+
+
यात्रा संस्मरण :

वरिपरि कटुसघारीले घेरिएको मनोरम ध्वजेडाँडा

प्रेम बास्तोला प्रेम बास्तोला
२०८१ साउन २२ गते १६:५१

काठमाडौं पश्चिमका केही जिल्लाको यात्रापछि जेठमा आफ्नै निवास सुनसरीको इटहरी उपमहानगरपालिका ६ मा पुगियो । जतिबेला गर्मीको ग्राफ बढेर बसिनसक्नु थियो । घर पुगेको भोलिपल्टै धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले फोन गरी भेडेटार घुम्नका लागि निम्तो दिए । गर्मीले उकुसमुकुस भएको मलाई त ढुंगा खोज्दा देउता मिले झैं भयो । मैले हतारिंदै ‘हुन्छ’ भनिदिएँ ।

गर्मीले बसिनसक्नु भइरहेको बेला आएको निम्तो त्यसमाथि पछिल्लो समय घुमन्ते नै भइसकेको मलाई यात्रा गर्ने (घुम्ने) भन्ने बित्तिकै कत्तिखेर पुगौं भइहाल्छ । भेडेटारको नाम नै काफी छ । त्यसमा पनि गर्मीको मौसममा । मलाई त कति बेला उज्यालो हुन्छ भन्ने भयो । रातभर भेडेटारको चिसो वातावरण, प्राकृतिक सौन्दर्य सम्झिंदै छटपटी नै भयो । भोलिपल्ट अर्थात् ७ जेठ बिहान ६ बजे वर्षाबाट जोगिन छाता सहित आफ्नो यात्रामा प्रयोग हुने ब्याग बोकेर घरबाट भेडेटारतर्फ निस्कें ।

सिटी रिक्सा चढेर भेटघाट चोक हुँदै सटकट रुटबाट इटहरीको आर्मी क्याम्प छेउमा सरेको बस स्टप पुगें  । सो स्थानबाट बिजुलीबाट चल्ने गाडीमा चढेर साढे ६ बजे भेडेटारतर्फ लागे । धरान पुगेपछि सो गाडी केही क्षण यात्रु चढाउन रोक्यो । धरानमा पनि गर्मी निकै बढेको थियो । गाडी रोकेकाले होला शरीरमा लगाएका कपडा भिज्ने गरी नै पसिना धारा बगिरह्यो । कति बेला गाडी हिंड्छ र शीतल हुन्छ । कतिखेर भेडेटार पुगेर धीत मरुन्जेल चिसो खाएर आनन्द अनुभूत गर्ने । यस्तै छटपटीले मलाई सताइरहेको थियो । पाख्रिबाससम्म जाने सो गाडी बल्ल बिहान साढे ७ बजेतिर धरानबाट भेडेटारतर्फ अघि बढ्यो ।

कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा सडकखण्डको धरान भ्यु हेर्ने स्थानबाट अगाडि बढेपछि चिसो मौसमले स्वागत गर्‍यो । प्राकृतिक मनोरम दृश्य हेर्दै ३७ मिनेटपछि भेडेटार पुगियो ।

भेडेटारमा पुगेपछि चौकबाट साँगुरीगढी गाउँपालिकाको डाँडाबजार, ध्वजेडाँडातर्फ जाने भेडेटार-राजारानी सडक खण्डतर्फ मोडिने स्थानमा रहेको पर्यटन व्यवसायी रमेश श्रेष्ठको होटेलमा पुगेर कालो चिया पिउँदै भेडेटारमा निर्माणको अन्तिम चरणमा पुगेको भेडेटार स्काई वाक नियाल्दै अध्यक्ष रुम्दालीको फोनको प्रतीक्षामा बसें । चिया खाइनसक्दै उनले फोन गरेर धरानबाट गाउँपालिका उपाध्यक्ष मीना राई, योजना शाखका प्रमुख पर्यटन प्रेमी शाखा अधिकृत द्रोण राई गाडीमा आउँदै गरेकाले सोही गाडीमा चढेर आफ्नो निवास आउन भने । म गाडीको प्रतीक्षामा केहीबेर होटलमै रोकिएँ ।

त्यही बीचमा रमेश दाइका छोरा शंकर श्रेष्ठ हतारिंदै अध्यक्षकै निवास जान लागेको सुनाए । मैले पनि उनीसँग लिफ्ट मागें । अनि उनको बुलेट बाइकमा गफिंदै थुम्कीतर्फ लागियो ।

एकैछिनको यात्रापछि हामी रुम्दालीको निवासमा पुग्यौं । डाँडाबजार माथिको ध्वजेडाँडाबाट मैले यात्राको थालनी गर्ने योजना बनाएको थिएँ । अध्यक्ष राईको निवाससँगै रहेको होटलमा कालो कफी खाएर आफूले घुम्न चाहेको स्थानसम्म पुग्नका लागि प्रयोग गर्नुपर्ने  ‘रुट’ को जानकारी लिंदालिंदै उपमेयर सहितको गाडी तल सडकमा आइपुग्यो । समयले त्यसैपछि हामीलाई पछि पारिरहेको थियो । हामी हतारिंदै गाडी भएतर्फ झर्‍यौं ।

भेडेटार-राजारानी, राँके-रविसम्मको सडक बिस्तार र कालोपत्रे गर्ने क्रम चलेका ठाउँठाउँका डोजर चलाउँदा ठूलठूला ढुङ्गा सहितका पहाडहरू खसेर सडक थुनिएका रहेछन् । एकतर्फी गाडी चलिरहेकाले पनि एक-दुई ठाउँ बाहेक अन्य स्थानमा हामी यात्रारत पालिकाको गाडी सरासर अगाडि बढ्यो । करिब ३५ मिनेटको यात्रापछि हामी सवार गाडी डाँडाबजार पुग्यो ।

डाँडाबजारमा रहेको पालिकाको ५ नम्बर वडा कार्यालयमा एकै छिनको बसाइपछि मलाई लिन पर्यटनप्रेमी स्थानीय युवा मिलन थेगिम लिम्बू आइपुगे । म उनको मोटरसाइकलको पछाडि बसेर ध्वजेडाँडातर्फ हुइँकिए ।

१५ वर्षअघि ध्वजे डाँडा आउँदाको सडक र यसबेला जाँदाको सडकको अवस्था फेरिएको थियो । साँगुरीगढी गाउँपालिकाभित्र रहेका घुम्नै पर्ने करिब २३ स्थानका बारेमा मिलन लिम्बूले मोटरसाइकल यात्राको क्रममा सविस्तार सुनाए । यसरी गफिंदै अगाडि बढ्दा बाटो काटेको पनि मैले पत्तै पाइनँ । गफ नसकिंदै मेरी लिम्बूको होमस्टेमा पुगेर मोटरसाइकल रोकियो । मोटरसाइकल त्यही राखेर म मिलनजीको पैदलै पछि लागें ।

समुन्द्री सतहबाट २ हजार ४० मिटर उचाइमा रहेको ध्वजेडाँडा साँगुरीगढी गाउँपालिकाभित्रको सबैभन्दा अग्लो स्थान हो । यो डाँडा चढ्न निकै मुस्किलै पर्छ । तर डाँडा आउने साना घोरेटामा हिंड्नुको मज्जा नै बेग्लै हुने । कटुसले भरिएका जङ्गल भित्रभित्रै वरपरका रमणीय दृश्य अवलोकन गर्दै डाँडा चढ्दा थकानको महसुस नै हुँदैन । मेरो अघिअघि रहेका मिलनले मलाई पर्खंदै कटुस घारीमा ड्राई पिकनिकका लागि पछिल्लो समय धेरै पर्यटकहरू आएको जानकारी दिलाए । कटुसका बोटहरूमा पलाएको औषधीय गुणले भरिएको झ्याउलाई नजिकैबाटै नियाल्ने अवसर मिल्यो । करिब २० मिनेटको डाँडो उकालो पार गरेपछि ध्वजेडाँडाको प्रवेश गेटमा पुगियो ।

प्रवेश गेट कटेपछि नेपाल सहित २२ मुलुकका हावाको बेगमा फहराइरहेको दृश्य कम लोभलाग्दो थिएन । एकैछिनमा हुस्सु लाग्ने, खुल्ने र चिसो हावाको बेग निरन्तर चलिरहने ध्वजेडाँडा पुगेपछि स्वर्गको कुनै एक टुक्रामा पुगेको अनुभूति जो कोहीलाई हुने गर्छ । म पनि केहीबेर आँखा बन्द गरी चुपचाप ध्वजेडाँडाको टुप्पोमा अडिएँ । त्यहाँ बहने स्वच्छ हावा र वरिपरिको प्राकृतिक छटाहरू मेरा अंगअंगमा स्पर्श गर्न आइपुगे ।

आहा ! यस्तै वातावरणमा बाँकी जीवनको सबै समय बिताउन पाए कति जाती हुन्थ्यो होला ? यस्तो स्थानमा बसेर ध्यान, अध्ययन, अनुसन्धान र लेखनको कार्य गर्न पाए कस्तो हुन्थ्यो होला ? यस्ता धेरै प्रश्नहरूले मनलाई चिमोटिरहेको थियो ।

एक्कासि वर्षा सुरु भयो । म हतारिंदै ध्वजेडाँडामै रहेको भ्यु टावरमा चढें । मिलन लिम्बू पनि यहाँ विशेषता भनेकै यही हो भन्दै म सँगै टावर चढे । सात मिनेटसम्म परेको हल्का वर्षापछि बाक्लो तुवाँलोले ध्वजेडाँडामा डेरा जमायो । मिलन भन्दै थिए, ‘प्रेम सर अब वर्षात् भयो तुवाँलो र बादल हट्छ होला । अनि म तपाईंलाई टावरबाट तराई र कोशी ब्यारेज देखाउँछु । माथिका हिमाल र पहाडी शृंखला देखाउँछु । तर सोचे जस्तो भएन । बाक्लो तुवाँलोले ध्वजेडाँडालाई छोड्दै छोडेन । टावरबाट पालिकाकै सबैभन्दा बढी कटुसको जङ्गल (घारी) बाहेक अन्य कुराको दृश्य हेर्न पाइएन ।

३० मिनेटसम्म बस्दा पनि तुवाँलो नहटेपछि टावरबाट तल झर्‍यौं । यो डाँडाबाट मौसम सफा रहेका बेला पूर्वी नेपालमा १६ वटा जिल्ला प्रष्टसँग देख्न सकिने मिलनले सुनाए । यो डाँडाबाट मकालु, सगरमाथा, कुम्भकर्ण हिमालहरू देख्न सकिन्छ । यहींबाट लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्र देख्न सकिन्छ । डाँडाबाट इलामको अन्तुडाँडाबाट भन्दा पनि राम्रोसँग सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देख्न सकिने मिलनले जानकारी दिए । तराईका समथर फाँटहरु, कोशी नदी र दर्जनौं महाभारत तथा चुरे श्रेणीका पहाडहरू स्पष्टसँग देख्न सकिन्छ । यो डाँडाको वरिपरि लोभलाग्दो कटुस घारी पनि छ । कटुस घारीमा बसेर वनभोज खानुको मज्जा बेग्लै हुन्छ । डाँडामा किरातेश्वर मन्दिर र जाल्पादेवी मन्दिर छ । मन्दिर परिसरमै हवन घर समेत छ ।

यो डाँडामा एक घण्टा १५ मिनेट समय बिताएपछि असोजमा पुनः आउने बाँचा गर्दै मोटरसाइकल राखेको स्थान मेरी लिम्बूको होमस्टेतर्फ हामी झर्‍यौं । त्यस क्षेत्रमा सबैभन्दा पहिला होमस्टे सञ्चालनमा ल्याएर चर्चा कमाएकी मेरी लिम्बूलाई भेट्ने अवसर भने मैले पाइनँ । तल डाँडाबजारमा सामान खरिदका लागि बिहानै गएकाले मैले उनलाई भेट्न सकिएन । बुहारी र छोरीको आतिथ्य सम्झनलायक नै थियो । त्यहाँ करिब १५ मिनेट बसेर कालो चिया पिएपछि फेरि बस्ने गरी आउने वाचा गर्दै म मिलनकै मोटरसाइकल पछाडि बसेर डाँडाबजारतर्फ लागें ।

डाँडाबजारमा रहेको पालिकाको वडा नम्बर ५ को कार्यालयमै मलाई पर्खेर बसेका अध्यक्ष राईले साँगुरीगढी गाउँपालिकाले ध्वजेडाँडालाई भेडेटारपछिको दोस्रो प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जानकारी दिए । पर्यटन व्यवसायी समेत रहेका उनले किरातीहरुको आस्थाको केन्द्र ऐतिहासिक स्थल ‘खुवालुङ’देखि ध्वजेडाँडासम्मको ३७ किलोमिटर पदमार्ग निर्माणका लागि ट्रयाक खोलेर पदयात्रा थालिसकेको जानकारी दिए । ध्वजेडाँडालाई पदयात्राको समाप्ति केन्द्रका रूपमा विकास थालिएको उनले बताए । ध्वजेडाँडाबाट प्याराग्लाइडिङको समेत सम्भावना रहेकाले अध्ययनको काम थालिएको पनि उनले सुनाउन भ्याए । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई दुई दिनको पदयात्राको प्याकेज बनाएर खुवालुङबाट सुरु गराई ध्वजेडाँडा ल्याई टुङ्ग्याउने योजना रहेछ ।

पदयात्राका लागि आउने पर्यटकलाई थप एक दिन ध्वजेडाँडामा राखेर प्राकृतिक आनन्द दिलाउन सकिने, कटुस घारी र ध्वजेडाँडा ठीक तलको खाली स्थानमा टेन्टमा समेत बसाउन सकिने राईले सुनाए । गाउँपालिकाले ध्वजेडाँडा तल मेरी लिम्बूको जस्तै थप होमस्टे स्थापनाको काम पनि गरिरहेको रहेछ ।

साँझसम्म इटहरी पुग्नुपर्ने बाध्यता भएकाले म हतारिन थालें । कोशी प्रदेशमै उत्कृष्ट भएको स्थानीय भानु माविको क्यान्टिनमा तयार भएको अर्गानिक तरकारी र ताजा हरियो अकबरे खुर्सानीसँग खाना खाएपछि पुनः म पालिकाकै गाडीमा अध्यक्ष सहितको टोलीसँगै गफिंदै भेडेटार बजार आएँ । भेडेटारबाट पालिकाको गाडी कार्यालयतर्फ लाग्यो भने म भेडेटार बजारको चौकबाटै सार्वजनिक बस चढेर इटहरीको गर्मी सम्झिंदै घरतर्फ झरें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?