+
+

कोशीको संसदीय समितिमा कांग्रेस–एमालेबीच सहमति, राप्रपालाई पनि भाग

हरि अधिकारी हरि अधिकारी
२०८१ साउन २१ गते २०:३४

२१ साउन, विराटनगर । कोशी प्रदेशका संसदीय समितिको नेतृत्व भागबण्डामा प्रदेशसभाका प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् ।

दुई दलको सहमति अनुसार संसदीय समितिमा राप्रपाले पनि भाग पाउनेछ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार आइतबारको छलफलमा नेकपा एमालेले ३ र नेपाली कांग्रेसले दुई वटा समिति सभापति पाउने सहमति भएको छ ।

सातमध्ये एउटा सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले पाउनेछ । एउटा संसदीय समिति सभापति राप्रपालाई छुट्याइएको छ ।

नेकपा एमालेसँग भागबण्डा छलफलमा कांग्रेसले चार मन्त्री, दुई राज्यमन्त्री र तीन संसदीय समिति सभापति दाबी गरेको थियो । १२ साउनमा चार मन्त्रालय लिने टुङ्गो लागेको थियो ।

कांग्रेसले दुई राज्यमन्त्रीमा दाबी गरेको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मात्रै लिन आग्रह गरेका थिए । आइतबार दुई राज्यमन्त्री दिने सहमति गरेका कार्कीले एउटा संसदीय समिति राप्रपालाई दिन प्रस्ताव गर्दा कांग्रेसले सहमति जनाएको छलफलमा सहभागी एक नेताले बताए ।

कोशी प्रदेशसभामा न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन, तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति छ ।

एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले संसदीय समितिको सभापतिमा मोटामोटी सहमति भएको प्रतिक्रिया दिए ।

खाली ४ मन्त्रालय कांग्रेसले लिने

आइतबारको छलफलपछि कांग्रेसले यसअघि माओवादीले छाडेका तीनसहित चारवटा मन्त्रालय लिने सहमति भएको छ ।

माओवादी केन्द्रले छाडेको भौतिक पूर्वाधार, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालयसहित कृषि सहकारी र सामाजिक विकासमध्ये एउटा मन्त्रालय लिन मुख्यमन्त्रीले प्रस्ताव गरेका थिए । सामाजिक विकास मन्त्रालय बाहेक अन्य चार वटा मन्त्रालय मन्त्रीविहीन छ ।

सामाजिक विकास मन्त्रालय दाबी गर्दा मन्त्रीलाई राजीनामा गराउने मुख्यमन्त्रीको तयारी थियो । तर कांग्रेसले खाली रहेका चार वटा मन्त्रालय लिने सहमति गरेको छ ।

‘सरकारमा जाँदा खाली रहेका मन्त्रालय लिने सहमति भएको छ, तर मन्त्रीको विषयमा छलफल जारी छ’, प्रमुख सचेतक तामाङले भने,‘केन्द्रबाट नाम आएपछि सरकारमा सहभागी हुन्छौं ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?