+
+

दुई सांसदको बोलीले बजार १४५ अंक घटेको हो ?

बजार बढ्नु, घट्नु यसको सुन्दर पक्ष हो । तर, मंगलबारको गिरावटलाई कतिपय लगानीकर्ताले सोमबार दुई सांसदले संसदमा दिएको अभिव्यक्तिलाई ‘कारक’ ठानेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १९:०६

२२ साउन, काठमाडौं । मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आयो । अघिल्लो दिनसम्म उत्साह थपिएको बजार मंगलबार एकै दिन १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घट्नुका कारणबारे धेरैमा जिज्ञासा बढेको छ ।

बजार बढ्नु, घट्नु यसको सुन्दर पक्ष हो । तर, आजको गिरावटलाई कतिपय लगानीकर्ताले सोमबार दुई सांसदले संसदमा दिएको अभिव्यक्तिलाई ‘कारक’ ठानेका छन् ।

बजार धेरै नै बढिसकेपछि ‘करेक्सन’ आउनु स्वाभाविक हो । तर, सोमबार दुई सांसदले भनेका विषयलाई लिएर लगानीकर्ताले सामाजिक सञ्जालमा तीव्र आलोचना गरिरहेका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेस सांसद प्रकाशशरण महत र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबार संसद्‍मा सेयर बजारको अहिलेको वृद्धि अस्वाभाविक भन्दै नकारात्मक टिप्पणी गरेका थिए ।

यही कारण मंगलबार सेयर बजारमा असर परेको जानकार बताउँछन् । तर, सेयर बजारबारे दुई सांसदले कुनै खेलाडीको स्वार्थ पूरा गराउन खोजेको आरोप समेत लागेको छ ।

‘हिजो बजारमा लगानीकर्ताले १५/१६ खर्ब गुमाउँदा ती सांसद कहाँ थिए, उनीहरूले नीतिगत सुधारका लागि केही बोले ?,’ बजारबारे जानकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद हरि ढकालले प्रश्न गरे ।

महतले आफू अर्थमन्त्री भएका बेला बजार सामान्य बढ्दा पनि जस लिएर सार्वजनिक अभिव्यक्ति समेत दिएका थिए । तर, उनैले सोमबार संसदमा बोलेको भनाइ बजार बढेको जस अर्कै अर्थमन्त्रीले पाउने भएकाले रिस पोख्न मात्रै रहेको ढकालले टिप्पणी गरे ।

अर्का सांसद अमरेशकुमारले बजार घटाएर सेयर किन्न खोज्ने कुनै खेलाडीका भाषा संसदमा बोलेको ढकालको आरोप छ ।

‘अमरेशजी सेयर बजारका विषयबारे जानकार पनि होइनन्, उनलाई कुनै खेलाडीले चिरकटो थमाइदियो, त्यहाँ लेखेका कुरा पढे,’ ढकालले भने ।

धेरै अंक लगातार बढेकाले बजारको यो करेक्सनलाई लगानीकर्ताले सामान्य बुझ्नुपर्ने उनको भनाइ छ । बजारमा यदि गैरजिम्मेवार कार्य भए त्यसका लागि नियामक निकाय धितोपत्र बोर्ड रहेको ढकालले बताए ।

‘बजार घट्दा कुनै सांसदलाई चासो छैन, तर बढ्दा ती सांसदलाई ज्वरो आउँछ, यसरी लगानीको वातावरण बन्छ ?,’ उनले भने ।

मौद्रिक नीतिमा गरिएको सहजताले बजारले गति लिएका कारण कसैले ‘कर्नरिङ’ भनेर टिप्पणी गर्नु गलत रहेको ढकालले बताए ।

‘मौद्रिक नीतिमार्फत जुन नीतिगत सहजता गरियो, यही कारण बजार बढेको हो, हिजो नीतिगत असहज हुँदा जसरी घट्यो आज सहज हुँदा त्यसरी नै बढ्नु स्वाभाविक हो,’ ढकालले भने ।

सेयर लगानीकर्ता तथा प्राविधिक जानकार सुवासचन्द्र ढुंगानाले बजार विगतमा लगातार ठूलो अंकले बढेकाले करेक्सन पनि ठूलै देखिएको बताउँछन् ।

‘बजार केही बढेपछि नै बेलाबेला केही करेक्सन देखिएको भए, यति ठूलो करेक्सन हुँदैनथ्यो,’ उनले भने, ‘तर, विगतमा त उच्च दरले खास करेक्सन विना नै बजार बढेको हो, त्यसको असर एक्कासि देखियो ।’

त्यस्तै बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणले बजारलाई साथ दिन सकेन । बैंक तथा वित्तीय संस्थाको चौथो त्रैमासिक वित्तीय विवरण अपेक्षाकृत राम्रो नदेखिएकाले पनि त्यो सेक्टरले बढी भूमिका निर्वाह गरेको ढुंगानाले बताए । बजारमा २८०० को अंक प्रतिरोधक नै रहेको उनको भनाइ छ ।

‘विगतको बुलको चरणमा प्रवेश गरेकाले पनि २८०० बिन्दुमा पुग्दा आपूर्ति दिने र न्यूनतम बिन्दुमा रहेका बेला किन्ने दीर्घकालीन लगानीकर्ताले नै पनि राम्रो नाफा बुक गर्न सक्ने भएकाले २८०० अंक बलियो प्रतिरोध हो,’ उनले भने ।

बजारले करेक्सन खोजिरहेका बेला दुई सांसदले दिएको अभिव्यक्तिले आगोको झिल्कोमा घिउ थप्ने काम भएको ढुंगानाले बताए ।

नेपाल इन्भेस्टर्स फोरम अध्यक्ष तुलसीराम ढकाल बजार बढ्नु र घट्नु सामान्य भएकाले लगानीकर्ताले सहज लिनुपर्ने बताउँछन् ।

‘बजार धेरै बढेकाले एउटा राम्रै करेक्सन खोजेको थियो, आज त्यो करेक्सन आएको छ, बिस्तारै जाँदा लामो गन्तव्यमा पुगिन्छ,’ उनले भने ।

विगतमा उच्च अंकले बढिसकेकाले अहिले नाफा बुक हुँदा ठूलो करेक्सन देखिएको उनले बताए । त्यतिमात्र होइन, यतिबेला अमेरिका तथा भारतका बजार केही घटेका छन्, त्यसको त्रास पनि नेपाली बजारमा केही मात्रामा परेको हुन सक्ने लगानीकर्ता बताउँछन् । तर ढकाल भने यसमा असहमत छन् ।

‘यहाँ भारतीय तथा अमेरिकी कम्पनी सूचीकृत छैनन्, त्यहाँका लगानीकर्ता पनि छैनन्, त्यसकारण ती बजारले नेपालको बजारलाई प्रभावित पार्दैन,’ उनले भने ।

के भनेका थिए दुई सांसदले ?

सोमबार संसद् बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ब्रोकर र केही लगानीकर्ताको मिलेमतोमा चार कम्पनीको मूल्य अस्वाभाविक बढेको टिप्पणी गरेका थिए ।

उनले नामै किटेर नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य अस्वाभाविक बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । क्लब हाउस तथा अन्य सोसल मिडियामार्फत कर्नरिङ गराइ केही व्यक्तिले मूल्य अस्वाभाविक बढाएको उनले आरोप लगाएका थिए ।

‘कृत्रिम बजार बनाएर आमजनतालाई ठग्ने काम भइरहेको छ, त्यस्ता कारोबारीलाई काराबाहीका लागि छानबिन समिति बनाउन ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले संसद्मा भनेका थिए ।

उनीमात्र होइन, पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता प्रकाशशरण महतले बजारमा बुल ट्रेन्ड देखिनुलाई सहज लिन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिएका थिए । केही संस्थाको व्यापार विस्तार तथा नाफा नबढिकन बजार मूल्य डबल, ट्रिपल भएको भन्दै उनले पनि नियामक र सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?