+
+

‘छक्कापञ्जा ५’ नेपालसहित विदेशमा एकसाथ, पाँच टेरिटोरीको वितरक टुंगो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १३:०६

काठमाडौं । यस वर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीमा रिलिज तयारीमा छ । सोही मितिमा दीपकराज गिरी स्टारर फिल्म प्रमुख अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आउने पक्का भएको छ ।

निर्माताले पाँचवटा अन्तर्राष्ट्रिय टेरिटोरीको वितरक टुंगो लगाएका छन् । यी वितरकसँग लिखित सहमति हुन बाँकी छ । मध्यपूर्व र मलेसिया वितरणको जिम्मा नेपफिल्म्सका रमेश ढकालले लिएका छन् ।

फिल्मलाई अमेरिकामा त्यहाँको वितरण कम्पनी नेपाल एलिभेन इन्टरटेनमेन्टका प्याट्रिक सुवेदीले वितरण गर्नेछन् । अमेरिकामा सोही दिनमा रिलिज हुने सुवेदीले जनाए । युरोपमा राजमान तामाङ, जापानमा सुभास लामिछाने र इङ्ल्याण्डको पनि टुंगो लागेको छ । अस्ट्रेलिया वितरकको टुंगो मंगलबारसम्म लाग्ने जनाइएको छ ।

‘हामीले यी वितरकमार्फत सम्बन्धित क्षेत्रका बक्स अफिसमा फिल्म रिलिज गर्दैछौं,’ डायस्पोरा रिलिजबारे निर्माता तथा अभिनेता गिरीले अनलाइनखबरसँग भने, ‘सकेसम्म नेपालकै मितिमा रिलिज हुनेछ । नभए स्थानीय अनुकूलताको आधारमा फिल्म रिलिजको जिम्मा दिएका छौं ।’

निर्माताले दुई साताअघि अन्तर्राष्ट्रिय वितरणको आवेदन खुला गरेका थिए । यो अभ्यास नेपालीको फिल्मको अन्तर्राष्ट्रिय वितरणमा पहिलोपटक हो । ‘हामीले वितरणमा पनि व्यवसायिकता ल्याउन खोजेका हौं,’ गिरीले भने, ‘यसअघि आफैंले फोन गरेर चिनेको मान्छेलाई लिनुस् भन्नुपर्थ्यो । यसपटक खुला गर्‍यौं ।’

यसपटक वितरणको टुंगो लगाउनुअघि सम्बन्धित वितरकको अनुभवलाई प्राथमिकता दिएको गिरीले बताए । मुख्य दृश्यांश खिचिसकिएको फिल्मको १० प्रतिशत छायांकन सकिने बाँकी छ ।

‘छक्कापञ्जा ५’ को स्वदेश वितरणको जिम्मा मनोज राठी, उज्ज्वल पौडेल र विक्रम पराजुलीले लिएका छन् । फिल्ममा दीपकसहित वर्षा सिवाकोटी र केदारप्रसाद घिमिरेको शीर्ष भूमिका छ । समाज र राजनीतिक विषयवस्तुमा आधारित भनिएको फिल्ममा दीपाश्री निरौलाको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?