+
+

रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति

सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको सम्बद्ध स्रोतले जानकारी दियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १५:३९

२२ साउन, काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछाने सहित २६ जनालाई सोधपुछ गर्ने भएको छ ।

सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको समिति सभापति सूर्य थापाले बताए ।

उनका अनुसार समितिले वास्तविक तथ्य पत्ता लगाउन सोधपुछ गर्न लागेको हो । प्रहरी अनुसन्धान जसरी नभई तथ्य पहिल्याउने हिसावले समितिले सोधपुछ गर्ने उनको भनाइ छ ।

सोधपुछका लागि बोलाउने व्यक्तिहरूका विषयमा समिति सभापति थापाले जानकारी दिएनन् । तर, सम्बद्ध स्रोतका अनुसार पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछाने, शिवशिखर सहकारी अध्यक्ष केदारनाथ शर्मा, कान्तिपुर सहकारी पूर्वअध्यक्ष तथा पशुपति सहकारी अध्यक्ष सीबी लामा लगायतसँग समितिले सोधपुछ गर्ने छ ।

त्यो सूचीमा श्री लालीगुराँस सहकारीका सुरेन्द्र भण्डारी, गोरखा सेभिङका पूर्वअध्यक्ष डीबी बम्जन, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा, क्यापिटल सहकारीका अध्यक्ष रामचन्द्र शर्मा, सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ, जीबी राई समूहका कुमार रम्तेल लगायत छन् ।

सहकारी ठगीमा संलग्न रही हाल फरार रहेका जीबी राई, प्रेमध्वज लामा, देवकुमार नेपाली, तेजबहादुर तामाङ लगायत १८ जनालाई पक्राउ गर्न समितिले यसअघि नै गृह मन्त्रालयलाई  निर्देशन दिइसकेको छ ।

समितिले बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कुन), राष्ट्रिय सहकारी महासंघसँग पनि छलफल गरेको थियो ।

त्यस्तै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको विषयमा समेत छलफल गरेको समितिले गृहमन्त्री, सचिव, प्रहरी महानिरीक्षकसँग समेत छलफल गरेको छ ।

प्रहरीले चलाएको सहकारी ठगीका मुद्दा समेत अध्ययन गरेको छानबिन समिति सभापति सूर्य थापाले बताए ।

‘सहकारी विभागमा रजिस्ट्रारको सरुवा छिटोछिटो हुने रहेछ । पूर्व रजिस्ट्रारसँग पनि छलफल गरेका छौं,’ थापाले भने, ‘सहकारी पीडितसँग पनि छलफल भयो । सहकारी क्षेत्रको भक्तिगान धेरै गरिएछ ।’

कमजोर कानुनी व्यवस्था बनेको, कानुनमा व्यवस्था भएर पनि कर्जा सूचना केन्द्र र सुरक्षण कोष न्यायाधीकरण कुनै पनि बन्न नसकेको जस्ता विषय देखिएको उनले बताए ।

‘अहिले भएका संरचनालाई कानुन संशोधन गरेर सम्बोधन गर्न सकिन्छ,’ थापाले भने, ‘सहकारीको बचत फिर्ता भएका उदाहरण पनि छन् । गुण कोअपरेटिभका सञ्चालक राजेन्द्र शाक्यलाई बोलाएर कसरी ५ अर्ब फिर्ता गरेको भन्ने विषयमा पनि छलफल गर्‍यौं ।’

ओरेन्टलका निलम्बित अध्यक्ष सुधीर बस्नेत, साझा सहकारी संस्थापक विश्वबन्धु थापासँग समेत छलफल गरेको उनले बताए ।

सहकारी संकट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?