+
+

उपाधिमा फेरि भारत नै बाधक

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ साउन २३ गते २२:१०

२३ साउन, काठमाडौं – नेपाल काभा वुमन्स नेसन्स लिग २०२४ को फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित हुन पुग्यो ।

योसँगै घरेलु मैदानमा भारतलाई स्तब्ध पार्दै उपाधि जित्ने सपनामा अधुरै बन्न पुग्यो । बुधबार भएको फाइनलमा नेपाल भारतसँग २५–२३, १४–२५, २५–२२, २१–२५ र ५–१५ ले पराजित हुन पुग्यो । चौथो सेटमा जित निकाल्न नसक्नु नै नेपालको हारको मुख्य कारण बन्यो ।

यसअघि सन् २०१९ मा नेपालमा नै भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग फाइनलमा ३-२ ले पराजित भएको थियो । त्यतिबेला पनि निर्णायक पाचौं सेटमा ६-१५ ले गुमाउँदै नेपाल स्वर्ण जित्नबाट चुकेको थियो ।

प्रतियोगितामा सहभागी भारत, इरान, श्रीलंका, माल्दिभ्स गरी सबै टिमलाई पराजित गरेको नेपालले उपाधि भने जित्न सकेन ।

नेपालले गत शनिबार मात्रै प्रतियोगिताको लिग चरणमा भारतलाई इतिहासमै पहिलो पटक ३–२ को सेटमा हराएको थियो । त्यही सोचका साथ खेल सुरु हुनुभन्दा ४१ मिनेट अघि नेपाल कोर्ट प्रवेश गरेको थियो ।

एक हजार मात्रै सिट क्षमता भएको दशरथ रंगशाला भलिबल कभर्डहलमा नेपालको खेल सुरु हुनु भन्दा एक घण्टा अघि नै खचाखच भरिएको थियो । देशभरबाटै निकै महत्वका साथ यो खेल हेरिएको थियो ।

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी ओपन स्पाइकर निरुता ठगुन्नाले पहिलो सेटमा तीन अंक लिँदै नेपालका लागि राम्रो सुरुवात दिलाएकी थिइन् । नेपालले लिग चरण र सेमिफाइनलमा इरानविरुद्ध गरेको प्रदर्शनलाई निरन्तरता दिने संकेत दिएको थियो ।

त्यसपछि निरुताको प्रदर्शन राम्रो रहेन । इरानविरुद्ध सेमिफाइनल खेलेको २४ घण्टामै नेपाल पुन फाइनल खेल्न कोर्टमा फर्किएको थियो । कप्तान अरुणा शाहीको गल्तीमा अंक पाएको भारतले त्यसपछि लगातार चार अंक जोडेपछि नेपालले पहिलो टाइम आउट लिएको थियो ।

त्यसपछि खेलमा निरन्तर प्रतिस्पर्धा भयो । दुबै टिम अंकमा अघि र पछि भइरहे । १०–१० को स्थितिबाट भारतले दुई अंकको अग्रता लियो । निरुताको स्पाइक सूर्याले ब्लक गरेपछि भारत अघि थियो । सूर्या र अनुश्रीको प्रदर्शनमा भारतले एक समय चार अंकको अग्रता लिदा १८–१४ को अवस्थामा थियो ।

लामो समयसम्म चलेको र्‍यालीमा उषाले नेपाललाई १५ औं अंक दिलाएकी थिइन् । भारतीय सेटको गल्ती र उषाको शक्तिशाली स्पाइकमा नेपाल १७–१८ को अवस्थामा पुगेको थियो । त्यसपछि भारतले अंक जोड्दै भारत २१–१७ को मजबुत अवस्था बनायो । उषा, पुनम चन्द, निरुता र सरस्वती चौधरीले नेपाललाई २३–२३ को बराबरी गरेका थिए ।

सरस्वतीको स्पाइकमा २४ औं र भारतीय खेलाडीको गल्तीमा २५ औं विजयी अंक बटुलेपछि नेपालले पहिलो सेट जित्यो ।
तर दोस्रो सेटमा भारतले खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो । ४–५ को अवस्थाबाट अघि बढेको भारत अनुश्री र सूर्याको ब्लक तथा सलिनीको शानदार स्पाइकमा २५–१४ ले जितेको थियो । नेपालले अपेक्षा गरे भन्दा निकै खराब प्रदर्शन थियो । उषा र निरुताको स्पाइकलाई भारतीय ब्लकरले निरन्तर असफल पारे ।

तेस्रो सेटमा पुन नेपालले ४–१ को राम्रो सुरुवात गर्‍यो । तर भारतले त्यसपछि लगातार तीन अंक जोड्दै बराबरी गरेको थियो । भारतीय खेलाडीले सर्भिस, स्पाइक र ब्लकमा कमजोर प्रदर्शन गरेपछि नेपालले १३–८ को मजबुत सुरुवात गरेको थियो ।

नेपाली खेलाडीको राम्रो प्रदर्शन भन्दा भारतीयको गल्तीमा निरन्तर अंक पाएको थियो । नेपाल १९–१४ को अवस्थामा पुगेपछि सहज जित देखिएको थियो । नेपालले तेस्रो सेट २५–२२ ले जितेको थियो । तेस्रो सेट जितेसँगै नेपालले खेल २–१ को अग्रता लिएको थियो ।

नेपाललाई उपाधि जित्न बाँकी दुईमध्ये एक सेट जिते हुन्थ्यो । तर नेपालले दुबै सेटमा हार्न पुग्यो । चौथो सेटमा सरस्वतीको स्पाइक सूर्याले ब्लक गर्दै अघि बढेकी थिइन् । अनुश्रीले सर्भिस कटाउन नसक्दा २–२ को बराबरी भयो । तर अनुश्री र सूर्याको ब्लक सामु नेपालका स्पाइकर चल्न सकेनन् । उषा र कविता भट्टको स्पाइक लगातार ब्लक गरेपछि भारत ९–५ ले अघि बढ्यो ।

सूर्या र अनुश्रीको उत्कृष्ट प्रदर्शनमा भारत १३–८ को मजबुत अवस्थामा हुँदै खेल पाँचौं सेटमा लम्ब्याउने संकेत दिएको थियो । नेपाललाई निर्णायक जस्तै मानिएको चौथो सेट १६–१८ को अवस्थामा उषाको स्पाइक चेक आउट गएपछि नेपालले दुई अंक लगातार गुमाउँदा २०–१६ को अवस्थामा भारत अगाडि रह्यो ।

सफिया पुनले भारतको अंकमा ब्रेक लगाएपनि नेपालले ओभर ल्यापको कारण पुन अंक दियो । सरस्वतीको चलाखीपूर्ण खेलले खेलको अन्त्य तिर २०–२३ को अवस्था बनेको थियो ।

तर भारतीय खेलाडीले सलिनाले सेटरलाई दिएको बललाई सिधैं ब्लक गरेपछि जितको आशा लगभग सकिएको थियो ।
भारतले चौथो सेट २५–२१ ले मात्रै जितेन उपाधि जित्ने आशा पनि कायम राख्यो ।

निर्णायक पाँचौं सेटमा सूर्याले सलिना श्रेष्ठलाई सानदार स्पाइक हान्दै अंक जोडेकी थिइन् । भारतले सरस्वतीको दुई स्पाइक रोकेपछि नेपाल दबाब सम्हाल्न सकेन । नेपाली खेलाडीमाथि हाबी बनेका भारतीय ब्लकर र स्पाइकरले पाँचौं सेटमा एकछत्र प्रदर्शन गरे ।

निरुताले आउट गएको बल लिन खोज्दा असफल भएपछि भारतले ८–३ मा कोर्ट परिवर्तन गरेको थियो । पाँचौं सेट १५ प्वाइन्टको मात्रै हुने हुँदा धेरै समय हुँदैन । त्यो अवस्थाबाट जित हात पार्न असाधारण प्रदर्शन गर्नुपर्छ । तर भारतले पाँचौं सेट १५–५ को सोचे भन्दा निकै सहज जित हात पार्‍यो ।

नेपालका दुई स्पाइकर निरुता र उषाको प्रदर्शन फाइनलमासम्झन लायक रहेन । सरस्वती चौधरीले केही आशा देखाएकी थिइन् ।

‘हामी जुन मनोबल र सोचका साथ आएका थियौं । त्यसमा रिसिभ र सर्भिस राम्रो नहुँदा हार्न पुग्यौं । हामीले चौथो सेटमा जित्नुपर्ने थियो । टोलीको मुख्य खेलाडी आज चल्न सकेनन्’, प्रशिक्षक जगदिश भट्टले भने ।

बुधबारको खेलमा सरस्वतीले २६, उषाले १५, निरुताले ११, सफिया पुनले ३, सुमित्रा रेग्मी, कविता भट्ट र अरुणा शाहीले २/२ अंक जोडे ।

नेपालले चौथो सेट जित्न नसक्नु नै हारको कारण बनेको उनले बताए ।

प्रशिक्षक भट्टका अनुसार नेपाल ३–० को सोझो सेटमा खेल जित्ने आशाले कोर्टमा प्रवेश गरेको थियो । खेल जित्न नसकेकामा उनले समर्थकसँग माफी मागे । फाइनल खेल हेर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ पनि पुगेका थिए ।

नेपालले चौथो सेटमा गरेको सामान्य कमजोरीले खेल गुमाउन पुगेको थियो । चौथो सेट हारेपछि खेलाडीहरु पनि हतोत्साहित भएको प्रशिक्षक भट्टले बताए । ‘अब हाम्रो पक्षमा आउँछ जस्तो लागेको थिएन । किनभने हाम्रा खेलाडी हतोत्साहित भएका थिए, चौथो सेट हारेपछि अव कमब्याक गर्न सक्दैनौं जस्तो लागेको थियो’, उनले भने ।

पाचौं सेटमा खेलाडीहरु हारेको मानसिकतामा देखिएका प्रशिक्षक भट्टले बताए । ‘हाम्रा खेलाडी धेरै थाकेको जस्तो, हतोत्साहित भएको जस्तो, कसरी खेल्ने र ट्रफीको दबाब जस्तो मनस्थिति भयो, दबाब धेरै भयो’, उनले भने ।

कप्तान अरुणा शाहीले अन्तिम सेटमा राम्रो प्रदर्शन गर्न नसकेको बताइन् । ‘सुरुवाती चार सेटमा टफ खेल खेलियो । तर अन्तिम सेटमा पूरै टिम नै डाउन हुँदा र आक्रमण पनि कमजोर हुँदा हार्न पुग्यौं’, उनले भनिन् ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?