+
+

बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न मुहम्मद युनुस तयार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १४:०१

२३ साउन, काठमाडौं । नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए ।

सोमबार नै साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरुसँग छलफल गरेका थिए, जसमा उनले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा हुने र कर्फ्यु अन्त्यको घोषणा गरे । उनले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरुलाई रिहा गर्न समेत आदेश दिएका छन् ।

आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै विद्यार्थी नेताहरुले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन् । उनीहरुले दिउँसो ३ बजेसम्म संसद विघटन गर्न समेत राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

‘यो आन्दोलनलाई हाइज्याक हुन नदिन हामी नागरिकलाई आह्वान गर्दछौं’, विद्यार्थीहरुले भनेका छन् । विद्यार्थीहरुले अन्तरिम सरकारका लागि प्रस्तावित नामहरु चाँडै सार्वजनिक गरिने पनि बताएका छन् ।

यहीबीच नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न गरेको प्रस्ताव स्वीकारेको समाचार संस्था रोयटर्सले समाचार लेखेको छ ।

उनका प्रवक्तालाई उधृत गर्दै पेरिसमामा सामान्य स्वास्थ्य जाँचपछि उनी बंगलादेश फर्किने भनिएको छ । उनी ओलम्पिक कमिटीको निमन्त्रणामा फ्रान्सको पेरिस गएका थिए ।

बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले स्रोतलाई उदृत गर्दै युनुसको भनाइ लेखेको छ, ‘जब मलाई विद्यार्थीको तर्फबाट सम्पर्क भएको थियो, त्यसबेला मैले स्वीकारेको थिइनँ । मैले धेरै काम गर्न बाँकी छ भनेको थिएँ । तर, विद्यार्थीहरुले पटक पटक मलाई अनुरोध गरे ।’

उनले ‘विद्यार्थी र देशका नागरिकहरुले धेरै त्याग गरेको’ भन्दै आफू जिम्मेवारी लिन तयार रहेको बताएको द डेली स्टारले उल्लेख गरेको छ ।

उनले अब छिट्टै बंगलादेश फर्किन लागेको समेत बताए ।

युनुस बंगलादेश छाडेकी प्रधानमन्त्री शेख हसिनाका प्रतिद्वन्द्वी हुन् । ८४ वर्षीय उनी गरिबहरुको बैंकरका रुपमा चिनिन्छन् ।

गरिबीको रेखामुनि रहेकाहरुलाई लक्षित गरेर उनले ग्रामीण बैंक तथा लघुवित्त स्थापना गरेका थिए । त्यसका लागि प्राध्यापक समेत रहेका युनुस र त्यहाँको ग्रामीण बैंकलाई सन् २००६ को नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

गएको जनवरीमा बंगलादेशको एउटा अदालतले युनुसलाई देशको श्रम कानुन उल्लंघन गरेको भन्दै जेल सजाय सुनाएको थियो । तर, उनले यो आरोप राजनीति प्रेरित भएको भन्दै आलोचना गरेका थिए ।

हसिनाले सोमबार राजीनामा दिएर देश छाडेर गएपछि बंगलादेशी सेनाले अन्तरिम सरकार बनाउन अग्रसरता लिएको छ । तर, अहिलेसम्म कसले सरकारको नेतृत्व गर्छ भन्ने टुंगो लागि सकेको छैन ।

स्वतन्त्रता आन्दोलनका सेनानीहरुका परिवारलाई आरक्षणको दिने निर्णयविरुद्ध दुई महिनादेखि चलेको आन्दोलनका क्रममा कम्तिमा ३ सय जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?