+
+

झरीले काठमाडौं जलमग्न, सवारी आवागमन प्रभावित

सबैभन्दा धेरै वर्षा गोदावरीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १०:४६
स्वयम्भुको सानोभर्‍याङ क्षेत्रका घरमा पसेको भल । फोटो : विरोध त्रिपाठी ।

२२ साउन, काठमाडौं । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भु, कोटेश्वर, केशरमहल लगायतका मुख्य सडक र सहायक सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित भएको छ ।

काठमाडौंको बनस्थली चोकबाट खरिबोटतर्फ जाने सडकमा पनि भेल बगेर आवागमन प्रभावित भएको छ । सो क्षेत्रमा पर्ने मिलिजुली टोल डुबानमान परेको छ ।

स्वयम्भुको सानो भर्‍याङ र ठूलो भर्‍याङ क्षेत्र पनि प्रभावित भएको छ ।

रामशाहपथस्थित सर्वोच्च अदालतको मुख्य गेट अगाडि नै पानी जमेको छ । बबरमहलको वन कार्यालय परिसर पनि जलमग्न छ । वन कार्यालयका केही कर्मचारीहरु हातमा जुत्ता बोकेर कार्यालय पुगेका छन् ।

काठमाडौंको बनस्थली-खरिबोट क्षेत्रतर्फको जलमग्न सडक र बस्ती । फोटो : सुजिना खड्का

काठमाडौंमा ढल निकासको उचित प्रबन्ध नहुँदा सडकहरु जलमग्न हुने गरेका छन् ।

सबैभन्दा धेरै वर्षा गोदावरीमा

हिजोदेखि नै कोशीदेखि लुम्बिनी प्रदेशसम्मका अधिकांश जिल्लामा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा सोमबार अपराह्नदेखि झरी लागेको छ । उपत्यकामा सबैभन्दा धेरै वर्षा ललितपुरको गोदावरीमा भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो ६ घण्टामा गोदावरीमा ८०.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी ललितपुरको लेलेमा ५७.८ मिलिमिटर वर्षा भएको छ ।

सर्वोच्च अदालतको गेटमा जमेको पानी र हातमा जुत्ता बोकेर कार्यालय पुगेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका कर्मचारी

काठमाडौंको धाप ड्याम क्षेत्रमा ४९.८, कपनमा ३९.८, सुन्दरीजलमा ३५.८, बुढानीलकण्ठमा ३१.६ र नैकापमा ३०.८ मिलिमिटर वर्षा भएको छ ।

वर्षाका कारण काठमाडौंको बागमती लगायतका नदी र खोलाहरुमा बाढी आएको छ । हनुमन्ते खोलाको जगाती, खोड्कु खोलाको झरुवा रासी, बागमती नदीको खोकना बाढी मापन केन्द्रमा बाढीको सतह चेतावनीको तहसम्म पुगेको छ । बाढी बढ्दो क्रममा रहेकाले खोला किनार क्षेत्रमा नजान जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

सप्तरीको बलान नदी, चितवनको शक्तिखोर र पूर्वी नवलपरासीको समेरी क्षेत्रमा क्षेत्रमा पनि भारी वर्षा भएको छ ।

वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ र बेनी-जोमसोम सडक अवरुद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?