+

शरीर विज्ञान : हड्डी नहुँदो हो त के हुन्थ्यो होला ?  (भिडियो)

२०८१ साउन  २३ गते १६:३७ २०८१ साउन २३ गते १६:३७
शरीर विज्ञान : हड्डी नहुँदो हो त के हुन्थ्यो होला ?  (भिडियो)

सोच्नुहोस् त, हाम्रो शरीरमा हड्डी नै नहुँदो हो त के हुन्छ ?

शरीर संरचनामा हड्डीको खास काम हुन्छ । हड्डी कसरी रहन्छ ? त्यसले के कस्ता काम गर्छ ? त्यो कसरी बन्छ ? कसरी कमजोर हुन्छ ? चासो हुनुपर्छ ।

शरीरमा १३ वटा प्रणाली छन्, जसमध्ये श्वासप्रश्वास प्रणाली, मूत्र प्रणाली, प्रजनन् प्रणाली जस्तै मांसपेशी तथा अस्थिपञ्जर प्रणाली पनि छ ।

मांसपेशी तथा अस्थिपञ्जर प्रणालीले हाम्रो शरीरलाई आकार र स्थिरता दिएको हुन्छ । मानव शरीरमा साना ठूला गरी २०६ वटा हड्डी हुन्छन् । ती हड्डीहरूलाई भरथेग गर्न ६३९ वटा मांसपेशी, लिगामेन्ट र कार्टिलेज हुन्छन् ।

मांसपेशी तथा अस्थिपञ्जर प्रणाली अन्तर्गत एउटा हड्डी र अर्को हड्डीबीचको भागलाई जोर्नी भनिन्छ । त्यस्तो जोर्नीलाई चलायमान बनाउन, भरथेग गर्न लिगामेन्ट र मांसपेशीले सहयोग गर्छ ।

मांसपेशी तथा अस्थिपञ्जर प्रणालीको काम

हड्डीहरू आफैं चल्न सक्दैनन् । त्यसलाई चलायमान बनाउन जोर्नी, मांसपेशी, लिगामेन्ट (जोर्नीबीच रहने बाक्लो मासु) र त्यसमा हुने रक्तसञ्चार प्रणालीको खास भूमिका हुन्छ । हड्डीको चारैतर्फ पेरिओस्टियम नामक बाह्य झिल्ली हुन्छ, जसको माध्यमबाट मांसपेशी र स्नायु तन्त्र जोडिन्छन् ।

मांसपेशीलाई अड्याएर शरीरको संरचना तयार गर्न हड्डीको खास उपस्थिति हुन्छ । शरीरको आवरणलाई निश्चित आकार दिने हड्डी खासमा विभिन्न अंगहरुको सुरक्षा कवच पनि हो । हाम्रो शरीरका भित्री अंगलाई यसले जोगाएर राख्ने गर्छ । जस्तै मस्तिष्क, टाउकोभित्र रहेको मस्तिष्कलाई हड्डीले छोपेर रक्षा गरिराखेको हुन्छ । यदि हड्डी नहुने हो भने सानो चोटपटक लाग्दा पनि मस्तिष्कमा चोट पर्छ ।

फोक्सो र मुटुलाई करङको हड्डीले जोगाएर राखेको छ । त्यस्तै मेरुदण्डले त्यसभित्र रहेको सुषुम्ना नलीलाई जोगाएर हाम्रो हातखुट्टा चलाउन सहयोग गर्छ । त्यसबाहेक हड्डीले रातो, सेतो रक्तकोषिका उत्पादन गर्छ, खनिजहरू भण्डारण गर्छ ।

शरीरमा भएको कुल क्याल्सियमको ९९ प्रतिशत क्याल्सियम हड्डीमा हुन्छ । एक प्रतिशत मात्र रगतमा हुन्छ । हड्डीमा ९९ प्रतिशत क्याल्सियम भएको कारणले नै यो बलियो हुन्छ ।

यस्तोमा हड्डीमा क्याल्सियमको मात्रा कम हुँदै गयो भने हड्डी मक्किएर सामान्य चोटपटकमा पनि भाँचिने हुन्छ । यस्तो समस्या विशेषगरी महिलामा महिनावारी सुकेपछि हुन्छ । ६० वर्ष कटिसकेपछि पनि हड्डीमा क्याल्सियमको मात्रा कम हुँदै जान्छ र यस्तो समस्या निम्तिन्छ ।

हड्डी कमजोर हुने कारण

अत्याधिक मात्रामा धुम्रपान, मद्यपान गर्ने व्यक्तिमा क्याल्सियमको कमी हुन्छ । कसैले दम, मिर्गौलाको समस्यामा लामो समय स्टेरोइड औषधिको सेवन गरेका छन् भने उनीहरूमा पनि क्याल्सियमको कमी हुन्छ र हड्डी कमजोर हुन्छ ।

शरीरमा भिटामिन डी हुनु, नियमित व्यायाम लगायत हिंडडुलमा कमी हुनु आदि कारणले हड्डी कमजोर हुन्छ ।

क्याल्सियमको सप्लिमेन्ट जथाभावी खानु हुँदैन

शरीरको हड्डीलाई बलियो बनाउनुका साथै मांसपेशीको खुम्चिने, तन्किने प्रक्रियामा पनि क्याल्यिमको महत्वपूर्ण भूमिका छ । नसाको कामका लागि पनि क्याल्सियम चाहिन्छ । एक वयस्क व्यक्तिलाई दैनिक एक हजार मिलिग्राम क्याल्सियम चाहिन्छ ।

उमेर बढ्दै जाँदा हड्डीलाई बलियो बनाउन भन्दै क्याल्सियम सप्लिमेन्ट खाने गरिन्छ त्यो गलत हो । आफूखुसी क्याल्सियम सप्लिमेन्ट खाइयो र शरीरमा क्याल्सियमको मात्रा बढी भयो भने यसले शरीरमा अन्य असर गर्छ ।

क्याल्सियम खाली पेटमा खाइयो भने शरीरले त्यसलाई राम्ररी अवशोषित गर्छ तर खाना खाएलगत्तै खाइयो भने राम्ररी अवशोषित हुँदैन । तर खाली पेटमा क्याल्सियम खाँदा ग्यास्ट्रिकको समस्या हुन्छ । शरीरमा क्याल्सियम बढी भयो भने त्यसले मिर्गौलामा पत्थरी बनाउँछ । क्याल्सियम बढी भएमा मुटुको मासंपेशीहरुलाई पनि असर गर्छ ।

शरीरमा क्याल्सियमको मात्रा कम भएको छ भने चिकित्सकको सल्लाहमा मात्र यो सप्लिमेन्ट खानुपर्छ । क्याल्सियमको सप्लिमेन्ट रेगुलर खानु राम्रो होइन । ६ हप्ता खाइयो भने ६ हप्ता ग्याप राखेर मात्र खानुपर्छ ।

चिकित्सकको सल्लाहमा बढ्ने उमेरका बच्चाले केही समय क्याल्सियम खान सक्छन् । बच्चालाई दूध खुवाउने आमा र महिनावारी बन्द भएका महिलाले पनि केही समय क्याल्सियम खान सक्छन् । साथै अस्टिपोरियोसिस (हड्डी खिइने समस्या) भएका व्यक्तिले पनि केही समय क्याल्सियम सेवन गर्न सक्छन् ।

हड्डीलाई बलियो बनाउने उपाय

हड्डी बलियो बनाउन सबैभन्दा पहिले क्याल्सियम र प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । शरीरमा क्याल्सियमको कमी हुन नदिन दूध, दूधबाट बनेका परिकार, मासु, अण्डा, माछा, फलफूल खानुपर्छ ।

शरीरमा भिटामिन डीको कमी भएमा क्याल्सियम सोस्ने क्षमता कम हुन्छ । त्यसैले शरीरमा भिटामिन डीको मात्रा सन्तुलित राख्नुपर्छ ।

नियमित रुपमा कसरत गरेर पनि जोर्नी तथा हड्डीलाई बलियो बनाउन सकिन्छ ।

तस्वीर, भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

डा. विनोद बिजुक्छे मांसपेशी तथा अस्थिपञ्जर हड्डी
डा. विनोद बिजुक्छे
लेखक
डा. विनोद बिजुक्छे
अर्थोपेडिक तथा स्पाइन सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २३८९ अध्ययन : एमबीबीएस, एमएस (अर्थोपेडिक्स), एओ फेलोसिप (स्पाइन सर्जरी) हाल काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालको निर्देशक तथा अर्थोपेडिक्स विभाग प्रमुख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय