+
+

लमजुङको झर्झराउँदो गाईखुरे झरना

रासस रासस
२०८१ साउन २३ गते १६:५६

२३ साउन, लमजुङ । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । ८० मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्नन् ।

झरनाको फेद पुग्न मन लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ । झरनाले मनै लोभ्याउँदा विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक झरनामा आनन्द लिन आउने गरेका छन् ।

डुम्रे–बेँसीसहर सडक छेउमै तथा मर्स्याङ्दी नदी नजिकै यो झरना छ । बेँसीसहर नगरपालिका–१ दलालस्थित गाईखुरे झरना अगाडि एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु । यस झरनामा दैनिक यतिबेला दुई सयभन्दा बढी पर्यटक आउने गरेका छन् ।

त्यस्तै, शुक्रबार, शनिबार र बिदाको समयमा यहाँ दोब्बर पर्यटक झरनामा आउने गर्दछन । स्थानीय सुदिप पन्तका अनुसार यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेका छन् ।

मनोरञ्जनको क्षेत्र कम भएको यस जिल्लामा यस झरना मनोरञ्जनको माध्यम यस झरना बनिरहेको छ । साथीहरुबीच एकापसमा पानी छ्यापा–छ्याप गर्नु र पौडिएर माछा जस्तै पोखरीमा ओहोरदोहोर गर्दै मज्जा लिने समेत पर्यटकले गर्दछन् ।

बर्सेनि झै यस वर्षपनि झरनामा आउनु भएका बेँसीसहर नगरपालिका– ८ का एन्जिल गुरुङले झरनाको शीतलतासँगै तस्बिर खिच्दा रमाइलो हुने गरेको बताए । यस्तै, अर्का पर्यटक अरुण बरालले साथीहरुसँग झरनामा आएको र झरनासँग फोटो खिच्ने, पौडी खेल्ने, साथीभाइसँग रमाइलो गरेर झरनाको मज्जा लिएको सुनाए ।

झरना व्यवस्थित भने हुनसकेको छैन । स्थानीयका अनुसार विगतमा यहाँ विदेशी पर्यटकसमेत आउने गरेका थिए । सो झरना र पोखरी हेर्न तथा पौडी खेल्न मात्र नभइ साहसिक खेल क्यानोनिङकोसमेत राम्रो सम्भावना छ ।

बेँसीसहर नगरपालिका–१ का वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले यतिबेला पर्यटकको भीडभाड लागिरहेको बताए । पर्यटकहरुको भीड लागेपनि यस झरनालाई व्यवस्थित बनाउन नसक्दा दुःख लागिरहेको उनको भनाइ छ ।

बुढाथोकीले झरनालाई थप व्यवस्थित गर्दै पूर्वाधारको संरचना थप्दै पर्यटक आकर्षित गर्न पालिकाले योजना बनाएको छ । झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेर अघि बढ्न लागेको नगरपालिकाले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?