+
+

अमेरिकामा बन्दुक आतंक : लुटेराबाट मारिन्छन् नेपाली

आभास बुढाथोकी आभास बुढाथोकी
२०८१ साउन २३ गते २०:३०

२३ साउन, काठमाडौं । आइतबार अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गर्‍यो ।

टेक्सासको ग्यास स्टेशनमा कार्यरत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय विकास वली लुटेरा समूहको गोलीबाट मारिए ।

साउन १३ गते बिहान ५ बजे आएको लुटेरा समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।

वली ७ महिनाअघि मात्र अवैध रुपमा अमेरिका छिरेका थिए । अमेरिका पुग्न उनले ८० लाख खर्चिएका थिए । घरबाट निस्किएको करिब दुई वर्षपछि मात्र उनी अमेरिका पुगेका थिए । दुईदिन अघि उनको अमेरिकामै अन्त्येष्टि गरिएको छ ।

अमेरिकामा लुटेरा समूहबाट नेपाली मारिएको यो घटना पहिलो होइन । २०७९ पुस २२ गते पनि तनहुँ दमौलीका ५३ वर्षीय भेषराज लामिछाने लुटेरा समूहबाटै मारिएका थिए । ८ वर्षअघि अमेरिका गएका उनले कोलोराडोमा स्टोर खोलेका थिए ।

२२ पुस राति ८ बजे स्टोरमै बसिरहेको बेला बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

त्यसको एक वर्ष अघि पनि अमेरिकामा बन्दुकधारी समूहबाट अर्काे एक जना नेपाली मारिएका थिए । उनी थिए– धनुषाका ५४ वर्षीय लालकिशोर महासेठ ।

२०७८ कार्तिकमा मासाचुसेट्स राज्यको एक सपिङ सेन्टरमा रहेका बेला अज्ञात व्यक्तिले उनलाई गोली हानेको थियो । उनी स्टोरका क्लर्क थिए । परिवारसहित अमेरिका बस्थे ।

२०७७ चैतमा टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखराका रमेश थापाका पनि लुटेरै समूहको गोलीबाट मारिएका थिए । लुटेराले थापालाई राति १२ः३० बजेतिर गोली चलाएका थिए । उनी ११ वर्षअघि मेक्सिको हुँदै अमेरिका पुगेका थिए ।

लुटेरा समुहकै शिकार भएका अर्का नेपाली हुन्, चितवनका रेशम बजगाईं । अमेरिकाको भर्जिनियामा ग्यास स्टेसनमा काम गरिरहेका रेशमलाई २०७५ साल असारको राति करिब २ बजे लुटपाट गर्न आएको समूहले हत्या गरेको थियो ।  बजगाईं सेप्टेम्बर २०१७ मा मात्र अमेरिका गएका थिए । उनी श्रीमती र पाँच वर्षीय छोरीको साथमा बस्थे ।

२०६६ पुसमा अमेरिकाको बोस्टनमा फुड स्टोरमा कार्यरत ४० वर्षीय सुरेन्द्र डंगोल लुटेरै समूहबाट मारिए । काठमाडौं घर भएका डंगोललाई स्टोरमा लुटपाटपछि गोली हानिएको थियो ।

अमेरिकामा बन्दुकसँग सम्बन्धित घटनामा हरेक वर्ष सयौं मानिस मारिंदै आएका छन् । अमेरिकामा व्यक्तिगत सुरक्षाका लागि हात हतियार राख्न पाउने वैधानिक व्यवस्था छ । तर मास सुटिङ, लुटपाटपछि हत्या जस्ता ‘गन भ्वाइलेन्स’ का घटना बढ्दो छ । यस्ता घटनामा आप्रवासी नेपालीहरू पनि पर्ने गरेका छन् ।

नेपाल-अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारीका अनुसार प्रायजसो नेपाली मल, स्टोर र ग्यास स्टेसनमा कार्यरत हुन्छन् । नगद कारोबार हुने स्टोर र ग्यास स्टेसनहरू लुटेर समूहको निशानामा पर्छन् । लुटपाटका बेला आत्तिएर भाग्ने र प्रतिकार गर्न खोज्दा लुटेरा समूहबाट मारिने सम्भावना बढी हुने उनी बताउँछन् । ‘यहाँ आएका धेरैजसो नेपालीले स्टोर र ग्यास स्टेसनमा काम गर्छन्’ उनले भने, ‘जसले गर्दा लुटेरा समूहको निशानामा उनीहरू बढी जोखिममा पर्छन् ।’ भण्डारीका अनुसार टेक्सास, भर्जिनिया, क्यालिफोर्निया, फलोरिडा राज्यमा गर्न भ्वाइलेन्सका घटना बढी हुने गरेको छ । जहाँ नेपालीको उपस्थिति बाक्लो छ ।

राप्ती–अमेरिका समाजका अध्यक्ष सुरेश हमाल पनि अमेरिकामा बढ्दो ‘गन भ्याइलेन्स’का घटना नेपालीहरूका लागि पनि चिन्ताको विषय भएको बताउँछन् । उनी भन्छन्, ‘कारोबार हुने ठाउँमा काम गर्नेहरू बढी चनाखो हुन जरुरी छ ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?