+
+

जब १६ जनाको नाममा लघुवित्तबाट ऋण निकालेर अर्कैले खाइदिए…

स्थानीयका नाममा दोलालघाटमै व्यवसाय गरिरहेका तिलकुमारी थापा र सपना थापा क्षेत्री मिलेर लघुवित्तबाट ऋण लिएका रहेछन् । यसरी अरूको नममा किर्ते गरेर ऋण लिन लघुवित्तका तत्कालीन शाखा प्रबन्धक सागर अधिकारीले सघाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १९:०४

२३ साउन, काठमाडौं । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१० दोलालघाटकी कान्छीमाया तामाङलाई खोज्दै एक दिन ‘विन नेपाल लघुवित्त’ का कर्मचारी आए ।

‘तपाईंले लघुवित्तबाट ५ लाख रुपैयाँ ऋण लिनुभएको रहेछ किन नतिर्नुभएको ?’ भनेर ती कर्मचारीले भनेपछि तामाङ छाँगाबाट खसे झैं भइन् ।

किनभने, उक्त लघुवित्तबाट ऋण लिएको उनको सम्झनामा थिएन । लघुवित्त कर्मचारी ऋण तिर्न आउने पत्र बुझन् भन्दै घरमा पुगेपछि उनले उक्त संस्थाबाट कुनै ऋण नलिएको भन्दै कर्मचारीलाई नै लेखेटिन् ।

उनीमात्र नभई दोलाघाटका एक दर्जन स्थानीयले ऋण लिएको छैन भन्दै लघुवित्तका कर्मचारी उनीहरूका घर पुग्दा कान्छीमायाको जस्तै जवाफ पाए ।

स्थानीयले लघुवित्तको पत्र बुझन् मानेनन् । त्यसपछि लघुवित्तले हुलाक मार्फत ऋण तिर्ने सूचना पठाएपछि लिँदै नलिएको ऋण आफ्नो नाममा कसरी स्वीकृत भयो भनेर स्थानीय खोजी गर्न थाले ।

स्थानीय मात्र नभई लघुवित्तले समेत घटनाबारे थप खोजी गर्न थाल्यो । बुझ्दै जाँदा त्यसरी स्थानीयका नाममा दोलालघाटमै व्यवसाय गरिरहेका तिलकुमारी थापा र सपना थापा क्षेत्री मिलेर ऋण लिएका रहेछन् । यसरी अरूको नममा किर्ते गरेर ऋण लिन लघुवित्तका तत्कालीन शाखा प्रबन्धक सागर अधिकारीले सघाएका थिए ।

एकै घरका सासु–बुहारी तिलकुमारी र सपनाले कान्छीमायासँग फाइनान्स खोल्नुपर्‍यो भन्दै नागरिकताको प्रतिलिपि मागेका थिए । तर, त्यो प्रतिलिपि दुरुपयोग गरेर ५ लाख ऋण लिएर ठगी गरेको कुरा उनले लघुवित्तका कर्मचारी आएपछि मात्रै पत्तो पाइन् ।

‘लघुवित्तका कर्मचारी मेरो ससुराको नाम सोध्दै घरमै आइपुगे, उनीहरूसँग कुरा हुँदा पो थाहा पाएँ मेरो नागरिकताको फोटोकपी लगरे बदमासी गरेछन्,’ उनी भन्छिन् ।

यसरी आफ्नो नागरिकता दुरुपयोग गरेर ऋण निकालेको थाहा पाएपछि त्यो ऋण तिरिदिन भन्दै कान्छीमाया तिलकुमारी र सपनाको घरमै गइन् ।

तर, विन लघुवित्तका तत्कालीन शाखा प्रबन्धक सागर अधिकारी आफैंले ऋण ल्याएर आफूहरूलाई दिएको र आफूले चलाएको भन्दै त्यो नतिर्ने बताए ।

लघुवित्तले सोही गाउँमा अन्य केही स्थानीयलाई पनि ऋण तिर्न भन्दै हुलाक मार्फत पत्र पठाएपछि त्यसरी ठगिनेको संख्या ठूलो रहेको कान्छीमायाले थाहा पाइन् ।

पीडित कान्छीमाया तामाङ ।

त्यसबारे संस्था स्वयम्ले गरेको अनुसन्धानले तत्कालीन शाखा प्रबन्धक अधिकारी र थापा सासु–बुहारीको मिलेमतोमा त्यसरी नक्कली ऋणी खडा गरी कम्तीमा पनि ४२ लाख रुपैयाँ ऋण अपचलन भएको देखिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जीवन खनालले जानकारी दिए ।

भुम्लु गाउँपालिका–१० दोलालघाटमा व्यापार गर्दै आएकी दुई महिलासँगको मिलेमतोमा संस्थाका कर्मचारीले अन्य स्थानीयको नाममा ऋण लिएको पाइएको हो ।

संस्थाका तत्कालीन शाखा प्रबन्धक अधिकारीले स्थानीय महिलासँगको मिलेमतोमा १४ जनाभन्दा धेरैको नाममा ऋण निकालेर दुरुपयोग गरेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकबाट प्रदेशस्तरको कार्यक्षेत्र इजाजत पाएको लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक बनेपा नगरपालिका साँगामा छ । साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त मर्जर भई विन नेपाल लघुवित्त बनेको हो ।

नेपाल सेवा लघुवित्तले २०७६ देखि भुम्लुटारमा शाखा स्थापना गरी कारोबार गर्दै आएको छ ।

स्थानीय तामाङका अनुसार उनी जस्तै विकास श्रेष्ठ, सुरेश श्रेष्ठ, प्रमिला तामाङ, शान्ता विक, नन्दकुमारी कामी, सीता मझिनी लगायतका नाममा सपना र उनकी सासु तिलकुमारीले ऋण निकालेर प्रयोग गरेको खुलेको छ ।

स्थानीयका अनुसार संस्थाले हुलाक मार्फत ऋण तिर्न आउने सूचना ऋणीको घरमा पठाएपछि आफ्नो नाममा ऋण निकालेको थाहा पाएका थिए । केही ऋणी विगतदेखि नै संस्थासँग आबद्ध भए पनि अधिकांश ऋणीले भने संस्थाले नयाँ सदस्य बनाएर ऋण निकालेपछि थाहा पाएका थिए ।

संस्थाका सीईओ जीवन खनालका अनुसार संस्थाकै पूर्वशाखा प्रबन्धक सागर र स्थानीय सपना तथा उनकी सासु तिलकुमारीले ऋणको तमसुकमा किर्ते हस्ताक्षर र ल्याप्चे लगाएर ऋण दुरुपयोग भएको हो ।

करिब चार वर्ष अघिदेखि नै यसरी किर्ते गरेर अरूको नाममा ऋण लिएर दुरपयोग हुँदै आए पनि संस्थाको उच्च व्यवस्थापनले चासो नदिएको पाइएको छ ।

लघुवित्तले समूह गठन गरी सामूहिक जमानीमा मात्रै ऋण लगानी गर्न पाइन्छ । समूहमा बस्नासाथ ऋण दिन पाइँदैन । यस्तै पहिलो पटकमा ५ लाख मात्रै ऋण लिन पाइने व्यवस्था छ । तर, दोलालघाटमा पीडितहरूलाई समूह बनेको मात्रै नभएर कतिपयलाई संस्थाको नामसमेत थाहा नभएको पाइएको छ ।

सामूहिक जमानीका लागि पनि अन्य स्थानीयका नामबाट किर्ते भएको देखिन्छ । ठगी मात्रै नभएर कागज गर्ने र हस्ताक्षर समेत किर्ते भएको पाइएको हो ।

यसरी ऋण निकालेर दुरुपयोग गर्न लघुवित्तमा सदस्य आएपछि पहिलो पटकमा नै ५ लाख रुपैयाँसम्म ऋण स्वीकृत भएको पाइएको छ ।

लघुवित्तका डेपुटी सीईओ दीपेन्द्र खतिवडा विगतमा शाखा प्रबन्धकले नै ऋण स्वीकृत गर्ने अधिकार हुँदा सागरले नै आफैं त्यसरी ऋण स्वीकृत गर्ने गरेको देखिएको बताउँछन् ।

ऋण स्वीकृत गर्ने र ब्याज पूँजीकरण गर्दै नवीकरण गर्दै जाने गरेको देखिएको उनले बताए । वैशाख २०८० मा शाखाबाट सागरको सरुवा भएपछि उक्त घटना खुल्दै गएको डेपुटी सीईओ खतिवडा बताउँछन् ।

‘नयाँ शाखा प्रबन्धक गएपछि ऋण नउठेको खुल्यो । ऋण उठाउनका लागि खोज्दै जाँदा ८/९ महिना अगाडिबाट १/२ वटा घटना अगाडि आएको थियो,’ उनले भने, ‘जसको नाममा ऋण देखिन्छ, उसले ऋण नै लिएको छैन भनेको र ऋणीको घरमा जाने अवस्था नभएपछि हुलाक मार्फत ऋण तिर्न आउने सूचना पठाएको हो । जसले गर्दा घटना बाहिर आयो ।’

संस्था सीईओ खनालका अनुसार घटना बाहिर आए पनि आन्तरिक छानबिन समिति बनाएर छलफल समेत भएको थियो ।

नेपाल राष्ट्र बैंकको स्थलगत सुपरीवेक्षण क्रममा उक्त कुरा उठेपछि छानबिन भएको उनले बताए । घटना विवरण खुल्दै गएपछि सागरले राजीनामा दिएको उनले बताए । सागरलाई संस्थाले बोलाएर सोधपुछ गर्दा २३ लाख रुपैयाँ ऋण त्यसरी प्रदान भएको स्वीकार गरेको उनले बताए ।

गत असारमा अर्थ मन्त्रालयले गठन गरेको लघुवित्त समस्या सम्बन्धी छानबिन समितिले दोलाघाटमा गरेको अन्तरक्रियामा उक्त घटनाबारे थप खुलेको थियो ।

राष्ट्र बैंक विभागीय प्रमुख, अर्थ मन्त्रालयका प्रतिनिधि र लघुवित्त बैंकर्स संघ प्रतिनिधि समेत सहभागी छलफलमा उक्त घटनाबारे जानकारी आएको राष्ट्र बैंक स्रोतले पनि स्वीकार गरेको छ ।

‘घटनाबारे जानकारी आएपछि हामीले थप अध्ययन गर्न र शाखाको अडिट गर्न निर्देशन दियौं,’ राष्ट्र बैंक स्रोतले भन्यो,’ ‘संस्थाले शाखा अडिट गरेर प्रतिवेदन बुझाउन बाँकी छ । उक्त घटना चासोका साथ हेरेका छौं ।’

संस्था सीईओ खनालका अनुसार १६ जना पीडित हौं भनेर उजुरी परेको छ । केहीले ऋण तिर्नै पर्दैन भनेर समेत पीडित हुँ भन्ने अवस्था देखिएको र यकिन विवरण आउन बाँकी छ ।

घटना बाहिर आए पनि पीडित भन्दै उजुरी दिनेको संख्या बढेको उनले बताए । केही अल्पसंख्यक माझीसहित दलित, तामाङ बढी पीडित देखिएको उनले बताए ।

संस्थाले आवश्यक अनुसन्धान सकेपछि कानुनी कारबाहीमा जाने उनले बताए । बैंकिङ कसुरको मुद्दा लैजान प्रमाण संकलन भइरहेको उनले बताए ।

पछिल्लो पटक सपना थापा क्षेत्री र उनकी सासु तिलकुमारीले त्यसरी ४२ लाख रुपैयाँ ऋण लिएको बताएको सूचना आएको खनालले बताए । स्थानीय भने करिब २ दर्जन भन्दा धेरै पीडित हुन सक्ने बताउँछन् ।

लघुवित्तका पूर्वकर्मचारी सागर अधिकारी भने ‘हिजो आफूले काम गर्दा अञ्जानवश गल्ती भएको’ स्वीकार्छन् ।

संस्थाले दिएको लक्ष्य पूरा गर्ने दबाबमा तिलकुमारी र सपनाको योजनामा त्यसरी सरोकार नै नभएका व्यक्तिका नाममा आफूले ऋण स्वीकृत गरेको उनले स्वीकार गरे ।

तर, आफूले ‘फ्रड’ गर्ने उद्देश्य लिएको भए ऋण लिने व्यक्तिलाई लघुवित्तको कार्यालयमा ल्याएर धितो राख्न लगाइ कागज गर्न सहयोग नगर्ने बताउँछन् ।

आफूले गल्ती गरेको महसुस भएपछि तिलकुमारी र सपनालाई लघुवित्तको केन्द्रीय कार्यालयमा ल्याएर कागज गराउनुका साथै धितोसमेत राख्न लगाएको उनको दाबी छ ।

आफूले ऋण स्वीकृत गरे पनि ऋणी नै उपस्थित नभई लघुवित्तले कसरी ऋण नवीकरण गरेको हो भन्ने विषयमा समेत अनुसन्धान हुनुपर्ने भन्दै उक्त घटनामा आफूसँगै संस्थासमेत जवाफदेही हुनुपर्ने सागरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?