+
+

टीआरसी विधेयक २९ साउनमा पास गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते २०:४५

२३ साउन, काठमाडौं । तीनदलीय कार्यदलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटाएको सहमति शीर्ष नेताहरुलाई बुझाएको छ ।

लगत्तै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक भोलि बिहीबार बोलाइएको छ । नेताहरुका अनुसार २९ साउनको प्रतिनिधिसभा बैठकबाट विधेयक पास गर्ने तयारी छ ।

२५ फागुन २०७९ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन छ । समितिले बनाएको उपसमितिले विधेयकका धेरै विषय टुंग्यायो, तर चार विषयमा शीर्ष नेताहरुको सहमति खोज्यो ।

शीर्ष नेताहरुले भने १३ असारमा तीन दलका एकएक नेता रहेको कार्यदल बनाए । कार्यदलले चारवटै विवादित विषयमा सहमति जुटाएर बुधबार प्रतिवेदन बुझाएको छ ।

कार्यदलले मानवअधिकारको गम्भीर उल्लंघनमा नियतपूर्वक वा स्वेच्छचारीपूर्वक गरिएको हत्या (आर्बिटरी किलिङ) लाई राख्ने सहमति जुटाएको छ ।

मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा घटी सजाय गर्ने सहमति भएपनि आधा र कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने कि प्रतिशत तोक्ने भन्ने विवाद थियो । कार्यदलले जबर्जस्ती करणी वा गम्भीर यौनजन्य हिंसाका घटना बाहेकमा २५ प्रतिशत सजायको माग दाबी गर्न सक्ने सहमति गरेको छ ।

प्रतिवेदन बुझ्दै शीर्ष नेताहरुले विधेयकलाई यही अधिवेशनबाट पास गर्ने बताएका छन् ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विधेयकलाई संसदको यही अधिवेशनमा पेश गरेर पास गर्नसमेत आग्रह गरे । उनले भने, ‘यसलाई मैले नयाँ सरकार बनेपछि भएको एउटा राम्रो काम ठानेको छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको यही अधिवेशनबाट विधेयक पास गर्ने प्रतिवद्धता जनाए ।

शान्ति प्रक्रियाको अन्तिम किस्ता बेपत्ताहरुको खोजबीन र सत्य निरुपणका लागि कानुनी दुविधा अन्त्य भएको भन्दै उनले भने, ‘(कार्यदलले) हामीहरुसँग पनि परामर्श गरेर सहमति गरेको हो । पूर्ण हाउसबाट पनि यसै अधिवेशनमा पास गर्छौं ।’

समितिले बोलायो बैठक

कार्यदलले प्रतिवेदन बुझाएलगत्तै कानुन, न्याय तथा मानव अधिकार समितिले बैठक बोलाएको छ । भोलि बिहीबार बिहान ११ बजे बस्ने बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल गर्ने कार्यसूची छ ।

स्रोतका अनुुसार समितिमा कार्यदलले जुटाएको सहमति कानुन मन्त्रालयले पेश गर्नेछ । त्यसमाथि छलफल गरेर बिहीबार नै पास गर्ने तयारी सरकार र दलहरूको छ ।

समितिले नै भोलि नै विधेयकको प्रतिवेदन पास गरे साउन २९ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गरिने समिति सभापति बिमला सुवेदीले जानकारी दिइन् ।

प्रतिनिधिसभामा शीर्ष नेताहरुले बोल्नेछन् । त्यसपछि विधेयकलाई पास गर्ने दलहरुको तयारी छ ।

प्रतिनिधि सभाबाट पारित भएपछि विधेयक राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभामा सैद्धान्तिक छलफल गर्ने, सांसदहरूका लागि संशोधनका लागि ७२ घण्टाको समय दिने, सांसदहरुको संशेधनउपर छलफल चलाउने र सम्बन्धित मन्त्रीले जवाफ दिएर पारित गर्नका लागि कम्तीमा एक साता लाग्छ ।

‘संसदको चालू अधिवेशनमै टीआरसी विधेयक पास गर्ने राजनीतिक सहमति छ । त्यसआधारमा संसदमा विधेयक अगाडि बढ्छ’, कानुन समितिका सभापति सुवेदीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?