+

पेरिस ओलम्पिकमा फाइनल खेल्न वञ्चित भारतकी कुस्तीबाज विनेशले भनिन्-म हारें, अलबिदा

२०८१ साउन  २४ गते ७:२१ २०८१ साउन २४ गते ७:२१
पेरिस ओलम्पिकमा फाइनल खेल्न वञ्चित भारतकी कुस्तीबाज विनेशले भनिन्-म हारें, अलबिदा

‍२४ साउन, काठमाडौं । तौल बढी हुँदा पेरिस ओलम्पिकमा फाइनल खेल खेल्नबाट वञ्चित भएकी भारतीय कुस्तीवाज विनेश फोगाटले कुस्तीलाई अलबिदा भनेकी छन् ।

उनले आफ्नो हिम्मत टुटिसकेको भन्दै कुस्तीलाई अलबिदा भनेकी हुन् । सामाजिक सन्जाल एक्समा उनले लेखेकी छन्, ‘आमा कुस्तीले मलाई जित्यो, म हारें । माफ गर्नुहोला तपाईंको सपना, मेरो हिम्मत सबै टुटिसक्यो । योभन्दा ताकत अब छैन ।’

उनले थप लेखेकी छन्, ‘अलबिदा कुस्ती २००१-२०२४ । म तपाईंहरु सबैको सदैव ऋणी रहनेछु ।’

कुस्तीको ५० केजी तौलको प्रतिस्पर्धामा बढी तौल भएपछि उनी फाइनल खेल्नबाट वञ्चित भएकी थिइन् ।

मंगलबार ५० केजी फ्रिस्टाइलतर्फ विश्वकी नम्बर वान् तथा २०२० ओलम्पिककी च्याम्पियन यु सुसाकीलाई प्रि क्वाटरफाइनलमा, युक्रेनकी ओक्सना लिभाचलाई क्वाटरफाइनलमा र क्युबाकी गुज्मानलाई सेमिफाइनलमा हराउँदै फोगाट फाइनलमा पुगेकी थिइन् ।

सेमिफाइनलमा उनी ५–० ले विजयी भएकी थिइन् । तर फाइनल खेल अगाडि लिइएको तौलमा उनको वजन १०० ग्राम बढी भएको पाइएपछि फाइनल खेल्न वञ्चित भएकी थिइन् ।

फोगाटले एक्स अकाउन्टमा लेखेको स्टाटसमा प्रतिक्रिया दिंदै भारतका पहलवान बजरंग पुनियाले विनेश फोगाट हारेको नभई हराइएको टिप्पणी गरेका छन् । उनले सान्त्वना दिंदै लेखेका छन्, ‘विनेश तिमी हारेकी होइनौ, हराइएको हो । हाम्रा लागि तिमी सदैव विजेता रहनेछौ । तिमी भारतकी छोरी मात्र नभई भारतको गौरव पनि हौ ।’

ओलम्पिक भारतीय कुस्ती खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय