+
+

उपत्यकाका मेयरसँग प्रधानमन्त्रीले भने-सडकमा खोस्ने, लुट्ने नगरौं

केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ काम गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १८:४८

२३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गरेका छन् ।

काठमाडौं उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठूलो’ भन्ने ढंगले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिए ।

उनले जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्वाचित भएको भन्दै अहंकार र दम्भबाट निर्देशित नहुन भने । उनले नगर प्रहरी लगाएर फुटपाथ व्यापारीमाथि भइरहेको दमनलाई संकेत गर्दै रोक्न आग्रह गरे ।

‘जनताप्रति शालिन र विनयशील हुनुपर्छ । हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।’

उक्त फोरमले नेपाल विद्युत प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको लगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए । उनले फोहोरमैला व्यवस्थापनको दीगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको स्पष्ट गरे ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनताप्रति सेवा दिन आफूहरु प्रतिबद्धता रहेकाले केन्द्र सरकारबाट हुुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको साथ मागे ।

प्रधानमन्त्रीसँगकाे भेटमा काठमाडौं महानगरका मेयर बालेन शाह उपस्थित थिएनन् । उनको साटो उपमेयर सुनिता डंगोल सिंहदरबार पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?