाइलमा फोन आएपछि साइड लगाएर उनी फोन उठाउन लागेका थिए । त्यही बेला भट्टचनले ‘ओई यो ट्याक्सी हटा, यहाँ रोक्छस् ?’ भन्दै गाली गरेको मगरले बताए । कसलाई गाली गरेको भन्दा आफूलाई दुई मुक्का हानेको उनले बताए । त्यसपछि होटलभित्र प्रवेश गरेका भट्टचनले पत्रिकाले बेरेर खुकुरी लिएर आएका थिए ।

खुकुरी खोस्ने क्रममा ट्याक्सी चालकहरु नरबहादुर श्रेष्ठ र कुमार श्रेष्ठको हात काटिएको छ । त्यसपछि ट्याक्सी चालकहरुले प्रहरी वृत्त जनसेवामा फोन गरेर प्रहरी बोलाई भट्टचन जिम्मा लगाएका थिए । तर प्रहरीले जाहेरी नै दर्ता नगरेको उनीहरुको आरोप छ ।

जनसेवा प्रहरी वृत्तका डीएसपी रुकेश तण्डुकारले सुरुमा घटनाबारे अनविज्ञता प्रकट गरेका थिए । भिडिओ नै सार्वजनिक भएको बताएपछि भने उनले घटना सामान्य भएको दाबी गरे । ‘घटना सामान्य भएकाले जाहेरी दर्ता नगरिएको हो । सम्झाई बुझाई गरेर छाडेका हौं’, डीएसपी तण्डुकारले भने ।

तर कांग्रेसका सांसदको पीए भएकै कारण माथिल्लो निकायबाट प्रहरीमाथि दबाब आएपछि जाहेरी दर्ता नगरिएको प्रहरी स्रोतको दाबी छ ।

भट्टचनले पनि ट्याक्सी चालकसँगको विवादमा आफूले खुकुरी लिएर गएको स्वीकार गरे । ‘आवेगको बेलामा के–के हुने रहेछ, खुकुरी लिएर जान हुन्थेन, त्यस्तै भयो । आफ्नो सुरक्षाका लागि लगिएको हो । कसैलाई आक्रमण गर्न लगिएको होइन’, भट्टचनले अनलाइनखबरसँग भने ।

सुन्धारामा ट्याक्सी चालक र होटल व्यवसायीहरुको विवाद पुरानै हो । भट्टचनले भने, ‘म होटल व्यवसायी संघमा छु । ट्याक्सीवालालाई बारम्बार भन्दा पनि ट्याक्सी पार्किङ गर्ने क्रम रोकिएन । त्यो दिन पहिले उनीहरुले मलाई मुख छाडेका हुन् । त्यसपछि भनाभन भयो ।’

ट्याक्सी चालकहरुले आफूमाथि आक्रमण गर्न खोजेपछि खुकुुरी लिएर गएको भट्टचनको भनाइ छ । ‘ममाथि आक्रमण गर्न खोजेपछि आफ्नो सुरक्षाका लागि त्यस्तो गरेको हो । आवेगको बेलामा त्यस्तो हुने रैछ’, उनले भने ।

खुकुरी प्रहारका अरु ३ घटना

काठमाडौं महानगरपालिका–३१ आलोकनगरमा आइतबार दिउँसो ४ बजेतिर कैलाली धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय मनत केसीमाथि खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहारबाट दाहिने हातका औंलाहरुमा चोट लागेका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले खुकुरी प्रहारमा संलग्नको आरोपमा सिन्धुलीको फिक्कल गाउँपालिका–३ का १८ वर्षीय अनिष मगर, दैलेखको महावु गाउँपालिका–४ का २६ वर्षीय कुमार पण्डित र दार्चुलाको महाकाली नगरपालिका बाँजका १९ वर्षीय प्रेम सिंह महरालाई पक्राउ गरेको छ । सामान्य विवादमा नै खुकुरी प्रहार भएको पाइएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले बताए ।

घटनाको अघिल्लो दिन कुमार र मनोजसँग मनतको सामान्य विवाद भएको थियो । विवादको विषय पनि नराम्रो तरिकाले हेरेकोबाट सुरु भएको थियो । भोलिपल्ट मनोजले अनिषले प्रयोग गर्दै आएको खुकुरी मनतमाथि प्रहार गरेको पाइएको डीएसपी बुढाथोकीले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

१६ साउनमा काठमाडौं महानगरपालिका–१७ ढल्कोस्थित २ नम्बर गल्लीमा ३३ वर्षीय अनित पुजारीको खुकुरी प्रहारबाट हत्या भएको छ ।

पोडेटोलकै ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय बिक्रम पुजारी र २३ वर्षीय अमृत पुजारी घाइते भए । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।

खुकुरी प्रहारमा संलग्नको आरोपमा ४ पुरुष र ३ महिला गरी ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गरेर हत्या हुनुमा पनि खुकरी प्रहारकै अर्को घटना जोडिएको पाइएको छ ।

हत्याको दुई दिनअघि १४ साउनमा पनि ढल्कोमा खुकुरी प्रहार भएको थियो । पोडेटोलस्थित इन्द्रेणी मन्दिरमा पुनर्निर्माणको काम भइरहेको छ । मन्दिरको रेखदेखदेखि निर्माणकार्यमा अनित पुजारी र किरण पुजारी खटिएका थिए ।

१४ साउनमा भने अनितको साटो उनका दाइ बिक्रम र किरण पुनर्निर्माणमा खटिए । त्यही बेला किरणमाथि खुकुरी प्रहार भयो । पुनर्निर्माण भइरहेको मन्दिर कुल्चिएको निहुँमा सामान्य विवाद भएपछि किरणमाथि रोशन बस्नेतले खुकुरी प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ ।

किरणले अनितका दाइ बिक्रमको योजनामा आफूमाथि खुकुरी प्रहार गरेको आशंका गरे । खुकुरी हान्नेलाई प्रहरी वृत्त सोह्रखुट्टेले त्यसबेलै पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

आफ्नो मान्छेलाई प्रहरी लगाएर थुनाएकोदेखि खुकुरी हानेकोसम्म विवादले उग्र रुप लियो । अनि १६ साउनमा दुई समूहबीच भएको झगडामा खुकुरी प्रहार हुँदा अनितको ज्यान गयो ।

प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सत्यनारायण थापाका अनुसार यो घटनामा पक्राउ परेकाहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

यी सबै खुकुरी प्रहारका घटनाहरु योजनाबद्ध भन्दा पनि आवेश प्रेरित रहेको देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

यसअघि असार पहिलो साता ललितपुरमा पनि एक व्यवसायीमाथि खुकुरी प्रहार भएको थियो । गोदावरी नगरपालिका–९ छेडामा जग्गासम्बन्धी विवाद हुँदा व्यवसायी मनोज बानियाँमाथि खुकुरी प्रहार भएको थियो ।

यो घटनामा ८ जनालाई प्रतिवादी बनाइएकोमा ६ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ललितपुरको भैंसेपाटीका बाबा भनेर चिनिने राजेश केसी, धराने भनिने विभाग गुरुङ र दीपक वान्तवा राई पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

त्यसैगरी पक्राउ परेका ललितपुरकै सुरेन्द्र महर्जन र आलिंकन लामिछाने भने ३/३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । प्रवीण महत, सुजन श्रेष्ठ र स्वप्निल भण्डारी भने फरार छन् ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?