+

जब नियमित खानुपर्ने गर्भनिरोधक औषधि छुट्छ

२०८१ साउन  २२ गते १४:३९ २०८१ साउन २२ गते १४:३९
जब नियमित खानुपर्ने गर्भनिरोधक औषधि छुट्छ

अनिच्छित गर्भ रोक्नका लागि महिलाले गर्भनिरोधक चक्की अर्थात् बर्थ कन्ट्रोल पिल्स सेवन गर्छन् । गर्भ निरोधक चक्कीमा महिलाको शरीरमा हुने इस्ट्रोजेन र प्रोजेस्टेरोन हुने गर्छ । यी हर्मोनहरूले महिलाको डिम्बाशयमा डिम्बको वृद्धि विकास नियन्त्रण गर्छ । गर्भ निरोधक चक्कीबाट प्राप्त हुने अधिक बाह्य हर्मोनका कारण डिम्बको वृद्धि विकासमा नकारात्मक असर पुग्न गई गर्भ रहने भय हुँदैन ।

साथै यो औषधिले पाठेघरबाट उत्पादन हुने तरल पदार्थलाई बाक्लो बनाउँछ । जसले गर्दा शुक्राणु डिम्बवाहिनी नलीसम्म समयमै पुग्न कठिन हुन्छ ।

मासिक धर्मको चक्रलाई कायम राख्न यो चक्की नियमित रुपमा सेवन गर्नुपर्छ । यदि कुनै दिन गर्भनिरोधक चक्की सेवन गर्न भुलियो भने के गर्ने ? यसलाई सेवन गर्न चिकित्सकको सल्लाह चाहिन्छ कि चाहिंदैन ?

महिनावारी भएको कुन दिनबाट गर्भनिरोधक चक्की सुरु गर्ने ?

पहिलो पटक यो चक्की सुरु गर्न आँटेको हो भने महिनावारी भएको पाँच दिनभित्र सुरु गर्न सकिन्छ । अधिकतर गर्भनिरोधक चक्की पनि २८ दिनको हुन्छ भने केही २१ दिनको ।

२८ दिने चक्कीमा २१ दिन हर्मोन हुन्छ र बाँकी सात चक्कीमा आइरन हुन्छ । यस्तो खाले पिल्स चक्की सेवन गरिरहेको हो र २८-२८ दिनमा महिनावारी हुन्छ भने एउटा प्याकेट सकिएपछि अर्को किनेर खान सकिन्छ । २१ दिने चक्की खाएको हो भने महिनावारी भएको तीनदेखि पाँच दिनभित्र फेरि सुरु गर्नुपर्छ ।

कुन समयमा खानु प्रभावकारी ?

दैनिक रुपमा गर्भनिरोधक चक्की सेवन गर्दा जुनसुकै समयमा भन्दा पनि सकेसम्म एउटै समयमा गर्नुपर्छ । यसले गर्दा हर्मोन सन्तुलनमा रहन्छ । चक्की लिने समय बढीमा एक वा दुई घण्टा तल माथि हुनु राम्रो हुन्छ । तर यो समय निकै घटबढ भएमा गर्भवती हुने सम्भावना बढ्छ ।

आकस्मिक र गर्भनिरोधक चक्कीमा के फरक छ ?

यो विषयमा धेरैजसो महिला द्विविधाग्रस्त हुन्छन् । अनिच्छित गर्भ रोक्न महिनाभरि सेवन गर्ने चक्की गर्भनिरोधक चक्की हो । कुनै सुरक्षा विधि नअपनाई यौन सम्बन्ध बनाउँदा सम्भावित गर्भबाट बच्न दिइने चक्कीलाई आकस्मिक चक्की भनिन्छ ।

आकस्मिक गर्भनिरोधक चक्कीमा हर्मोनको मात्रा सामान्यभन्दा बढी हुन्छ । हर्मोन बढी भएकै कारणले यो गर्भनिरोधका लागि प्रभावकारी मानिन्छ । त्यसैले आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग आकस्मिक वा कहिलेकाहीं मात्र प्रयोग गर्नु उत्तम हुन्छ ।

कुनै दिन खान छुटे के गर्ने ?

दैनिक सेवन गर्नुपर्ने यो चक्की सकेसम्म छुटाउनु हुँदैन । महिनावारीको पहिलो दिनबाट औषधि सेवन गरेको छ र पहिलो हप्तामा कुनै दिन औषधि छुट्यो भने अर्को दिन दुईवटा चक्की सेवन गर्दा हुन्छ । पहिलो हप्तामा नै दुईवटा चक्की छुट्यो भने दुई दिन दुई-दुईवटा चक्की सेवन गर्नुपर्छ ।

तेस्रो हप्तामा दुई दिनभन्दा बढी औषधि छुट्यो भने औषधिसँगै अन्य गर्भ निरोधक उपाय (जस्तै कण्डम) पनि अपनाउनुपर्छ । लगातार सात चक्की छुट्यो भने औषधि सेवन नै बन्द गरेर अन्य भरपर्दो उपाय अपनाउनुपर्छ र अर्को पटक महिनावारीपछि पिल्स चक्की पुनः खान सुरु गर्न सकिन्छ ।

गर्भनिरोधक चक्की सेवन गर्न चिकित्सकको सल्लाह चाहिन्छ कि चाहिदैन ?

गर्भनिरोधक चक्की औषधि पसलमा सजिलै उपलब्ध हुने भएकाले धेरैले चिकित्सकको सल्लाह विना नै सुरु गर्छन् । तर यसको पनि साइड-इफेक्ट हुने भएकाले जोसुकैले यसको प्रयोग गर्न मिल्दैन । चिकित्सकको सल्लाहमा सुरु गरियो भने यसबाट हुने साइड-इफेक्टबाट बच्न सकिन्छ । त्यसैले चिकित्सकको सल्लाहमा नै सुरु गर्नु राम्रो हुन्छ ।

कुन अवस्थामा यो चक्की खान हुन्न ?

टाउको दुख्ने, स्तनमा मासु पलाएको, मोटोपन, उच्च रक्तचाप, मधुमेह, हाइपर कोलेस्टेरोल, मुटुको समस्या र  ३५ वर्षभन्दा माथिका महिलालाई पिल्स चक्की सेवन नगर्ने सल्लाह दिइन्छ । पाठेघरको मुख वा पाठेघरको क्यान्सरको जोखिम भएकाले भने प्याप जाँच वा क्युरेट गराएर मासु जाँचपछि मात्र यस्तो चक्कीको सेवन गर्नुपर्छ । स्वास्थ्य सामान्य अवस्थामा भएका महिलाले पनि यसको सेवन अघि चिकित्सकको सल्लाह लिनु बुद्धिमानी हुन्छ ।

उच्च रक्तचाप, मधुमेह र मुटुरोगको औषधि खाइरहेकाहरूले यो चक्की खान मिल्दैन । कुनै-कुनै एन्टिबायोटिक, छारेरोग विरुद्धको औषधि सेवन गरिरहेको बेलामा पनि यो चक्की खान मिल्दैन ।

चिन्ताको वियष के छ भने स्वास्थ्यकर्मीको सल्लाह बेगर आफूखुसी पिल्स चक्की सेवन गर्ने अनि केही साइड-इफेक्ट देखिएलगत्तै पिल्स चक्की सेवन गर्न छाडेर, गर्भ रह्यो भन्ने समस्या लिएर अस्पताल आउनेको संख्या उल्लेख्य छ ।

‍औषधि डा. सुनिता व्यञ्जनकार पिल्स
डा. सुनिता व्यञ्जनकार
लेखक
डा. सुनिता व्यञ्जनकार
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. व्यञ्जनकार हाल पाटन अस्पतालमा कार्यरत छिन् । प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी उनको नेपाल मेडिकल दर्ता नम्बर ८७९० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?