+
+

केयर गिभर तालिम नै नदिई नक्कली प्रमाणपत्र बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते २१:१०

२३ साउन, काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन दिंदा केयर तालिमका भन्दै नक्कली प्रमणपत्र पेश भएको खुलासा भएको छ । विभागले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी)बाट मान्यता नपाएको संस्थाहरुको प्रमाणपत्र पेश गरेकाहरुको आवेदन रद्ध गरेपछि यस्तो धन्दाको खुलासा भएको हो ।

इजरायलको रोजगारीमा आवेदन दिन नर्सिङ, सीएमए र अनमिको कोर्स पूरा नगरेकाहरुलाई ३ महिनाको  केयर गिभर तालिम अनिवार्य गरिएको छ । तर, तालिम नै नदिई वा छोटो समय तालिम दिएर ३ महिने तालिम दिएको प्रमाणपत्र बिक्री हुने गरेको खुलेको हो ।

विभागले इजरायलका लागि परेका ५०० भन्दा बढी आवेदन रद्ध गरेको छ । त्यसमा धेरैजसो सीटीईभीटीबाट मान्यता नपाएका संस्थाहरुको तालिम प्रमाणपत्र पेश गर्नेहरु छन् ।  ‘सीटीईभीटीमा तालिमको एफिलेसन नभेटिएकाले रद्ध गरिएको छ’ भन्ने जानकारी विभागको प्रणालीले सम्बन्धित आवेदकलाई पठाएको छ ।

विभागले यस्तो सूचना दिएपछि मात्रै नक्कली प्रमाणपत्रको पोल खुलेको हो । तालिम नै नलिई सर्टिफिकेट किनेकाहरुले पीडित भएको भन्दै पैसा फिर्ता माग्न त्यस्ता तालिम केन्द्रमा पुगिरहेका छन् ।

नयाँ बानेश्वरमा रहेको सिटी एज्ड केयर ट्रेनिङ एन्ड रिसर्च सेन्टरले प्रतिव्यक्ति ३० हजार रुपैयाँ लिएर केयरगिभर तालिम पूरा गरेको सर्टिफिकेट बेचेको पाइएको छ । सिटी एज्ड केयरका सीईओ तथा फाउन्डर सुवास खड्काले केयर गिभरको तोकिएको अवधि (३९० घण्टा) को तालिम नदिए पनि प्रमाणपत्र बेचेको स्वीकारे । उनले अहिले धामधम पैसा फिर्ता गरिरहेको भन्दै कसैलाई पीडित नबनाएको दाबी गरे ।

‘उहाँहरु सबै यहाँ सर्टिफिकेट किन्न आएका हो, कसैले पनि ३ महिना पढेको छैन,’ उनले भने,‘उनीहरु समूहमै आएर प्रमाणपत्र लगेका हुन्, सबैले सर्टिफिकेट किनेको हो ।’ सम्बन्धन लिएका गरेकाहरु कसैले पनि ३ महिना तालिम नदिएको खड्काको दाबी छ ।

‘हामीले मात्र हैन, धरैले तालिम नदिई प्रमाणपत्र मात्रै बेच्ने हो, सबैले यही गर्ने हो,’ उनले अन्य तालिम प्रदायकलाई पनि आरोप लगाउँदै भने,‘हामीले सीटीईभीटीबाट सम्बन्धन नपाएका कारण मात्रै प्रमाणपत्रलाई मान्यता नदिइएको हो ।’

स्रोतका अनुसार सिटी एज्ड केयर ट्रेनिङ एन्ड रिसर्च सेन्टरले ७० भन्दा बढी व्यक्तिलाई यसरी प्रमाणपत्र बेचेको थियो । सञ्चालक बताउने खड्काले भने ६०-६५ संख्यामा प्रमाणपत्र बेचेको दाबी गरे । अहिले सबैलाई पैसा फिर्ता गरिरहेको भन्दै उनले कसैलाई ठगी नगरेको दाबी पनि गरे । ‘९० प्रतिशत पैसा फिर्ता दिइसक्यौं, यहाँ भौतिक उपस्थित हुनेहरुलाई औंठाछाप गरेर पैसा फिर्ता दिँदैछौं,’ उनले भने ।

तर, पीडितहरुले भने सीटीईभीटीबाट सम्बन्धन नै नलिई तालिम संस्था र तालिम नै नदिई प्रमाणपत्र दिने धन्दा चलाउँदा आफूहरु पीडित हुनुपरेको भन्दै संस्थालाई कारवाही गर्न माग गरेका छन् । तर, नक्कली प्रमाणपत्र किनेकाले उनीहरु पीडितका रुपमा प्रहरीको जान सकेका छैनन् ।

सो कम्पनीले बेचेको प्रमाणपत्रमा सीटीईभीटीबाट मान्यता प्राप्त रहेको उल्लेख छ । तालिम नै नदिई पुरानो मिति राखेर प्रमाणपत्र दिएकोबारे वैदेशिक रोजगार विभागले समेत चासो दिएको छैन ।

स्रोतका अनुसार सिटी एज्ड केयरले सम्बन्धनका लागि सीटीईभीटीमा प्रस्ताव पठाएपनि स्वीकत भइसकेको थिएन । सम्बन्धन नपाएकौ अवस्थामा इजरायलको रोजगारी खुलेपछि कम्पनीले मनपरी ढंंगले प्रमाणपत्र छाप्दै बेचेको हो ।

सीटीईभीटीबाट मान्यता नपाएका र पाएका संस्थाहरुले तोकिएको तालिम नै नदिई प्रमाणपत्र बेचिरहेकोबारे कुनै सरकारी निकायले अनुगमन गर्न रुची देखाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?