+
+

बेलायतमा दंगा : कसरी सुरु भयो ? यसको पछाडि को छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते ९:२२

२३ साउन, काठमाडौं । केही दिनदेखिको हुलदंगाले बेलायत अशान्त छ । लण्डनस्थित नेपाली दूतावासले हुलदंगा भएका स्थानमा नजान र सुरक्षा निकायले जारी गरेका सूचना पालना गर्न नेपालीहरुलाई अनुरोध गरेको छ ।

ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ । विभिन्न ठाउँमा तोडफोड र आगजनीका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिने प्रयासमा ३०० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । तर तनाव रोकिएको छैन ।

यसलाई बेलायतमा सन् २०११ पछिको सबैभन्दा ठूलो हिंसा भनिएको छ । त्यतिबेला एक मिश्रित नस्लवादी व्यक्ति प्रहरीबाट मारिएपछि हिंसा भड्किएको थियो ।

अहिले फेरि हिंसा बढ्न थालेपछि प्रधानमन्त्री कियर स्टार्मरले आपतकालीन बैठक बोलाएका छन् । उनले हुलदंगा गर्नेहरुविरुद्ध निर्मम बन्ने घोषणा गरेका छन् । यसअघि स्थिति नियन्त्रणमा लिन सेना परिचालन गर्नेबारे छलफल भएको थियो । तर पछि प्रहरी नै पर्याप्त भएको निष्कर्ष सरकारी अधिकारीहरुले निकालेका छन् ।

गत हप्ता साउथ पोर्टको एक नाइट क्लबमा तीन बालिकाको हत्या भएको थियो । हत्यामा एक्सेल रुदाकुबाना नाम भएका १७ वर्षीय किशोरको संलग्नता रहेको प्रहरीको भनाइ छ । उनले १० जनाको हत्या प्रयास गरेका थिए, तीमध्ये ८ जना बालबालिकाहरु थिए । तीन बालिकाको हत्यापछि विरोध प्रदर्शन सुरु भयो ।

यस घटनापछि दक्षिणपन्थी गुटले मुस्लिम विरोधी र आप्रवासी विरोधी भावना भड्काएको आरोप छ । सामाजिक सञ्जालमा गलत अफवाह फैलाउने कोसिस गरिएको छ ।

आप्रवासी विरोधीहरुले रोदरह्याम शहरस्थित होलिडे इन एक्सप्रेस होटलको झ्यालका सिसा फुटाउँदै त्यहाँ आगजनी गरिदिए । त्यो होटलमा आप्रवासीहरु बस्ने गर्दथे । नकाबधारीहरुले होटलमा आगजनीमात्र गरेनन् आगो निभाउन गएका प्रहरीमाथि पनि आक्रमण गरे । त्यसबाट कम्तिमा १० जना प्रहरीहरु घाइते भए ।

गत आइतबार साँझ पनि यस्तै प्रकारको घटना टेमवर्थ शहरको होलिडे इन होटलमा पनि भयो । त्यो होटलमा बेलायतमा शहरण लिएका केही व्यक्तिहरुसमेत थिए । त्यो होटलमा पनि तोडफोड र आगजनी भयो । प्रदर्शनकारीले दुई वटा मस्जिदलाई पनि निशाना बनाए । त्यसपछि गृह मन्त्रालयले मस्जिदहरुमा सुरक्षा बढायो ।

को हुन् प्रदर्शनकारी ?

जसले आप्रवासीहरु बस्ने गरेको होटल र प्रहरीलाई निशाना बनाए त्यसमा घोर दक्षिणपन्थी झुकाव राख्नेहरु रहेको आरोप छ । यसमा केही घुसपैठ पनि भएको हुनसक्ने अनुमान छ । यस्ता घटनामा सामाजिक सञ्जालमार्फत् फैलाइएका अफवाहले पनि बल पुर्याएको छ । हालैका वर्षदेखि बेलायतका दक्षिणपन्थी केही नेताहरुले आप्रवासीहरुको बढ्दो संख्याप्रति चिन्ता व्यक्त गर्ने गरेका छन् ।

एक महिना अघि मात्रै घोर दक्षिणपन्थी पार्टीका उम्मेदवारलाई हराउँदै प्रधानमन्त्री चुनिएका कियर स्टार्मरका लागि यो हिंसात्मक प्रदर्शन रोक्ने चुनौती छ ।

हिंसात्मक प्रदर्शनपछि सबै पार्टीका सांसदहरुले संसदको सत्र बोलाउन सरकारलाई दबाब दिइरहेका छन् ताकि यो समस्याबारे छलफल गर्न सकियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?