+
+

बागलुङ बडिगाड पहिरो : ३ जना घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १०:१५

२३ साउन, पोखरा । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत गम्भीर घाइते ३ जनालाई शिक्षण अस्पताल पुर्‍याइएको हो ।

बडीगाड–१० आरुपाटामा सुरक्षित ठानेर आश्रय लिएकै घरमा पहिरो खस्दा ६ जनाले ज्यान गुमाएका थिए भने ४ जना अझै बेपत्ता छन् र ९ जना घइते छन् । गम्भीर घाइते बनेका घरधनी जोगबहादुर बुढाको समयमै अस्पताल पुर्‍याउन नसक्दा साँझ मृत्यु भएको थियो ।

सेनाको हेलिकप्टर मंगलबारै पुगेको भए पनि प्रतिकुल मौसमका कारण घाइतेलाई बडीगाड पुगेर काठमाडौं लैजाने अवस्था नबनेपछि बागलुङ सदरमुकामकै राखिएको थियो ।

अहिले हेलिकप्टरमार्फत ३१ वर्षीया सीता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीय संगीता बुढालाई उपचारका लागि काठमाडौं पुर्‍याइएको हो । अन्य घाइतेलाई थप उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

२६ वर्षीय ओमप्रसाश पुन, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय सशीराम विक र ९ वर्षीय ज्ञाने बुढालाई उपचारका लागि बुर्तिबाङ लगिएको छ ।

आरुपाटामा मंगलबार खसेको पहिरोमा पुरिएर घरधनी जोगबहादुर बुढा, छिमेकी ७० वर्षीया मोतीदेवी कामी, सिर्जना विकको ६ महिनाकी छोरी सीता विक, ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा र ११ वर्षीया सीता पुनले पहिरोमा पुरिएर ज्यान गुमाएका हुन् ।

मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको सहायक सीडीओ बरालले जानकारी दिए । बडीगाडमा मंगलबार वडा नम्बर ९ मा २ र वडा नम्बर १० मा ६ जनाको पहिराले ज्यान लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?