+
+

अनलाइनखबरकर्मी प्रसुन संग्रौलालाई फिल्म क्रिटिक्स अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १३:४५

काठमाडौं । अनलाइनखबरकर्मी प्रसुन संग्रौलाले फिल्म क्रिटिक्स अवार्ड जितेका छन् । नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले आयोजना गरेको फिल्म क्रिटिक्स प्रतिस्पर्धामा उनले दोस्रो स्थान प्राप्त गर्न सफल भएका हुन् ।

‘फिल्म क्रिटिक्स अवार्ड-२०२४’ मा प्रथम स्थान नेपालखबर डटकमकी श्रीजु सरलले हासिल गरिन् । उक्त प्रतिस्पर्धामा १४ जना सहभागी थिए । प्रतियोगितामा भाग लिन एउटा नेपाली सर्ट फिल्म र अर्को नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलमा देखाइएको एक फिल्मको समीक्षा गरेको हुनुपर्ने प्रावधान राखिएको थियो ।

ईयूले गत चैत ७ देखि चैत १० गतेसम्म आयोजना गरेको ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल–२०२४’ मा देखाइएका नौ युरोपियन फिल्म र ११ नेपाली सर्ट फिल्म गरी २० फिल्ममध्येबाट दुवै विधामा १/१ फिल्ममाथि समीक्षा गर्न आह्वान गरिएको थियो ।

संग्रौलाले युरोपियनतर्फ भिक्टोर बोजिनभ निर्देशित बल्जरियन फिल्म ‘द नेकेड ट्रथ अबाउट झिगुली ब्याण्ड’ र नेपालीतर्फ मिराज रोशन ठकुरी निर्देशित ‘रातो पछ्यौरी’ (अ टेल अफ टर्मोइल, टेम्प्टेसन एण्ड ट्रायम्फ) माथि समीक्षा गरेका थिए ।

‘यो अवार्डले मलाई आगामी दिनमा अझै उत्कृष्ट काम गर्न प्रोत्साहित गरेको छ । ईयूले यस्ता अरू पनि कार्यक्रम गर्नुपर्छ’ संग्रौलाले भने, ‘रातो पछ्यौरीमाथि लेख्न मलाई यसको नामले आकर्षित गरेको हो भने झिगुली ब्याण्डमाथिको फिल्ममा लेख्न भने मेरो संगीतप्रतिको आफ्नै व्यक्तिगत लगावले पनि हौसला मिलेको हो ।’

प्रतिस्पर्धाको निर्णायकमा पत्रकार तथा सिनेकर्मी सामीप्यराज तिमल्सेना, कवि विमला तुम्खेवासँगै युरोपियन युनियनका प्रतिनिधि थिए ।

साथै, ‘नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल-२०२४’ मा देखाइएका ११ नेपाली सर्ट फिल्मबीच पनि प्रतिस्पर्धा राखिएको थियो । उक्त प्रतिस्पर्धाको नतिजा पनि सोही कार्यक्रममा सार्वजनिक गरियो । जसमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘ध्ये ड्रिम्स’ले ‘उत्कृष्ट लघु चलचित्र’को उपाधि जित्दा सोयन मास्के मानन्धरको ‘द बुल, द काउ, द काफ’ले विशेष मनोनयन प्राप्त गर्‍यो ।

नेपालसँगको ५० वर्ष लामो सहकार्यमा युरोपियन युनियनले गत वर्ष १३औं संस्करणको फिल्म महोत्सव आयोजना गरेको हो भने फिल्म समीक्षातर्फ पहिलोपटक प्रतिस्पर्धा आयोजना गरेको हो ।

दुवै प्रतिस्पर्धाका चारैजना विजेतालाई ईयूले ब्रसेल्समा हुने नेपाली फिल्म महोत्सवमा सहभागिताका लागि लैजाने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?