+
+

सप्तरीको रुपनी बजारमा एक घण्टामै ७० मिलिमिटर वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १४:१५

२२ साउन, काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित रुपनी बजारमा अति भारी वर्षा भएको छ । त्यहाँ एक घण्टाको अवधिमै ७० मिलिमिटर वर्षा मापन भएको छ ।

यो सन् १९९३ मा कुलेखानीमा क्लाउड बर्ष्ट (आरीघोप्टे वर्षा) हुँदाको भन्दा पनि धेरै वर्षा हो । त्यतिबेला कुलेखानीमा एक घण्टामै ६५ मिलिमिटर वर्षा भएको थियो ।

कञ्चनपुरमा गत असार २३ र २४ गते भएको आरीघोप्टे वर्षाको बेला हनुमाननगर केन्द्रमा एक घण्टाको अवधिमा १०२ मिलिमिटर वर्षा भएको थियो ।

सप्तरीमा सोमबार साँझ साढे ६ बजेदेखि मंगलबार बिहान करिब साढे १० बजेसम्म वर्षा भएको थियो । तर वर्षाले कुनै क्षति नपुगेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए ।

‘अहिले जिल्लामा अवस्था सामान्य छ, क्षति केही पनि छैन,’ प्रमुख जिल्ला अधिकारी मंग्रातीले भने । उनका अनुसार साना खोलानालाहरुमा बाढी आएको छ भने कोशी नदीको बहाव सामान्य छ । उनका अनुसार अहिले पानी पर्न रोकिएको छ र सदरमुकाममा घाम लागेको छ ।

सप्तरीको रुपनी बजारमा भएको वर्षाको रेकर्ड । स्रोत : जल तथा मौसम विज्ञान विभाग।

सप्तरी प्रहरीका सूचना अधिकारी अवधेश यादवले पनि जिल्लामा वर्षाका कारण डुबान, कटान वा अन्य प्रकारको कुनै क्षति नभएको बताए ।

काठमाडौंमा आज बिहान एक घण्टाको अवधिमा २० मिलिमिटर भन्दा पनि कम वर्षा भएको थियो । त्यही वर्षाले काठमाडौंका विभिन्न स्थानमा सडक, बस्ती र सरकारी कार्यालयहरुसमेत डुबानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?