+

भारतलाई हराएर इतिहास रच्ने अवसर

२०८१ साउन  २३ गते ८:१० २०८१ साउन २३ गते ८:१०

दक्षिण एसियाली स्तरको धेरै खेलकुदमा नेपालको मुख्य प्रतिस्पर्धी भारत रहँदै आएको छ । अहिलेसम्म नेपालले महिला भलिबलमा एक पटक मात्र भारतलाई हराएको छ । त्यो पनि गत शनिबार यही काभा वुमन्स लिगमा हो ।

भारतलाई हराएर इतिहास रच्ने अवसर

२३ साउन, काठमाडौं । महिला भलिबलमा नेपालले फेरि एउटा उपाधि भिडन्त भारतसँग नै गर्नुपर्ने भएको छ । काभा वुमन्स नेसन्स लिगमा मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि आमने-सामने हुन लागेका हुन् ।

सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर बुधबार छ ।

यही प्रतियोगितामा शनिबार लिग चरणको खेलमा भारतलाई हराएकाले नेपाली टिम आत्मविश्वासी छ । प्रतियोगितामा सहभागी सबै टिमलाई हराएको हुनाले नेपाल उच्च मनोबलमा रहेको प्रशिक्षक जगदिश भट्टले बताए ।

‘हामीले विपक्षी अनुसारको रणनीति बनाएर खेलाउन सक्यौं भने जित्न सक्छौं’, उनले भने । नेपालले लिग चरणमा भारत, माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने इरानसँग हार व्यहोरेको थियो । इरानसँग लिग चरण्मा भेगेको पराजयले कमजोरी सच्याउने अवसर पाएको भट्टले बताए ।

भारतसँग यसअघि पटक पटक प्रतिस्पर्धा गरिसकेको र भारतका धेरै खेलाडीले नेपालमा लिग खेलेकाले उनीहरुबारे धेरै जानकारी रहेको उनको भनाइ छ । ‘उनीहरुको ब्लक र स्पाइक राम्रो छ । हामीले सर्भिस र डिफेन्स आजजस्तो गर्न सक्यौं भने भोलिको खेलमा भारतलाई सोझो सेटमा हराउन सक्छौं’, भट्टले भने ।

मंगलबार इरानसँगको सेमिफाइनल खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट २५–२१, दोस्रो सेटमा २८–२६ र तेस्रो सेट २५–२० ले जितेको थियो । मंगलबारको खेलमा स्पाइकरहरु उषा भण्डारी र निरुता ठगुन्नाले राम्रो प्रदर्शन गरेका थिए ।

‘अस्ति उषालाई पछाडिबाट खेलाएका थियौं । निरुतालाई अगाडिबाट खेलाएका थियौं । निरुता अहिलेको टिमको सबैभन्दा बढी प्राविधिक रुपमा खेल्ने खेलाडी हो । डिफेन्डिङ बल हान्न सकेको भए हामीले लिगमा पनि खेल जित्थ्यौं । तर आज त्यही कुरा बुझेर खेल्दा उषाले धेरै अंक जोडेको छ’, प्रशिक्षक भट्टले भने ।

इरानसँग लिग चरणमा हारेकाले मंगलबारको खेल जित्नैपर्छ भन्ने मानसिकतामा खेलेको कप्तान अरुणा शाहीले बताइन् । नेपालका लागि इरानी टिम नयाँ हो । ऊसँग नेपालले एक पटक मात्र सन् २०१७ मा प्रतिस्पर्धा गरेको थियो ।

‘इरानसँग खेल्दा रेष्ट पनि पुगेको थिएन । उनीहरुको बलहरु बुझ्न सकेका थिएनौं । पहिलो पटक खेल्दा हामीले नबुझेको पोइन्टहरु पनि हामीले आजको खेलमा राम्ररी विश्लेषण गरेर खेल्यौं’, अरुणाले भनिन् ।

भारतसँग खेल्न पाउँदा उत्साह

दक्षिण एसियाली स्तरको धेरै खेलकुदमा नेपालको मुख्य प्रतिस्पर्धी भारत रहँदै आएको छ । अहिलेसम्म नेपालले महिला भलिबलमा एक पटक मात्र भारतलाई हराएको छ । त्यो पनि गत शनिबार यही काभा वुमन्स लिगमा हो ।

त्यसैले भारतविरुद्धको खेल जित्दा नेपाली समर्थक धेरै नै उत्साहित हुने गर्छन् । कप्तान अरुणा भारतसँग फेरि खेल्न उत्सुक रहेको बताउँछिन् । ‘भारत खेल्दा हामीले खेल्नुपर्छ, ठोक्नुपर्छ भन्ने लाग्छ’, उनले भनिन् ।

भारतीय टिमबारे धेरै जानकारी रहेको भन्दै प्रशिक्षक भट्ट इरानसँग भन्दा सहज हुने बताउँछन् । ‘इरानसँग भन्दा हामीलाई भारतसँग खेल्न सहज हुन्छ । उनीहरुको कमजोर र बलियो पक्ष हामीलाई थाहा छ । कुन खेलाडी कसरी खेल्छ थाहा छ’, उनले भने ।

सन् २०१९ को दक्षिण एसियाली खेलकुद र सन् २०२३ को काभा वुमन्स च्यालेन्ज कपमा नेपालले घरेलु मैदानमा भारतसँग हारका कारण उपाधि गुमाएको छ । यसपटक भने भारतको खेललाई राम्ररी विश्लेषण गर्र्दै खेल्ने र गल्ती नदोहोर्‍याउने कप्तान अरुणाले बताइन् ।

‘गत शनिबार हाम्रै गल्तीका कारणले बेष्ट अफ फाइभ खेलेका थियौं । भोलि चाहिँ हामी कमी कमजोरी सुधार गरेर बलियो मानसिकता साथ खेल्छौं, हामीलाई घरेलु समर्थकको पनि साथ छ’, उनले भनिन् ।

काभा वुमन्स नेसन्स लिग महिला भलिबल
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय