+
+

शपथअघि बंगलादेशको अन्तरिम सरकार प्रमुखले भने–अद्‌भुत देश बनाउनु छ, सबै शान्त हुनुस्

यो हाम्रो सुन्दर देशमा धेरै राम्रा सम्भावनाहरु छन्, हामीले यसको रक्षा गर्नुपर्छ । हाम्रो लागि र हाम्रो नयाँ पिंढीका लागि एक अद्भुत देश बनाउनुपर्दछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते ७:४४

२४ साउन, काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले आज शपथ ग्रहण गर्दैछन् । उनले आजै सल्लाहकार परिषद् पनि गठन गर्नेछन् ।

शपथ ग्रहण समारोह राति आठ बजे हुनेछ । उनले १५ सदस्यीय सल्लाहकार परिषद् गठन गर्ने सम्भावना रहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

विद्यार्थीहरुले सुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिंदै देश छाडेर भारत गएपछि विद्यार्थीका प्रतिनिधिको सिफारिसमा र सेना समेतको पहलमा युनुस अन्तरिम सरकार प्रमुख बनेका हुन् ।

उपचारको सिलसिलामा फ्रान्सको राजधानी पेरिसमा रहेका उनी आज दुबई हुँदै बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै छन् ।

उनले बुधबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशवासीलाई शान्त रहन र देश बनाउन एकजुट हुन अपिल गरेका छन् । ‘म सबैलाई शान्त रहन अपिल गर्दुछ । कृपया सबै प्रकारका हिंसाबाट टाढै रहनुहोला’ युनुस सेन्टरबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘सबै विद्यार्थी, सबै राजनीतिक दलका सदस्य र गैरराजनीतिक सबै व्यक्तिलाई शान्त रहन आह्वान गर्दछु । यो हाम्रो सुन्दर देशमा धेरै राम्रा सम्भावनाहरु छन्, हामीले यसको रक्षा गर्नुपर्छ । हाम्रो लागि र हाम्रो नयाँ पिंढीका लागि एक अद्भुत देश बनाउनुपर्दछ ।’

८४ वर्षीय युनुस शेख हसिनाका प्रतिद्वन्द्वी हुन् । उनी गरिबहरुको बैंकरका रुपमा चिनिन्छन् ।

गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणबाट मुक्त गर्ने लक्ष्य सहित उनले ग्रामीण बैंक तथा लघुवित्त स्थापना गरेका थिए । उनी आफ्नो लक्ष्यमा सफल पनि भएका थिए । त्यसैले प्राध्यापक समेत रहेका युनुस र त्यहाँको ग्रामीण बैंकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो ।

तर, शेख हसिनाले उनलाई गरिबको रगत चुसेको भन्दै आलोचना गर्दथिन् । गएको जनवरीमा बंगलादेशको एउटा अदालतले युनुसलाई देशको श्रम कानुन उल्लंघन गरेको भन्दै जेल सजाय समेत सुनाएको थियो । तर, उनी जेलमा बस्न भने परेन ।

युनुस विरुद्ध अहिले पनि एक सय बढी आरोपहरु दर्ज भएका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप राजनीति प्रेरित भएको भन्दै खण्डन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?