+
+

वर्षाको असर : कुन राजमार्गको अवस्था कस्तो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते ११:५८

२२ साउन, काठमाडौं । केही समयदेखि मनसुनका कारण परेको वर्षाले विभिन्न प्रदेशका सडकखण्ड अवरुद्ध हुन पुगेका छन् । नेपाल प्रहरीले मंगलबार बिहान बुलेटिन जारी गरेर अविरल वर्षाले बाढी, पहिरो आउँदा विभिन्न ठाउँका मुख्य सडकदेखि सहायक सडक अवरुद्ध भएको जानकारी दिएको हो ।

कोशी प्रदेश

संखुवासभामा बाढीले मकाउ गाउँपालिका–३ मा पर्ने उत्तर दक्षिण कोशी राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । असार ६ गते उक्त राजमार्गमा बाढीले क्षति पुर्‍याएपछि बाटो खुल्न सकेको छैन । प्रहरीका अनुसार उक्त सडक वर्षाभरि सञ्चालनमा आउने अवस्था छैन ।

त्यस्तै, सुनसरी धनसारेमा पहिरो जाँदा बराहक्षेत्र नगरपालिका–१, धनसारेमा पर्ने चतरा–बराह क्षेत्र भित्री सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । आज गएको पहिरोले उक्त सडकखण्ड अवरुद्ध बनेको हो ।

मधेश प्रदेश

महोत्तरीमा बाढीले आउँदा पूर्वपश्चिम राजमार्ग एकतर्फी भएको छ । वर्षाले आज सडकमा क्षति पु¥याउँदा बर्दिबास नगरपालिका–५, माईस्थानमा सडक एकतर्फी सञ्चालन भएको हो ।

बागमती प्रदेश
बाढीले क्षति पुर्‍याउँदा दोलखाको चरिकोट सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ । साउन १३ गते कालिञ्चोक गाउँपालिका–४, झामार्सीमा पर्ने उक्त सडकमा क्षति पु¥याएको थियो । उक्त सडक खुल्न एक महिना लाग्ने भएको छ ।

त्यस्तै, वर्षाले मकवानपुर भिमफेदीमा पहिरो जाँदा कान्तिलोकपथ एकतर्फी सञ्चालनमा आएको छ । भिमफेदी गाउँपालिका–८, कालोपहिरो साउन १३ गते र महादेवटारमा साउन १९ गते गएको पहिरोले सडक आवागमन प्रभावित बनेको हो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका विभिन्न ठाउँमा पहिरो खस्दा कालीगण्डकी करिडोरदेखि अन्य सडक अवरुद्ध बनेको छ । म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरमा आज गएको पहिरोले बेनी–दरबाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ ।

त्यस्तै सोमबारदेखिको वर्षाले म्याग्दीकै रघुगंगा गाउँपालिका १ र २ वडामा आज पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड पनि पूर्ण रुपमा बन्द भएको छ ।

बागलुङको डब्ल्याङमा पहिरो जाँदा कालगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१०, डब्ल्याङमा खसेको पहिरोले करिडोर पूर्ण रुपमा बन्द भएको हो ।

लुम्बिनी प्रदेश

प्युठानमा पहिरो जाँदा असार १७ गतेदेखि स्याउलीवाबाग्दुला सडकखण्ड अवरुद्ध बनेको हो । उक्त सडक पनि बर्खाभरि नखुल्ने भएको छ ।

दाङको घोराही तुल्सीपुर सडकखण्डमा पर्ने सेवारखोलामा बाढीले क्ष्ति पुर्‍याउँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । घोराही उपमहानगरपालिका–१६ मा पर्ने उक्त खोलाले सडकमा सोमबार क्षति पुर्‍याएको थियो ।

कर्णाली प्रदेश

कर्णालीको रुकुमपश्चिममा पहिरो खस्दा आठबीस नगरपालिकामा पर्ने भेरी करिडोर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । आइतबार आठबीस–११, खरखरेमा खसेको पहिरोले करिडोर अवरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?