+
+

धनुषामा ८० विघा आँप बगैंचा फाँडेर सोलार प्लान्ट राख्ने तयारी

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ साउन २३ गते १३:१८

२३ साउन, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा ८० बिघा आँपको बगैंचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी भएको छ ।

काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित जन्दादेवी सोलार प्रालिले आँप पकेट क्षेत्रमा सौर्य प्लान्ट स्थापनाको काम अघि बढाएको छ । ५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि १२ जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरिसकेको छ ।

उक्त कम्पनीले २९ असारमा किसानहरुसँग गरेको सम्झौतामा वार्षिक प्रतिकठ्ठा ८ हजार रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख छ ।

संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले त्यहाँ कुनै सिँचाइ आयोजना नरहेको भन्दै ती जग्गा सिँचाइयोग्य नरहेको प्रमाणित गरिदिएको छ ।

त्यस्तै बटेश्वर गाउँपालिका–१ को वडा कार्यालयले १ साउनमा केन्द्र र प्रदेश सरकारका कुनै सिँचाइ आयोजना नभएको भन्दै ती जग्गा सिँचाइ योग्य नरहेको प्रमाणित गरिदिएको छ ।

जन्दा देवी सोलार प्रालिले लिन खोजेको सबै जग्गामा आँप खेती रहेको वडा नं. १ का वडाध्यक्ष अशोककुमार महतो बताउँछन् । उनका अनुसार वर्षेनी यस क्षेत्रबाट लाखौं रुपैयाँको आँप बिक्री हुन्छ ।

‘प्रस्तावित सोलार प्लान्टका लागि ८० विघा जग्गा चाहिने भनेको छ । त्यो सबै जग्गामा अहिले आँप खेती छ । आँप उत्पादन हुन्छ’, वडाध्यक्ष महतोले भने ।

किसानहरु विभाजित

आँप खेती फडानी गरेर सोलार प्लान्ट स्थापना गर्ने विषयमा किसानहरु विभाजित छन् । कुनै वर्ष आँपखेतीमा क्षति भोग्दा सरकारले राहत नदिएको भन्दै कतिपय किसान सोलार प्लान्ट स्थापनाका लागि जग्गा दिनु बाध्यता भएको बताउँछन् ।

स्थानीय नथुनी कुशवाहा भन्छन्, ‘हावाहुरी असिनापानीले पटक पटक आँप खेतीमा ठूलो क्षति भयो । कयौं पटक हामी पीडित किसान संकटमा पर्‍यौं । सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदै गुहार लगायौं । मन्त्री, सिडियो सबै अवलोकन गरेर गए । तर राहत कतैबाट पाइएन । यो जग्गा सोलार प्लान्टका लागि दिनु हाम्रो बाध्यता हो ।’

सरकार अहिले पनि आँप किसानप्रति गम्भीर भए सोलार प्लान्टलाई यथास्थितिमै रोक्ने उनको भनाइ छ ।

अर्का किसान रामखेलावन महतोको भनाइ पनि नथुनीकै जस्तो छ । उनका अनुसार सोलार प्लान्टलाई जग्गा दिने विषयमा केही किसानहरुबीच छलफल भएको थियो । यसपटक आँप सस्तो भएर कयौं किसानको आँप लिने व्यापारी नै आएनन् ।

‘त्यसरी क्षति ब्यहोर्नु भन्दा कठ्ठाको वार्षिक ८ हजार रुपैयाँमा सोलार प्लान्टलाई नै दिन उपयुक्त हो भन्नेमा सबै सहमत भए’, उनले भने ।

आँप खेतीको प्रवर्द्धन गर्न चित्रपुरमा स्थानीयले १४ असारमा आँप मेला आयोजना गरेका थिए । तर, पकेट क्षेत्रको ८० बिघाकै आँप खेती नै फडानी गरेर सोलार प्लान्ट बसाउने तयारीले केही किसान दुःखी छन् । र सोलार प्लान्टको विपक्षमा उभिएका छन् ।

‘आँप खेती चित्रपुर गाउँको पहिचान हो । आँप खेतीलाई व्यवस्थित बनाउँदै बजारीकरणमा जोड दिनुपर्छ । यस पटकदेखि बजारीकरणको पहल भएको छ । विभिन्न शहरमा बटेश्वर चित्रपुरको आँप चिनाउने प्रयास भएको छ’ स्थानीय आँप किसान रामउदगार महतो भन्छन् ।

तर आँप पकेट क्षेत्रमा आँप खेती फाँडेर सोलार प्लान्ट स्थापना गर्नु खेदजनक भन्दै उनी यसलाई रोक्नुपर्ने बताउँछन् ।
सोलार प्लान्टका लागि अन्यत्र खाली जग्गा खोज्न सकिने उनको भनाइ छ । आँप खेती फाँडेर सोलार प्लान्ट राख्न खोजे आन्दोलन हुने महतोको चेतावनी छ ।

स्थानीय शिक्षक समेत रहेका आँप किसान धर्मेन्द्रकुमार महतोलाई सोलार प्लान्टमाथि शंका छ ।

‘आज जग्गा लिजमा लिएर आँपका रुख फडानी गरी सोलार प्लान्ट स्थापना हुन्छ । भोलि घाटा लागेर ठेकेदार भाग्यो भने खेतको अवस्था के होला ?’, उनी भन्छन् ‘त्यसकारण म जस्ता धेरै किसान अहिलेसम्म दिने निर्णयमा पुगिसकेका छैनौं ।’

कम्पनी भन्छ : अन्यत्र जग्गा पाइएन

जल्दादेवी सोलार प्रालिले भने अन्यत्र जग्गा नपाइएको बताए । उत्पादित सौर्य विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने हुनाले ढल्केबर सब स्टेशन नजिकको जग्गा चाहिने कम्पनीका प्रतिनिधि इन्जिनियर अभिषेक पराजुलीले बताए ।

‘अन्यत्र एकै ठाउँमा ८०–८५ बिघा जग्गा पाइएन । बटेश्वरको आँप पकेट क्षेत्रका किसानले दिन मानेपछि हामीले त्यहाँ प्लान्ट स्थापनाको तयारी गरेका हौं । जग्गा महंगो नै लिनुपरेको छ । आँप बगैंचाको जग्गा लिनु हाम्रो पनि बाध्यता नै हो’, उनले भने ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?