+
+

हेटौंडामा कार्यालय खोलेर अनलाइन ठगी, ९ जना भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १३:४९

२३ साउन, हेटौंडा । हेटौंडामा कम्पनी दर्ता गरी कार्यालय खोलेर अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथस्थित प्रमोद वाग्लेको घरको फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी अनलाइन ठगी धन्दा चलाइरहेको सूचनाको आधारमा छापा मारेको थियो ।

मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालले कम्पनी दर्ता गरी कार्यालय नै राखेर अनलाइन ठगीमा संलग्नलाई पक्राउ गरी अदालतमा पेस गरिएको जानकारी दिए ।

‘त्यहाँबाट अनलाइन ठगीको काम हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर सबै डाटा भारतको राँचीस्थित हेड अफिसमा मात्रै रहेको भेटियो,’ एसपी रिजालले भने ।

भारत नयाँदिल्ली घर भएका द्रविनकुमार सिंहको नाममा १० फागुन २०८० मा हेटौंडा उपमहानगरपालिका कार्यालयमा ‘मेडिअसिष्ट’ कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने उद्देश्यले कम्पनी खोलेको प्रहरीले जनाएको छ ।

उक्त कम्पनी सोही मितिमा आन्तरिक राजस्व कार्यालय हेटौंडामा मानव स्वास्थ्य सम्बन्धी अन्य क्रियाकलापका सेवा प्रदान गर्ने प्रयोजनका लागि दर्ता रहेको एसपी रिजालले जानकारी दिए ।

‘मेडि असिष्ट’ कम्पनी देखाएर सर्वसाधारणलाई अनेकौं प्रलोभनमा पार्ने, सट्टेबाजी खेलाउने, क्रिप्टोकरेन्सीको काम गर्ने, उपहार परेको वा पार्सल आएको नाममा अनलाइन ठगी गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको उनले बताए ।

पक्राउ परेका ९ जना काम गर्ने कर्मचारी रहेको र तलब १८ हजारदेखि ५० हजार रुपैयाँ नगदमै बुझ्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारतको पटना थाना आलमगंजका २८ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरुख खान, बिहारका २९ वर्षीय कुन्दन कुमार, नैनिताल उत्तराखण्डका २६ वर्षीय आशिष कब्डौला, राँची झारखण्डका ३४ वर्षीय विशाल कक्कडलाई पक्राउ गरेको हो ।

यसैगरी राँची झारखण्डका ३८ वर्षीय लोकेशकुमार दुवे, राँची झारखण्डकै २९ वर्षीय विकासकुमार सिंह, नांगलोड वेस्टी दिल्लीका २८ वर्षीय अरुण कुमार र गजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मालाई पक्राउ गरिएको एसपी रिजालले जानकारी दिए ।

ठगी धन्दामा संलग्न थप तीन जना फरार रहेको उनको भनाइ छ । कम्पनीमा १२ जना भारतीय नागरिक मात्रै कार्यरत रहेकोमा कम्पनीका सञ्चालक द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश भनिने आरोपित फरार रहेका हुन् ।

उक्त कम्पनीबाट कुनै पनि आर्थिक कारोबार कानुन बमोजिम नगरिएको साथै अभिलेखीकरण पनि नभएको, भारतको राँचीस्थित हेड अफिसमा मेन सरभर राखेर ‘क्वीक कल क्लाइन्ट सफट्वेयर’ मार्फत काम गर्ने गरिएको, सफ्टवेयरमार्फत ‘टार्गेट’ व्यक्तिको पहिचान गरी उसको सम्पूर्ण विवरण सफ्टवेयरमार्फत नै भारत पठाउने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रिजालले जानकारी दिए ।

त्यो कम्पनीले नेपाली तथा विभिन्न देशका व्यक्तीहरुलाई ‘टार्गेट’ बनाउने गरेको, कम्पनीले अधिकांश रातको समयमा मात्र काम गर्ने गरेको, जुन उद्देश्यले कम्पनी दर्ता गरिएको थियो त्यो अनुसारको कुनै पनि कार्यहरु हालसम्म पनि नगरिएको जनाइएको छ ।

प्रहरीले उक्त कार्यालयबाट ल्यापटप ७ वटा, राउटर ३ वटा, मोबाइल १३ वटा, हार्डडिस्क १, बेव क्यामेरा १, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान लगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?