+
+

साउदीको जेद्दामा ब्याण्डसहित गुञ्जिने तयारीमा प्रमोद खरेल (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १८:०८

काठमाडौं । गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘परम्परा’ साउदी अरेबियाले आयोजना गर्ने ‘जेद्दा सिजन २०२४’ मा गुञ्जने भएका छन् । प्रमोदका लागि यो सांगीतिक भ्रमण ऐतिहासिक र स्मरणीय हुने पक्का छ ।

साउदीको प्रमुख सहर जेद्दामा हुने कन्सर्टमा नेपालसहित आठ एसियाली मुलुकका कलाकारले संस्कृति झल्किने सांगीतिक प्रस्तुति दिंदैछन् । यसका लागि नेपाली टोलीको नेतृत्व गर्दै प्रमोदसहितको आठ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।

यो ‘कल्चरल कन्सर्ट’मा उनले दुई घण्टा प्रस्तुति दिंदैछन् । उनले आफ्ना हिट गीतसहित नेपाली संस्कृति, पहिचान झल्काउने पुराना नेपाली गीत र धुन प्रस्तुत गर्नेछन् ।

साउदी सरकारले पर्यटन, मनोरञ्जन र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले वर्षेनी ‘जेद्दा सिजन’को आयोजना गर्छ । यस वर्षको संस्करणमा एसियाली मुलुकलाई लक्षित गर्दै ‘कल्चरल ओडिसी’ कार्यक्रम तय गरिएको छ ।

एसियाली समुदाय र तिनका जीवन्त परम्परा झल्काउने उद्देश्यले हुन लागेको कन्सर्टमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इण्डोनेसिया र फिलिपिन्सका कलाकारले प्रस्तुति दिंदैछन् । नेपाली टोलीले १६ अगस्टमा प्रस्तुति दिने तय भएको छ ।

यो कन्सर्टका लागि प्रमोद र ब्याण्ड यतिबेला रिहर्सलमा छन् । ‘दर्शकले मन पराएका धेरै हिट गीत समावेश गर्ने प्रयास गरेका छौं । डान्सिङ प्याकेज र दर्शकले मनपराउनुभएका गीत हुनेछन्,’ प्रमोदले भने, ‘नेपाल र नेपालीपन पहिचान झल्किने गीत पनि तयार गरेका छौं ।’

उनले साउदी अरबको यो कार्यक्रम आफ्ना अघिल्ला विदेश टुरभन्दा भिन्न र महत्वपूर्ण हुने बताए । ‘मेरो लागि यो स्मरणीय हुनेछ,’ अनलाइनखबरसँग प्रमोदले भने, ‘नेपालबाहिर पहिलोपटक यसरी सांगीतिक टुर गर्न लागेका हौं । यसलाई लिएर हाम्रो टिम उत्साहित पनि छ ।’

त्यहाँको गर्मीको वातावरणमा अभ्यस्त हुँदै ब्याण्डको प्रस्तुतिलाई बृहत तुल्याउने आशा उनले व्यक्त गरे । ‘हामी त्यहाँको वातावरणमा म्यासअप र सिन्क हुने प्रयासमा छौं । साउदीको अहिलेको गर्मीको बाबजुद बेस्ट दिने प्रयास गर्नेछौं,’ उनले भने । उनले साउदीस्थित नेपाली समुदायलाई कन्सर्टमा उपस्थित भएर भव्य बनाइदिन अपील गरे ।

प्रमोद गत वर्ष पनि साउदीमा कन्सर्ट गरेका थिए । यो उनको दोस्रो साउदी भ्रमण हो । जेद्दाको कन्सर्टबाट फर्किएर प्रमोद हिमालय टिभीबाट प्रसारण भइरहेको ‘भ्वाइस किड्स’को फिनालेमा सहभागी हुनेछन् ।

ब्याण्डबाट गीत निकाल्ने तयारी

प्रमोद र उनको ब्याण्ड ‘परम्परा’ले यसअघि भारतको उत्तरपूर्वी थलो आसाम र सिक्किममा प्रस्तुति दिएका थिए । दशकदेखि ब्याण्डसँगै प्रस्तुति दिइराखेपनि साउदीको कन्सर्टअघि मात्र ब्याण्डको नामाकरण तय भएको हो ।

अब यो ब्याण्डबाटै गीत निकाल्ने तयारी छ । ‘अहिले कम्पोजिसनका कामहरु पनि भइराखेका छन्,’ उनले भने ।

कन्सर्टको शैलीलाई आफूले फरक बनाउने प्रयास गरेको उनले बताए । ‘दूरदराजमा सम्भव नहोला एकैचोटि । सकेसम्म कन्सर्ट ब्याण्डमै गर्नुपर्छ भन्ने चाहना छ,’ उनी भन्छन्, ‘सकेसम्म आगामी दिनमा ब्याण्डमै हिंड्ने प्रयासमा छौं ।’

दशकसम्म ब्याण्डसँग सँगै भएपनि पब्लिसिटी गर्न नपाएको र अब भने ब्याण्डलाई सक्रिय तुल्याउने तयारी उनको छ । ‘ब्याण्डका लागि शोको तालिका पनि बन्न थालेका छन् । अरु देशको कुरा पनि छ,’ उनले भने ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?