+
+
ब्लग :

एलपी जोशीको निधनले छिनाएको मन

सुरेन्द्र बस्नेत सुरेन्द्र बस्नेत
२०८१ साउन २२ गते १२:३८

‘एलपी जोशी सर रहनुभएन’ सामाजिक काममा सक्रिय झापा दमक १ निवासी शंकर बस्नेतको मोबाइलको घण्टी बज्यो । ‘रिटिङ रिटिङ नबजाउ बिनायो’ भन्ने चर्चित लोकभाका मानसपटलमा झलझली आयो । अनि त्यो खबरले मेरो मन चटक्कै छिनायो । जोशी सरको दुःखद निधनको खबरसँगै नेपाली लोक सांगीतिक आकाशका एउटा युगको अन्त्य भयो ।

कुनै समयको अत्यन्तै ख्यातिप्राप्त लोकगायक भएर पनि जोशीले आफ्नो सिङ्गो जीवनयात्रा मोफसलमा नै पुरा गर्नुभयो । झापा जिल्लाको दमक वडा नं.१ स्थित नगरपालिका भवनको पश्चिमतर्फ फाल्गुनन्द चोक छ । त्यसचोकबाट सिधै उत्तरतर्फ गयो भने पांँचथरको रबि–चिसापानी पुगिन्छ । पश्चिमतर्फ २०१२ सालमा स्थापित हिमालय मावि र दक्षिणतर्फ गए दमक चोक पुगिन्छ ।

हो त्यही चोकको केन्द्रभागमा एउटा पुरानो घर छ । त्यो घर उनै वरिष्ठ लोकगायक एलपी जोशीको हो । त्यसै घरमा रहेको आफ्नै पसलमा बसेर दशकौंसम्म उहाँ मुस्कुराउँदा मलाई सिङ्गो दमक उज्यालो भएको भान हुन्थ्यो ।

मलाई सम्झना छ फाल्गुनन्द चोक नामकरण हुनुभन्दा अगाडि त्यस चोकलाई ‘लक्ष्मी चोक’ अथवा जनबोलीमा ‘जोशी चोक’ भनेर भनिन्थ्यो ।

छिमेकी समेत भएको नाताले जोशी सरसँगका मेरा अनेक सम्झना छन् । हामी स्कुल जाँदा उहाँकै घर अगाडिबाट जानुपर्थ्यो । हामी बच्चा हुँदा उहाँले असाध्यै माया गर्नुहुन्थ्यो । कयौंपटक बोलाएर पसलबाट चकलेट झिकेर दिनुहुथ्यो । ‘तिम्रो बुवालाई मैले पढाएको हो नि, थाहा छ !’ उहाँले धेरैपटक भनेको मलाई झलझली सम्झना आइरहेको छ ।

एलपी जोशी

त्यतिबेला हाम्रो घरबारी र उहाँको जग्गा सँगै जोडिएको हुनाले पनि घरमा आउने–जाने भइरहन्थ्यो । उहाँलाई हामी असाध्यै सम्मानित व्यक्तित्वका रुपमा आदर र सम्मान गर्थ्यौं ।

एलपी जोशीको व्यक्तित्वका अनेक आयाम छन् । उहाँ कुनैबेला तेह्रथुम जिल्लामा शिक्षक पनि हुनुहुन्थ्यो । त्यसैले हामी उहाँलाई ‘जोशी सर’ भनेर बोलाउँथ्यौं ।

उहाँ एक चलचित्र अभिनेता पनि हुनुहुन्थ्यो । ‘हिजो–आज–भोलि’ चलचित्रमा जोशीले नायिका भुवन चन्दसँगै अभिनय गर्नुभएको थियो । ‘हिजो–आज–भोलि’ वि.सं. २०२४ फागुन २ गते सूचना मन्त्रालय अन्तर्गतको सूचना विभागले आफ्नो दोस्रो चलचित्रको रूपमा प्रदर्शन गरेको थियो ।

जोशीले अन्य चलचित्र र थुप्रै टेलिचलचित्रमा पनि अभिनय गर्नुभएको थियो । उहांले किराँत नृत्यलाई राष्ट्रियस्तरमा चिनाउने काममा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । उहाँ एक चित्रकार पनि हुनुहुथ्यो । यससँगै एक समाजसेवीका रुपमा उहाँ सुपरिचित हुनुहुन्थ्यो ।

लोकगायक जोशीले रेडियो नेपालमा करिव ४५ वटा गीत रेकर्ड गराउनुभएको थियो । उहाँका अधिकांश गीत २०२० सालभन्दा अगाडि नै रेकर्ड भइसकेका थिए । २० को दशकमा रेडियो नेपालमा जोशी र जनकवि केशरी धर्मराज थापाका गीतले एकछत्र राज गरेका थिए । जोशीको पहिलो गीत २०१३ सालमा नै रेकर्ड भएको थियो । ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको गीतले त्यससमय निकै चर्चा पाएको भेटमा उहाँले सुनाउनुहुन्थ्यो ।

जोशी २०१९ सालमा राष्ट्रव्यापी लोकगायन प्रतियोगितामा प्रथम हुनुभएको थियो । गायनमा मात्र नभएर लोकगीत संकलनमा जोशीको असाध्यै ठूलो लगाव र समर्पण थियो । आफ्नो जीवनकालभरि उहाँ पूर्वेली गाउँबस्तीहरुका मौलिक भाका र शब्द संकलनमा सदैव समर्पित रहिरहनुभयो ।

त्यसै मेसोमा ‘रिटिङ रिटिङ’ बोलको अत्यन्तै चर्चित गीत संकलन गरिएको थियो । पछि २०५३ सालमा उहाँले म्युजिक नेपालबाट ‘रिटिङ रिटिङ’ नामको गीति एल्बम नै निकाल्नुभयो ।

जोशीको अर्को लोकप्रिय ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो’ बोलको गीतले पनि धेरैको मन जितेको थियो । ‘केको माला के को माला सुपारीको माला नि साइँली, यति राम्रो झिल्के म, जोवन तैं मोरीलाई दिउँला नि साइँली’ जस्ता चर्चित भाकामा आफ्नो स्वर सजाउनुभएको थियो ।

सोही क्रममा नै २०१९ सालको राष्ट्रव्यापी लोकगायन प्रतियोगितामा उहाँ प्रथम हुनुभएको थियो । जोशीले धनकुटाका आठपहरिया, हिमाली क्षेत्रका शेर्पा र मधेशका सन्थाल जातिको पनि गीत गाउनुभएको थियो । उहाँले पूर्वेली मात्र नभएर पश्चिमेली लोकभाका ‘रोइला’ पनि गाउनुभएको थियो ।

लोक संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याए वापत् जोशीलाई भारतको इन्डियन युनभिर्सिटीले केही महिना पहिले मानार्थ विद्यावारिधि समेत प्रदान गरेको थियो । त्यसबाहेक उहाँलाई विभिन्न समयमा विभिन्न सामाजिक तथा सांगीतिक क्षेत्रबाट थुप्रै सम्मान पनि गरियो । उहाँको अन्त्येष्टिमा दमक नगरपालिकाले नगरसम्मान सहित शवयात्रा गराएको थियो ।

यसरी लोकगायक जोशीको निधनसँगै एउटा युगको अन्त्य भयो । म हरेक पटक आफ्नो गृहनगर जाँदा बाटैमा पर्ने जोशी निवासमा ननिस्किकन बाटो काट्दैन थिएँ । एउटा कुरा चाहिँ मनमा खट्किरहने भयो । नागरिकले र सामाजिक क्षेत्रले आफ्नो यथेष्ट कदर गरे पनि राष्ट्रले कदर नगरेकोमा चाहिँ उहाँको दुःखेसो थियो ।

‘खै भतिज हामी गाउँमा बस्ने भएर हो कि के हो ! हामीलाई राज्यले सम्झिएन हाओ !’ पूर्वेली पारामा उहाँले भन्नुहुथ्यो । हुन पनि मोफसलमा भएकै कारणले होला राज्य वा सरकारको नजरमा उहाँ कम पर्नुभयो । यो एउटा पीडादायी अनुभूति रह्यो ।

जोशीकै गृहनगरवासी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा लेख्नुभएको थियो–

‘रिटिङ रिटिङ नबजाउ बिनायो,

बिनायोले मन मेरो छिनायो…!’

उहाँको यो गीत सुन्दा आज पनि मलाई आफ्नो युवा उमेरको याद आउँछ । एलपी जोशी अरूका लागि आदरणीय संगीतकार र गायक हुनुहुन्थ्यो । हामी दुवै दमकबासी, त्यसैले मेरा लागि उहाँ आत्मीय मित्र, दाइ अनि सबै हुनुहुन्थ्यो । कलाकार एलपी जोशीको निधनले उहाँको गीतमा भनेजस्तै मेरो मन छिनायो । उहाँको आज अन्तिम विदाइ ।

उहाँलाई हार्दिक श्रद्धा, उच्च सम्मान !! शोकाकुल परिवारजनमा समवेदना ।’

अन्त्यमा, युगीन लोकगायक जोशीको आज तेह्रौं दिनको पुण्य तिथिमा मेरो पनि भावपूर्ण श्रद्धाञ्जली । जोशी सर ! आफ्ना कालजयी अजर र अमर गीतसंगीत् मार्फत् युगयुग बाँचिरहनु हुनेछ । अलबिदा !

(जोशीका छिमेकी समेत रहेका लेखक बस्नेत राष्ट्रिय युवा परिषद्‌का उपाध्यक्ष छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?